काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित खेलकुद कार्यक्रममा सहभागी हुन पुगेका नेता बस्नेतले गणेशको निधनपछि समस्यामा परेको आश्रित परिवारलाई तत्काल राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
बस्नेतले गणेशकी छोरी प्रतिमा नेपालीको शिक्षाको जिम्मेवारीसमेत लिने बताएका छन् । प्रतिमालाई स्नातक तहसम्म निःशुल्क अध्ययन गराउने व्यवस्था मिलाउने उनको घोषणा छ ।
राजनीतिसँगै सामाजिक सेवामा पनि आफू निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्दै बस्नेतले आर्थिक अभावका कारण गणेशका सन्तानको शिक्षा प्रभावित हुन नदिन सहयोगको घोषणा गरेको बताए ।
यसअघि पनि बस्नेतले काठमाडौंको संघीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका दुई सन्तानलाई निःशुल्क अध्ययन गराउने व्यवस्था मिलाएका थिए ।
आचार्यको निधनपछि समस्यामा परेको परिवारलाई आयआर्जनसँग जोड्न उनकी श्रीमतीका लागि रोजगारीको पहलसमेत गरिएको थियो । बस्नेतको आग्रहमा नेपाली कांग्रेसका नेता तथा पूर्व अरनिको यातायातका पूर्वअध्यक्ष केदार क्षेत्रीले उनलाई अरनिको यातायातमा रोजगारीको व्यवस्था मिलाएका थिए ।
राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारको आर्थिक अवस्था र सन्तानको भविष्यबारे सार्वजनिक चासो बढिरहेका बेला पूर्वमन्त्री बस्नेतले आर्थिक सहयोगसँगै छोरीको उच्च शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस