सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–५ को इतिहास, भूगोल, कला, संस्कृति र सामाजिक–राजनीतिक विरासत समेटिएको ऐतिहासिक पुस्तक ‘चौतारा’ विमोचन गरिएको छ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती अर्थात् भानु जयन्तीको अवसर पारेर सोमबार आयोजित विशेष समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पुस्तकको विमोचन गरेका हुन्।
वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सीता थापा, पूर्वसांसदद्वय कृष्णराज श्रेष्ठ र सुभाष कर्माचार्य, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो ।
१४ वटै वडाको इतिहास समेट्ने मेयरको घोषणा
पुस्तक विमोचन गर्दै नगरप्रमुख सापकोटाले वडा नम्बर ५ ले इतिहास र स्थानीय सम्पदाको अभिलेखीकरणमा गरेको प्रयास उदाहरणीय रहेको बताए। उनले नगरपालिकाका १४ वटै वडाको इतिहास, भूगोल, संस्कृति र पहिचान समेटेर यस्तै प्रकृतिको ऐतिहासिक पुस्तक प्रकाशन गर्ने घोषणा गरे ।
स्थानीय इतिहासको संरक्षण केवल विगत सम्झने विषय नभई भावी पुस्तालाई आफ्नो भूगोल र पहिचानसँग जोड्ने माध्यमसमेत भएको उनको भनाइ थियो।
उपप्रमुख सीता थापाले ‘चौतारा’ पुस्तकलाई महत्त्वपूर्ण दस्तावेजका रूपमा चर्चा गर्दै यस्ता अभिलेखले नयाँ पुस्तालाई आफ्नो इतिहास बुझ्न र भविष्यको मार्ग तय गर्न सहयोग पुग्ने बताइन्।
पूर्वसांसद कृष्णराज श्रेष्ठले इतिहासको निरन्तर खोज, अध्ययन र अभिलेखीकरण आवश्यक रहेको बताए। इतिहासका अझै धेरै तथ्य खोजेर नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा उनले जोड दिए।
पुस्तकका भाषा सम्पादक डम्बर रसिक भारतीले कृतिको भाषिक तथा साहित्यिक पक्षमाथि प्रकाश पारेका थिए। सम्पादक मण्डलका प्रभात श्रेष्ठ र रविन्द्र श्रेष्ठले पुस्तक तयार पार्ने क्रममा भोगेका समस्या र चुनौती सुनाउँदै चौताराको गौरवशाली इतिहास तथा भावी सम्भावनाबारे चर्चा गरे।
वडा नम्बर १४ का अध्यक्ष रामप्रसाद गौतमले आफ्नो कर्मथलो वडा नम्बर ५ नै रहेकाले यस क्षेत्रसँग विशेष आत्मीयता रहेको बताए। वडा नम्बर ५ लाई थप समृद्ध बनाउन आवश्यक सहयोगका लागि आफू सधैँ तयार रहने उनको प्रतिबद्धता थियो।
कार्यक्रममा स्रष्टा दिलबहादुर कार्कीले आदिकवि भानुभक्त आचार्यको कविता वाचन गर्नुका साथै मौलिक प्रस्तुति दिएका थिए।
चौताराको इतिहास अब वेबसाइटमा पनि
कार्यक्रमका सभापति तथा वडाध्यक्ष शिव श्रेष्ठले पुस्तक प्रकाशनमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाप्रति धन्यवाद व्यक्त गरे। उनले चौतारा वडा नम्बर ५ को इतिहास, भूगोल, संस्कृति र समग्र जानकारी विश्वसामु पु¥याउन छुट्टै आधिकारिक वेबसाइट ‘चौतारा ५ डटकम’ सञ्चालनमा ल्याउने घोषणा पनि गरे।
पुस्तकमा के छ ?
‘चौतारा’ केवल एउटा वडाको परिचयमा सीमित छैन। पुस्तकले सिन्धुपाल्चोकको मुटु मानिने चौताराको ऐतिहासिक, भौगोलिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक र सामाजिक यात्राको विस्तृत चित्र प्रस्तुत गरेको छ।
पुस्तकमा चौताराको भौगोलिक परिचय, ऐतिहासिक गठन, सामुदायिक वन र प्राकृतिक स्रोतबारे अध्ययन समेटिएको छ। चौतारा तत्कालीन पूर्व १ नम्बरको सदरमुकाम रहेको, नेपाल–तिब्बत व्यापारिक मार्गको विश्रामस्थल ‘चौतारी’बाट यसको नामकरण भएको र क्षेत्रले सामरिक महत्त्व बोकेको लगायतका ऐतिहासिक तथ्य पुस्तकमा उल्लेख छन्।
राजनीतिक इतिहासतर्फ २००७ सालको क्रान्तिका क्रममा भएको चौतारा संग्रामडाँडाको भिडन्त, छुवाछुतविरुद्धको आन्दोलन तथा प्रहरी दमनसँग जोडिएको गौराती काण्डजस्ता महत्त्वपूर्ण परिघटना समेटिएका छन्।
चौतारा बहुमुखी क्याम्पस, कृष्ण रत्नगंगा माध्यमिक विद्यालय र चौतारा ज्ञानकुञ्ज स्कुललगायत शैक्षिक संस्थाको इतिहास र विवरण पनि पुस्तकमा समावेश गरिएको छ।
त्यस्तै चौताराका विशिष्ट व्यक्तित्व, कलाकार, साहित्यकार, पर्यटकीय तथा धार्मिक स्थल, प्रविधि, प्राकृतिक प्रकोप र खेलकुदका विविध पक्षलाई पुस्तकले समेटेको छ।
विशिष्ट व्यक्तित्वतर्फ भक्तध्वज प्रधान, समुद्रप्रसाद श्रेष्ठ, त्रिभुमान श्रेष्ठ, कृष्णराज श्रेष्ठ र सुभाष कर्माचार्यलगायतको संक्षिप्त जीवनी प्रस्तुत गरिएको छ। कला क्षेत्रतर्फ प्रेमध्वज प्रधान, कृष्ण मल्ल र शर्मिला मल्ललगायत कलाकारको योगदानबारे चर्चा गरिएको छ।
पुस्तकको संरक्षकमा वडाध्यक्ष शिव श्रेष्ठ रहेका छन्। सल्लाहकारमा कृष्णराज श्रेष्ठ, माधवलाल कर्माचार्य र नरमान श्रेष्ठ छन्। सम्पादक मण्डलमा सुरेश कसजू, जीवन श्रेष्ठ, अमित घिमिरे, रविन्द्र श्रेष्ठ, किशोर बुढाथोकी र प्रभात श्रेष्ठ छन् भने भाषा सम्पादन डम्बर रसिक भारतीले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस