२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दिलभूषणको 'अप्रमाणित' भिडियोले विभाजित नेपाली पत्रकारिता

बुधवार , आषाढ ४, २०८२

यो हप्ता नेपाली पत्रकारिता नराम्रोसँग दुई भागमा बाँडियो । पत्रकार दिलभूषण पाठकले एक 'अप्रमाणित' भिडियो प्रशारण गरेपछि त्यस विरुद्ध दिइएको उजुरी र सम्भावित कारबाहीको विषयलाई लिएर त्यसले नेपाली पत्रकारितालाई यसरी विभाजन गरेको हो ।

काठमाडौंको हिल्टन होटलसँग जोडेर आएको सो भिडियोले आफ्नो मानमर्दन भएको र आफ्ना विरुद्धमा नियतबस प्रचार गरिएको भनेर युट्युव च्यानलका प्रस्तोता पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयबीर सिंह देउवाले सो उजुरी दिएका हुन् । त्यसपछि आवश्यक प्रारम्भिक छानबिन गरी प्रहरीले उनीविरुद्ध अदालत मार्फत पक्राउ पुर्जी जारी गराएको छ । त्यसका विरुद्धमा पाठक पनि उच्च अदालत पाटन गएपछि दुवै पक्षलाई बुझ्नका लागि असार ५ गते अदालतले बोलाएको छ ।

सुरुमा त यत्ति समाचारबाट नै पत्रकारहरु उद्देलित हुन पुगेका थिए । उनीहरुले दाबी गरिरहेका थिए कि यसरी समाचार लेखेकै आधारमा कुनै पत्रकारलाई पक्राउ पुर्जी जारी गर्नु संविधान विपरीत हो । यसो भन्नेहरुमध्ये ९९ प्रतिशतले पाठकले सो भिडियो हेरेकै थिएनन् । उनीहरुको दिमागमा दिलभूषण, जो नेपालमा करिब तीन दशकदेखि पत्रकारिता गर्दै आएको पत्रकारको मात्र अनुहार याद आइरहेको हुनुपर्छ । समाजका विभिन्न क्षेत्र र वर्गका नागरिकहरुले पनि लाग्छ, यही नै सोचिरहेका थिए । त्यसैगरी पक्राउ पुर्जीको समाचार आएपछि उनीहरु पत्रकारलाई कारबाही गर्ने त प्रेस काउन्सिल हो, त्यहाँ नगएर प्रहरीसमक्ष पुग्नु प्रेस स्वतन्त्रता विपरीत हो पनि भनिरहेका थिए ।

तर, लगत्तै समयले भने धेरै कुरा बोलिदियो । यतिखेरसम्म आइपुग्दा अब उनीहरुका दिमागमा रहेका सबै अनुमानहरु फेल खाइसकेका छन् । जब उनीहरुले त्यो भिडियो हेरे, त्यसपछि धेरै कुरा छर्लङ्ग भैसकेको छ । त्यो भिडियोमा पत्रकारिताका मूल्य मान्यताको कुनै पनि परिभाषा पाइँदैन । पत्रकारले आपनाउनुपर्ने जिम्मेवारी र दायित्वबोधको कुनै पनि नियम त्यसमा पालना गरिएको छैन । न त्यो समाचारमा सन्तुलन छ र नत संयमता नै ।

त्यो भिडियोलाई समाचार भन्न मिल्ने आधार किन छैन भने त्यहाँ कतै पनि समाचारको कुनै स्रोत उल्लेख छैन । २५ अर्बमा सो होटल जयबीरले किनेको भनिएको छ, त्यसको प्रमाण कतै दिइएको पनि छैन । जबकि होटलले नै सेयर बिक्री गर्ने बेला नभएको र अहिलेसम्म सो होटलको सेयर शंकर ग्रुपसँगै रहेको भनेर विज्ञप्ति निकालेको छ । तर भिडियोले भन्छ‐ होटलले होइन भने पनि र कागजी रुपमा नभए पनि होटल अब जयबीरकै भएको छ ।

उता जसरी मिडियाले पीडितलाई किन प्रेस काउन्सिल नगएको भनेका थिए, त्यसको आधार पनि कतै देखिएन किनकि त्यो च्यानल प्रेस काउन्सिलमा दर्ता भएकै रहेनछ । त्यसो भएपछि त उसले उजुरी लिने कुरा पनि भएन । त्यसपछि यसअघि बनाएको सोचमा सबैको परिवर्तन हुन पुग्यो । पत्रकार र आमा मानिसले सुरुमा त यो भिडियो हेरेपछि दिलभूषणले बनाएको भनेर पत्याउन मात्र पचाउनै सकेनन् । जसले युट्युब पत्रकारिता होइन भनेर सतहमा टिप्पणी गरी हिँड्ने मानिसहरुका लागि मलजल प्रदान गरेको देखिएको छ ।

