काठमाडौं । नेपाल एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली युवा टिम फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रनको योगदान गरे। यस्तै, शिवान्स बजगाई २३ रन थपे ।
मलेसियाका नागिनेस्वरण साथनाकुमारनले नेपालको एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९० रनको योगफल तयार पारेको हो ।
मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि अभय यादवले सर्वाधिक चार विकेट लिए । सुभम खनालले तीन विकेट लिए भने कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले समान एक विकेट लिए ।
नेपालले अब उपाधिका निम्ति हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस