काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गरेका छन् ।
आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै यस क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि सरकार तयार रहेको बताए ।
उनले पत्रकारिता क्षेत्रलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुले त्यसमा सहयोग गर्नुपर्ने बताए ।
साथै, पत्रकारिता जगतले आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाले जोड दिए ।
सञ्चार क्षेत्रलाई कसरी सुदृढ र मर्यादित बनाउने भन्ने विषयमा सरकारले आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका काम अघि बढाइरहेको बताए । गलत, भ्रामक तथा नियोजित रूपमा फैलाइने गत सूचना, कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिने नक्कली सामग्री (डीपफेक) तथा झुटा र सनसनीपूर्ण समाचारको प्रकासन एवम् प्रसारण बढिरहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले यो अहिले सञ्चार क्षेत्रसमक्ष देखिएको सबैभन्दा गम्भीर चुनौती बनेको बताए ।
यस्ता चुनौतीहरूको समाधान विद्यमान नीति, कानुन र संस्थागत व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरेर खोजिने बताउँदै उनले प्रभावकारी नभएका कानुनी प्रावधान पहिचान गरी आवश्यक संशोधन तथा परिमार्जन गरिने जानकारी दिए ।
आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि छलफल सुरु भइसकेको जानकारी दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सबै सरोकारवालाको सुझावका आधारमा ती विधेयकलाई समयानुकूल र व्यावहारिक बनाइने बताए ।
छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरूले प्रेस काउन्सिलको भूमिका पछिल्लो समय कमजोर बन्दै गएको टिप्पणी गर्दै सञ्चार क्षेत्रको प्रभावकारी नियमन, आत्मअनुशासन र आचारसंहिताको कार्यान्वयनलाई सुदृढ बनाउन काउन्सिललाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।
प्रेस काउन्सिलको कमजोर भूमिकाका कारण पत्रकार तथा सञ्चारमाध्यमको संरक्षण, नियमन र व्यावसायिक अभ्यासमा समस्या देखिएको तथा त्यसले सञ्चारमाध्यमप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर बनाएको उनीहरुको धारणा थियो । डिजिटल मिडिया सोसाइटीले पत्रकारिता आचारसंहिताको प्रभावकारी पालना गराउनुपर्ने, सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने तथा विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको सुझावसमेत दिएको थियो ।
छलफलमा सञ्चार क्षेत्रको विश्वसनीयता अभिवृद्धि, डिजिटल पत्रकारिताको संस्थागत विकास, सञ्चारमाध्यमको दिगोपना तथा बदलिँदो सूचना प्रविधिसँग मेल खाने कानुनी र नीतिगत संरचना निर्माणका विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस