काठमाडौं । नेपाल अहिले इतिहासकै महत्वपूर्ण मोडमा उभिएको छ । विश्वका धेरै देशहरूले चाहेर पनि प्राप्त गर्न नसक्ने ‘‘जनसांख्यिक लाभ’’ को अवसर नेपालले प्राप्त गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरू कुल जनसंख्याको ४२.५६ प्रतिशत रहेका छन् । यो तथ्यांक केवल संख्या मात्र होइन, राष्ट्रको भविष्य बदल्न सक्ने विशाल शक्ति हो ।
यदि यही युवा शक्तिलाई सही दिशा, अवसर र वातावरण दिन सकियो भने नेपालले आर्थिक, सामाजिक र प्रविधिगत विकासमा छोटो समयमै उल्लेखनीय फड्को मार्न सक्छ । तर, यदि राज्यले समयमै दूरदृष्टिसहित नीति निर्माण गर्न सकेन भने यही शक्ति निराशा, बेरोजगारी र पलायनको कारण बन्न सक्छ ।
त्यसैले आजको आवश्यकता केवल युवाको चर्चा गर्नु होइन, युवालाई राष्ट्र निर्माणको मूल केन्द्रमा राख्नु हो । यही सन्दर्भमा सन् २०२७ लाई ‘‘राष्ट्रिय युवा वर्ष २०२७’’ का रूपमा घोषणा गरी राष्ट्रिय अभियानकै रूपमा मनाउनु समयको माग बनेको छ ।
आजको नेपाली युवा केवल रोजगारी खोज्ने समूह होइन; उनीहरू नयाँ सोच, नवप्रवर्तन, डिजिटल प्रविधि, उद्यमशीलता र परिवर्तनका संवाहक हुन् । विश्वका विकसित मुलुकहरूले आफ्नो विकास यात्रामा युवा शक्तिलाई प्राथमिकतामा राखेका थिए ।
दक्षिण कोरिया, सिंगापुर र चीनजस्ता देशहरूले युवालाई सीप, प्रविधि र उत्पादनसँग जोडेर आफ्नो अर्थतन्त्रलाई उचाइमा पुर्याए । नेपालले पनि अब त्यही बाटो समात्न जरुरी छ । देशमा राजनीतिक परिवर्तन धेरै भए, तर युवाको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन सकेको छैन । उच्च शिक्षा हासिल गरेका हजारौँ युवा विदेशिन बाध्य छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिने युवाको लामो लर्कोले देशभित्र अवसरको अभावलाई स्पष्ट संकेत गर्दछ । यस्तो अवस्थामा ‘‘नेपालमै भविष्य सम्भव छ’’ भन्ने आशा जगाउन राष्ट्रिय स्तरको युवा अभियान आवश्यक भइसकेको छ ।
विश्वका विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले युवाको उमेर समूहलाई फरक–फरक रूपमा परिभाषित गरेका छन् । संयुक्त राष्ट्रसंघ ले सामान्यतया १५ देखि २४ वर्ष उमेर समूहलाई युवा मानेको छ भने धेरै देशहरूले १५ देखि ३५ वर्षसम्मलाई युवा वर्गमा समेट्ने गरेका छन् । नेपालमा पनि समयसँगै युवा सम्बन्धी कानुनी अवधारणा परिवर्तन हुँदै आएको छ ।
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ र राष्ट्रिय युवा नीति, २०८२ ले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा वर्गको रूपमा परिभाषित गरेको छ । यसको अर्थ, नेपालको झन्डै आधा जनसंख्या अहिले राष्ट्र निर्माणको सक्रिय चरणमा रहेको छ । यस्तो अवस्थामा युवालाई केवल भाषण र नारामा सीमित राखेर देश अगाडि बढ्न सक्दैन ।
नेपाल सरकारले अघि सारेको ‘‘युथ भिजन–२०२५’’ ले युवालाई दुई चरणमा विभाजन गरी रणनीतिक योजना तयार गरेको देखिन्छ । १६ देखि २४ वर्षका युवालाई शिक्षा, व्यक्तित्व विकास र सीप विकासको चरणका रूपमा हेरिएको छ भने २५ देखि ४० वर्षका युवालाई उत्पादन, व्यवसाय, उद्यमशीलता र नेतृत्वको चरणका रूपमा परिभाषित गरिएको छ ।
तर, नीति निर्माण मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । राष्ट्रिय युवा परिषद् स्थापना भए पनि अझै पनि यसको कार्यशैली धेरै हदसम्म परम्परागत र सीमित देखिन्छ ।
अब परिषद्ले युवालाई प्रत्यक्ष लाभ दिने, प्रविधिमैत्री र परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यदि युवाले राज्यको उपस्थिति आफ्नै जीवनमा महसुस गर्न सकेनन् भने नीति र कार्यक्रमहरू केवल कागजमै सीमित रहनेछन् ।
‘‘राष्ट्रिय युवा वर्ष २०२७’’ लाई प्रभावकारी बनाउन सबैभन्दा पहिला सूचना प्रविधि र वित्तीय साक्षरतामा लगानी गर्न आवश्यक छ । अहिलेको विश्व डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल मार्केटिङ, डेटा व्यवस्थापन, साइबर सुरक्षा, रोबोटिक्स र सफ्टवेयर विकासजस्ता क्षेत्र भविष्यका प्रमुख रोजगारीका आधार बन्ने निश्चित छ ।
त्यसैले प्रत्येक प्रदेशमा ‘‘युथ इनोभेसन सेन्टर’’ स्थापना गरी युवालाई आधुनिक सूचना प्रविधिसम्बन्धी तालिम दिनु अत्यावश्यक छ । कम्तीमा प्रत्येक प्रदेशमा ३०० भन्दा बढी युवालाई वार्षिक रूपमा डिजिटल सीपमूलक तालिम प्रदान गर्न सकियो भने त्यसले देशको रोजगारी बजारमा ठूलो परिवर्तन ल्याउन सक्छ ।
यससँगै वित्तीय साक्षरता पनि उत्तिकै आवश्यक छ । धेरै युवामा सीप र ऊर्जा भए पनि लगानी, बैंकिङ प्रक्रिया, व्यवसाय सञ्चालन र आर्थिक व्यवस्थापनबारे पर्याप्त जानकारी नहुँदा उनीहरू उद्यमशीलतामा प्रवेश गर्न सकिरहेका छैनन् । यदि युवालाई वित्तीय व्यवस्थापन, कर प्रणाली, डिजिटल बैंकिङ र लगानी सम्बन्धी व्यावहारिक तालिम दिइयो भने उनीहरू आत्मनिर्भर बन्न सक्छन् ।
युवाको उत्कृष्ट व्यवसायिक योजना (प्रोजेक्ट प्रपोजल) लाई नै धितो मानेर सहुलियतपूर्ण कर्जा दिने व्यवस्था राज्यले ल्याउन सकेमा हजारौँ नयाँ स्टार्टअपहरू जन्मिन सक्छन् । युवा स्वरोजगार कोषलाई अझ प्रभावकारी बनाएर नयाँ स्टार्टअपमा प्रत्यक्ष लगानी गर्ने वातावरण निर्माण गर्नुपर्छ ।
युवा शक्तिलाई पर्यटन, संस्कृति र वातावरण संरक्षणसँग जोड्नु पनि आजको आवश्यकता हो । नेपाल विश्वकै अनुपम प्राकृतिक र सांस्कृतिक सम्पदा भएको देश हो । हिमाल, पहाड, तराई, जैविक विविधता, धार्मिक सम्पदा र मौलिक संस्कृतिले नेपाललाई विश्वसामु विशिष्ट बनाएको छ ।
यदि युवालाई पर्यटन उद्यम, होमस्टे, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनसँग जोड्न सकियो भने यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनेछ । सन् २०२७ मा नेपालमा ”विश्व युवा शिखर सम्मेलन“ आयोजना गरी विश्वभरका युवालाई नेपालमा आमन्त्रण गर्न सकिन्छ । यसले नेपालको पर्यटन प्रवद्र्धन मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक आदानप्रदानमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ ।
जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको छ र नेपाल यसको प्रत्यक्ष असर भोगिरहेको मुलुक हो । हिमाल पग्लिने, बाढी–पहिरो बढ्ने, कृषि उत्पादन घट्ने र प्राकृतिक विपत्ति बढ्ने समस्या अहिले नेपालमा गम्भीर रूपमा देखिन थालेका छन् । यस्तो अवस्थामा युवालाई वातावरण संरक्षण अभियानमा नेतृत्वदायी भूमिका दिन आवश्यक छ ।
प्रदेशस्तरमा जलवायु सम्मेलन आयोजना गरी उत्कृष्ट वातावरणीय परियोजनालाई ‘‘सीड फन्ड’’ मार्फत प्रोत्साहन गर्न सकिन्छ । वृक्षारोपण, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जा र वातावरणमैत्री अभियान जस्ता क्षेत्रमा युवाको सक्रिय सहभागिताले दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ ।
देशको लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न युवाको राजनीतिक र सामाजिक नेतृत्व विकास पनि उत्तिकै आवश्यक छ । लोकतन्त्र केवल मतदानको प्रक्रिया मात्र होइन, यो जिम्मेवार नागरिक निर्माणको प्रक्रिया पनि हो । त्यसैले ७७ वटै जिल्लाका युवालाई समेटेर ‘‘फ्युचर लिडर्स डेभलपमेन्ट प्रोग्राम’’ सञ्चालन गर्न सकिन्छ । युवालाई नीति निर्माण, नेतृत्व कला, सार्वजनिक वक्तृत्व, लोकतान्त्रिक अभ्यास र सामाजिक उत्तरदायित्वबारे तालिम दिनु आवश्यक छ । सातै प्रदेशमा नमुना युवा संसद् र नमुना निर्वाचन कार्यक्रम सञ्चालन गर्न सकियो भने युवाले लोकतान्त्रिक अभ्यासलाई व्यवहारमै सिक्ने अवसर प्राप्त गर्नेछन् ।
विपद् व्यवस्थापनमा पनि युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुन सक्छ । नेपाल भूकम्प, बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको देश हो । यदि युवालाई ‘‘प्रशिक्षक प्रशिक्षण’’ (टट) कार्यक्रम मार्फत प्राथमिक उद्धार, आपतकालीन सेवा र सामुदायिक सचेतनामा दक्ष बनाइयो भने देशले एक सक्षम स्वयंसेवक शक्ति प्राप्त गर्नेछ । विद्यालय, कलेज र स्थानीय समुदायमा युवा स्वयंसेवक परिचालन गर्न सके विपद्का समयमा ठूलो राहत पुग्न सक्छ ।
त्यसैगरी, अपाङ्गता भएका युवा, सीमान्तकृत समुदायका युवा र पिछडिएका क्षेत्रका युवालाई पनि राष्ट्रिय मूलधारमा ल्याउनु आवश्यक छ । समावेशी कार्यक्रम, दोभाषे सेवा, विशेष सीपमूलक तालिम र पहुँचमैत्री संरचनाले उनीहरूलाई सशक्त बनाउन सहयोग पुर्याउनेछ । खेल क्षेत्रमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सम्मानजनक तलब, वृत्तिविकास र भविष्य सुनिश्चित गर्ने नीति ल्याउन सके खेलकुदप्रति युवाको आकर्षण अझ बढ्नेछ ।
आजको सबैभन्दा ठूलो प्रश्न यही हो, के नेपालले आफ्नो युवा शक्तिलाई देशभित्रै रोक्न सक्छ? यसको उत्तर राज्यको दृष्टिकोण, नीति र व्यवहारमा निर्भर छ । यदि युवाले अवसर, सम्मान र भविष्यको सुनिश्चितता पाए भने उनीहरू विदेश होइन, आफ्नै देशमा भविष्य निर्माण गर्न चाहन्छन् । त्यसका लागि सरकार, निजी क्षेत्र, गैरआवासीय नेपाली संघ (एनआरएनए), कूटनीतिक नियोग, विकास साझेदार र नागरिक समाजबीच व्यापक सहकार्य आवश्यक छ । राष्ट्रिय तथा प्रादेशिक युवा गुरुयोजना निर्माण गरी दीर्घकालीन रणनीतिसहित काम गर्नुपर्ने बेला आएको छ ।
‘‘राष्ट्रिय युवा वर्ष २०२७’’ केवल औपचारिक घोषणा वा उत्सव मात्र हुनु हुँदैन । यो नेपाली युवाको सपना, सम्भावना र आत्मविश्वासलाई पुनर्जीवित गर्ने राष्ट्रिय अभियान बन्नुपर्छ । प्रदर्शनी, वैज्ञानिक सम्मेलन, खेलकुद, नवप्रवर्तन प्रतियोगिता, स्टार्टअप मेला, सांस्कृतिक महोत्सव र नेतृत्व विकास कार्यक्रम मार्फत युवामा नयाँ ऊर्जा भर्न सकिन्छ ।
नेपालको भविष्य कागजका योजनाले होइन, युवाको सीप, श्रम, सिर्जनशीलता र आत्मविश्वासले निर्माण हुनेछ । ४२.५६ प्रतिशतको यो जनसांख्यिक अवसर सधैँ रहिरहने छैन । यदि अहिले सही निर्णय लिन सकिएन भने इतिहासले नेपाललाई अवसर गुमाएको राष्ट्रका रूपमा सम्झनेछ ।
तर यदि राज्य, समाज र निजी क्षेत्रले मिलेर युवा शक्तिमा लगानी गरे भने यही युवा पुस्ताले समृद्ध, आत्मनिर्भर र आधुनिक नेपालको सपना साकार पार्नेछ । त्यसैले आजको आवश्यकता स्पष्ट छ, युवालाई भाषणमा होइन, राष्ट्र निर्माणको केन्द्रमा राखौँ, र सन् २०२७ लाई वास्तविक अर्थमा ‘‘राष्ट्रिय युवा वर्ष’’ का रूपमा सफल बनाऔँ ।
(लेखक सरोज बानियाँ नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस