काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनामा ध्यान नदिएको बताएका छन् । नेप्सेको पुनर्संरचना गरेर सबल बनाउनुको साटो व्यवसायिक स्वार्थमा नयाँ स्टक एक्सचेन्ज अनुमतिपत्र (लाइसेन्स) दिन खोजिएको उनले दाबी गरेका छन् ।
संसदको विशेष समयमा बोल्दै पूर्व अर्थमन्त्री पुनले भने ‘नेप्सेको पुनर्संरचना गर्नुका साटो नयाँ स्टकको लाइसेन्स दिन तछाडमछाड भएको छ । यसमा केही स्वार्थ समूहको स्वार्थ देखिएको छ ।’
पहिला नेप्सेलाई बलियो बनाएर मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्नेमा उनको जोड छ । ‘यदी निजी क्षेत्रलाई नयाँ स्टकको लाइसेन्स दिने हो भने प्रतिस्पर्धाबाट मात्र दिइयोस । यसमा हाम्रो खबरदारी रहेको छ’ उनले भने । नेप्सेको पुनर्संरचना गर्ने कुरालाई सरकारले ध्यान नदिएको उनको जिकिर रहेको छ ।
अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्जका लागि बाटो खोलिदिएपछि नियामक नेपाल धितोपत्र बोर्डले सञ्चालन लाइसेन्सका लागि प्रक्रिया अघि बढाएको हो ।
नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि प्रस्ताव पेश गर्ने तीन कम्पनी मध्ये एकलाई धितोपत्र बोर्डले पूर्वाधार तयारीका लागि आशयपत्र दिनेछ । हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डमा शंकर ग्रुपको नेतृत्वमा हिमालयन स्टक एक्सचेन्ज, व्यवसायी उपेन्द्र महतोको नेसनल स्टक एक्सचेन्ज र क्याप्टेन रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्ज सञ्चालनका लागि धितोपत्र बोर्डमा निवेदन परेको छ । यि तिनवटै स्टक एक्सचेन्ज ल्याउन लागेका व्यवसायीबीच कस्ले लाइसेन्स लिने भन्ने विषयमा अहिले कर्पोरेट वार छ ।
प्रतिक्रिया दिनुहोस