काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
सञ्चार क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका छन् । ओझा प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् । उनी ३३ वर्षका छन् ।
अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।
यसअघि १२ जनाको नाम सिफारिस भएकोमा मन्त्रिपरिषद्मा पठाइएका बाहेक चिरञ्जीवी चापागाइँ र कमल रेग्मीको नाम सिफारिस गरिएको थियो ।
यीबाहेक डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस