२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

सिमसिम वर्षासँगै वागमतीमा बगे गणेश नेपालीका अधुरा सपना

सोमवार , आषाढ २९, २०८३

काठमाडौंमा सोमबार बिहानैदेखि झमझम वर्षा भइरहेको थियो । उर्लिएको वागमतीले किनार छुन खोजिरहेको थियो । पशुपति आर्यघाटमा भने सधैंझैँ मृत्युको अन्तिम यात्रामा साथ दिन आएका आफन्तहरूको भीड थियो। कतै चितामा आगो सल्किरहेको थियो, कतै प्रियजन गुमाएको पीडाले आँखाभरि आँसु थियो ।

त्यही भीडको एउटा चितामा लमतन्न सुतेका थिए मुगुका गणेश नेपाली ।

कर्णालीका पहाडबाट थुप्रै सपना बोकेर केही वर्षअघि राजधानी छिरेका गणेशको शरीर चितामा जल्दै थियो। तर आगोले केवल उनको शरीर मात्र जलाइरहेको थिएन, उनीसँगै काठमाडौं ल्याइएका रहर, संघर्ष र भविष्यका असंख्य सपना पनि खरानी बन्दै थिए। चिताबाट उठेको धुवाँसँगै ती सपना पनि वागमतीको बहावमा कतै बिलाउँदै थिए।

122fc815-4f34-4058-91d6-ef82eea6ff23.jpg

जीवनलाई नयाँ मोड दिने आशामा गाउँ छाडेर राजधानी आएका उनी अन्ततः आफ्नै पीडासँग हार माने, असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भयो।

मृत्युपछि उनको शव तत्काल परिवारलाई बुझाउन नसकिएको थियो। घटनाको सत्यतथ्य छानबिन, जिम्मेवार पक्षमाथि कारबाही र आफ्ना माग सम्बोधन हुनुपर्ने अडानमा परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। अन्ततः आइतबार सरकार र परिवारबीच सहमति भएपछि सोमबार बिहान उनको शव पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

f012e2b0-ec47-47b8-9be7-3697a7cee6f4.jpg

आर्यघाटमा चिता बलिरहँदा वर्षाले पनि मानौँ त्यो पीडालाई थप गहिरो बनाइरहेको थियो, परिवारका सदस्यहरूको रुवाबासी, आफन्तहरूको मौनता र चिताबाट उठिरहेको धुवाँले एउटा प्रश्न भने फेरि उभ्याइदियो, आखिर राजधानी सपनाको शहर हो कि सपनाहरू जल्ने ठाउँ?

गणेश नेपाली अब यो संसारमा छैनन्। तर उनको मृत्यु एउटा परिवारको मात्रै पीडा बनेर सीमित भएको छैन। रोजगारी, अवसर र न्यायको खोजीमा राजधानी आएका हजारौँ युवाको असुरक्षा, निराशा र संघर्षको प्रतीकका रूपमा उनको नाम अहिले सडकदेखि सदनसम्म गुञ्जिरहेको छ।

10b3cff3-da31-47c1-a78d-d5ea817fa50e.jpg

 

सोमबार वागमतीको बहाव सामान्यभन्दा तीव्र थियो। केहीबेरमै चिताको आगो निभ्यो, खरानी नदीमा मिसियो। तर गणेश नेपालीको अधुरो सपना, उनको अन्तिम निर्णय र त्यसले उठाएका प्रश्नहरू भने यति सजिलै बगेर जान्छ वा जादैन त्यो भविष्यले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट