२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

सुनौलो नेपालको सम्पादकमा दिनेश थापा नियुक्त

सोमवार , आषाढ २९, २०८३

काठमाडौँ । सुनौलो नेपाल अनलाइन प्रालिद्वारा सञ्चालित सुनौलो नेपाल डटकमको सम्पादकमा पत्रकार दिनेश थापा नियुक्त भएका छन् ।

सुनौलो नेपाल अनलाइन प्रालिको सञ्चालक समितिको सोमबार बसेको बैठकले थापालाई सम्पादकको जिम्मेवारी दिने निर्णय गरेको हो।

नवनियुक्त सम्पादक थापाले सोमबारदेखि नै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

सम्पादक थापालाई सुनौलो नेपाल अनलाइन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मोहराज पौडेल र महाप्रबन्धक बबिता पुडासैनीले कार्यालयमा स्वागत गरेका थिए । सो अवसरमा उनीहरूले थापाको अनुभव, व्यावसायिक दक्षता र नेतृत्वमा सुनौलो नेपालले पत्रकारिताको क्षेत्रमा थप नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

वि.सं. २०६० सालमा काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थापासँग दुई दशकभन्दा लामो पत्रकारिताको अनुभव छ ।  उनले अनलाइनखबर, नेपाल प्रेस, राजधानी दैनिक र सिन्धुप्रवाह साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा रहेर काम गरिसकेका छन् ।

पत्रकार महासंघ सिन्धुपाल्चोकको विभिन्न तह र जिम्मेवारीमा रहेर लामो समय सक्रिय भूमिका निर्वाह गरेका थापा पत्रकारिता क्षेत्रमा खरो, प्रखर र स्पष्ट दृष्टिकोण राख्ने पत्रकारका रूपमा परिचित छन् ।

थापाले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । सम्पादकको जिम्मेवारी सम्हाल्दै थापाले व्यावसायिक, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई केन्द्रमा राखेर सुनौलो नेपालको सम्पादकीय नेतृत्व गर्ने प्रतिबद्धता जनाए ।

‘इमानदारी, व्यावसायिकता र पत्रकारिताका आधारभूत मूल्य–मान्यतालाई केन्द्रमा राखेर सुनौलो नेपाललाई थप सशक्त र प्रभावकारी सञ्चारमाध्यमका रूपमा अघि बढाउन प्रयत्न गर्नेछु,’ थापाले भने।

वि.सं. २०७३ सालदेखि सञ्चालनमा रहेको सुनौलो नेपाल अनलाइन प्रालिले सुनौलो नेपाल डटकमसँगै आफ्नै अनलाइन टेलिभिजनसमेत सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट