काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुँगुरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि बझाङबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले चार जनाको मृत्यु भएको जानकारी दिएका थिए। तर, प्रहरीले हालसम्म तीन जनाको मात्र मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका ६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका ७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका ६ की कुटुरीदेवी महतको मृत्यु भएको छ ।
गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका ६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका ७ का जिप चालक देवबहादुर धामी रहेका छन्।
यस्तै, दुर्गाथली गाउँपालिका ६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ०१–००१ च २६४४ नम्बरको बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनाका बेला जीपमा १६ जना सवार रहेको बताइएको छ । दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्।
घाइतेहरूको उद्धारका लागि हेलिकोप्टरले दुई पटक प्रयास गरे पनि प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकेको प्रतिनिधिसभा सदस्य महरले जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टर आज राति चैनपुरमै रहनेछ । घाइतेहरूलाई हाल एम्बुलेन्समार्फत चैनपुर ल्याइँदै छ । उनीहरूको आज जिल्ला अस्पतालमा उपचार गरिनेछ भने अवस्था हेरेर भोलि थप उपचारका लागि हेलिकोप्टरबाट कोहलपुर पठाइने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस