काठमाडौं । आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगु सोरु गाउँपालिका–१ का गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग प्रदान गरेका छन्।
नेता बस्नेतले हिजो सुर्खेतमा आयोजित खेलकुद कार्यक्रममा परिवारलाई सहयोग गर्ने घोषणा गरेका थिए। सोही प्रतिबद्धताअनुसार उनले आफ्नै निवासमा आयोजित कार्यक्रममा गणेश नेपालीकी आमा सौरी नेपाली लाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
नेपाली कांग्रेसका नेता रामकुमार थापाका अनुसार बस्नेतले स्वर्गीय गणेश नेपालीका दुवै सन्तानको स्नातक तहसम्मको सम्पूर्ण अध्ययन खर्च आफैं व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। साथै, नेपालीकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्न आवश्यक पहल गर्ने आश्वासन पनि दिएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसहित कांग्रेसका अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस