विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त गरेको हो। सरकारको निर्णय अनुसार, प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल नियुक्त भएका छन ।
यसैगरी, प्रतिष्ठानको प्रदेश प्रेस रजिष्ट्रार पदमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको छ।
गठित प्रतिष्ठानको सदस्यहरूमा पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ। सदस्यहरूमा शान्ति दाहाल (माेरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा(ताप्लेजुङ), रेणु पराजुली(उदयपुर), विष्णुप्रसाद पोखरेल(झापा), अर्जुन राजबंशी(झापा) र ध्रुब ढकाल(सुनसरी) रहेका छन्।
कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
राजपत्रमा उल्लेखित प्रस्तावना अनुसार प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आम सञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्न यो ऐन ल्याइएको हो।
स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्द्धनका लागि आमसञ्चार क्षेत्रसँग समन्वय कायम गर्ने तथा क्रियाशील पत्रकार वा जनशक्तिको व्यावसायिक हित अभिवृद्धि गर्न कोशी प्रदेश सभाले यो ऐन बनाएको हो ।
प्रतिक्रिया दिनुहोस