मिडिया कर्म गर्छु भन्ने मान्छेले बुझ्नुपर्ने सबैभन्दा पहिलो कुरा पत्रकारिता र सञ्चारकर्म बीचको फरक हो । यदि कोही व्यक्तिले आफैँले कुनै भिडियो बनाउँछ र आफ्नो सोसियल प्लेटफर्मबाट सार्वजनिक गर्छ भने त्यो पत्रकारिता होइन, त्यो सञ्चारकर्म हो । पत्रकारिताको परिभाषाले यसलाई छुँदैन ।

राज्यले तोकेका कानुनी निकायमा दार्ताको प्रक्रियामा नै नगई आफैँले ‘मिडिया’ सञ्चालन गरेर भ्युजको खेती उनले गरिरहेका रहेछन् । उनको यो भिडियोले खासमा नेपालमा समय समयमा चर्किरहने दुई प्रमुख विचारलाई साझा गरिदिएको छ । पहिलो, पत्रकारिता के हो र सञ्चारकर्म के हो भन्ने, अनि दोस्रो हो, पीडितले कानुनी कारबाही कसरी खोज्ने भन्ने ।

मिडिया कर्म गर्छु भन्ने मान्छेले बुझ्नुपर्ने सबैभन्दा पहिलो कुरा पत्रकारिता र सञ्चारकर्म बीचको फरक हो । यदि कोही व्यक्तिले आफैँले कुनै भिडियो बनाउँछ र आफ्नो सोसियल प्लेटफर्मबाट सार्वजनिक गर्छ भने त्यो पत्रकारिता होइन, त्यो सञ्चारकर्म हो । पत्रकारिताको परिभाषाले यसलाई छुँदैन । जबसम्म राज्यका सम्बद्ध निकायले तय गरेका आचारसंहिताको पालना गरी सामग्री तयार पारिँदैन र सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गरिँदैन । यहाँ सञ्चारमाध्यम भन्नाले प्रचलनमा रहेका मिडिया र प्रचलित कानुन बमोजिम दर्ता गर्ने भन्ने पनि हो । पत्रकारिताको एबिसी (एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलीटी) लाई कुनै पनि वास्ता गरिएको छैन त्यो भिडियोमा ।

त्यसपछि अर्काे पक्ष हो, त्यसो भए पीडितले कानुनी उपचार कसरी खोज्ने त ? यो प्रश्नको निर्विवाद उत्तर प्रेस काउन्सिल नै हो । तर, त्यहाँ जाने बाटो भिडियो प्रस्तोता पाठकले आफ्नो उक्त प्लेटफर्म नै दर्ता नगरेर आफैँ बन्द गरिदिएका छन् । त्यसपछिका दुई विकल्प अदालत र साइबर ब्युरो नै हो । यसमा पनि पीडितले आफूलाई जुन बाटो सजिलो लाग्छ त्यो नै रोज्ने हो । त्यसमा निर्णय गर्ने अधिकार पीडितकै हो ।

यो बहसमा पत्रकारहरु अहिले पनि छन् । उनीहरुले अहिलेको अवस्थामा जसरी पत्रकारिता, मिडियाका कर्महरुप्रति मानिसको विश्वास गुम्दै गएको छ, यस्तो बेलामा आफैँले आफ्नो पेशाको इज्जत राख्नुपर्छ भन्ने सोचमा छन् । मूलधारका भनिएकै पत्रकारहरुले पनि हल्का रुपमा यस्तै समाचारहरु बनाइदिने र बजारमा पठाइदिने गरेको अहिलेको अवस्थामा स्थापित भनिएकै पत्रकारले यस्तो भिडियो बनाएर ‘पत्रकारिता’ गरिरहँदा त्यसको दोष कसलाई दिने ?

खासमा मर्यादित, पेशागत र पत्रकारिता गरिरहेका पत्रकारलाई यो अवस्थाले अप्ठेरो पारिदिएको छ । हिजो ठूला मिडिया हाउसमा बसेर काम गर्ने र आफ्नो नाम स्थापित गर्ने अनि धेरैले चिन्ने भइसकेपछि जसले जे गरे पनि हुन्छ भन्नेजस्तो गरेर 'अप्रमाणित' भिडियोहरु निर्माण गरेर कसैको मान मर्दन गर्ने या रिसइबी पोखेर कसैलाई पाँडे गाली गरेर भ्युज मात्र कलेक्सन गर्ने कामले अरु नभएर वरिष्ठ पत्रकार अथवा भनौँ व्यावसायिक पत्रकारहरुलाई नै यसको मर्का परिरहेको बताउन थालेका छन् ।

पत्रकारहरु यसैमा विभाजन भइरहेका बेला काठमाडौँ बाहिर बास बसेका ३५ ‘सम्पादक’ ले एउटा संयुक्त विज्ञप्ति निकालेर पत्रकारहरुलाई थप विभाजन गरिदिएका छन् । यसबाट झन् पत्रकारहरुलाई के देशका सम्पादक उनीहरु मात्र हुन् त ? भन्ने धारणाको पनि विकास हुन पुगेको छ ।

हुनत पत्रकारिता भित्रकै यो ग्रुपिजमले अनेकन प्रश्नहरु उब्जाएको छ । तर पनि यसले उब्जाएको एउटा अहम प्रश्न भनेको हामीले खोजेको र हामीले गर्नुपर्ने पत्रकारिता के कस्तो हो त भन्ने नै हो । देशमा धेरै अनलाइन मिडियाहरु छन् जो, हरेक आर्थिक वर्षको अन्त्यमा सूचना विभागदेखि प्रेस काउन्सिल हुँदै कम्पनी रजिस्टारको कार्यालयसम्मका ढोका कैयौँ पटक चाहर्नुपर्दछ । दश ठाउँमा फाइल डुलाएर एक प्रकारले भन्दा सास्ती नै ब्यहोर्नुपर्दछ । तर पनि यसरी मिडिया दर्ता नै नगरी आ‐आफैँ युट्युब या फेसबुक पेजबाट नै मिडिया सञ्चालन गर्न हो त ? यस विषयमा ३५ जना सम्पादकको विज्ञप्तिले केही बोलेन, बरु समस्या मात्र थपिदियो ।

प्रेस काउन्सिलले जारी गरेको, आफ्नै पत्रकार महासंघले अनुमोदन गरेको पत्रकार आचारसंहिता सबैलाई बराबर नै लागू हुनुपर्छ । कोही प्रभावशाली छ, कोही ठूलो मिडियाको पत्रकार हो या कोही सत्ताको नजिक र या विपक्षी दलको नजिक छ भन्ने निहुँमा पत्रकारिताको धर्म छोड्यो भने त्यसले निम्ताउने भनेको यही अवस्था हो । आम श्रोता भनौँ या पाठक आफूलाई अन्याय पर्यो भने कानुनी उपचार खोज्न जान्छन् नै ।

देशमा अहिले पनि युट्युबलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । कुनै यस्तै खालको स्टोरी प्रसारण भयो भने त्यसलाई समाजले टिभीले गर्यो होला भन्दैन कि कुनै युट्युबले गर्योे होला मात्र भन्ने गर्दछ । तर, त्यही काम वर्तमान तथा पूर्व भए पनि ठूलो मिडिया हाउससँग जोडिएका व्यक्तिले गर्दा के हुने ? मर्यादित पत्रकारिता गर्नुपर्ने कि नपर्ने ? यदि कुनै व्यक्ति पत्रकारिताकै कारणले पीडित बन्छ भने राज्यको कुनै पनि कानुनको प्रयोग गरेर न्याय खोज्न पाउने कि नपाउने ? आफ्नो न्याय खोज्न नागरिक स्वतन्त्र छ कि छैन ?

दाम्लो जति लामो बाँधे पनि गाँठो एउटै हो । त्यसैले यहाँ जतिधेरै लामो कुरा लेखिए पनि भन्नुपर्ने तात्पर्य के हो भने पत्रकारितालाई सबैले मर्यादित बनाउनुपर्छ । त्यसका लागि पत्रकारले गर्ने काम पनि मर्यादित नै हुनुपर्छ । प्रेस काउन्सिलले जारी गरेको, आफ्नै पत्रकार महासंघले अनुमोदन गरेको पत्रकार आचारसंहिता सबैलाई बराबर नै लागू हुनुपर्छ । कोही प्रभावशाली छ, कोही ठूलो मिडियाको पत्रकार हो या कोही सत्ताको नजिक र या विपक्षी दलको नजिक छ भन्ने निहुँमा पत्रकारिताको धर्म छोड्यो भने त्यसले निम्ताउने भनेको यही अवस्था हो । आम श्रोता भनौँ या पाठक आफूलाई अन्याय पर्यो भने कानुनी उपचार खोज्न जान्छन् नै । उनीहरु राज्यमा उपलब्ध कानुन खोजी खोजी आफूलाई कुन कानुनले चाँडो र तत्कालै न्याय दिन सक्छ भन्ने उजुबाजुरमा लाग्छन् । यो उनीहरुको नैसर्गिक अधिकार हो । म जे पनि प्रसारण गर्छु तर तैँले चाहिँ मलाई यो कानुन अन्तर्गत रहेर मात्र कारबाही गर्नुपर्छ भन्ने अधिकार हामी कसैले पनि दिएको छैन ।

त्यसैले यस्तो गम्भीर र संवेदनशील विषयमा पत्रकारहरु नै आफैँ विभाजित हुने होइन । यसको निष्कर्ष यो हो कि पत्रकारहरुले हाम्रा कर्मलाई जवाफदेही, उत्तरदायी र जिम्मेबार बनाऔँ । त्यसो हुँदा हामीमाथि कसैको खतरा छैन र नागरिकबाट कुनै प्रकारको समस्या उत्पन्न हुँदैन । तर, यदि यसैगरी हामीले गर्नै नहुने कामको विषयलाई लिएर विभाजित हुने हो भने यसको निकास कहिल्यै निस्कँदैन । भोलि हामी आफैँले आफ्नो आङ कन्याएर छारो उडाएर बस्ने बाहेकको अर्काे विकल्प पनि हाम्रा सामु रहने छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