२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित, ११ हजार ६३० बालबालिका खोपको पहुँचमा

बिहिवार , जेठ २१, २०८३

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ। बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले सञ्चालन गरेको अभियानले सबै वडामा खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको हो।

महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०–११ महिनाका २ हजार १३९ जना, १२–१५ महिनाका ९७७ जना, १६–२३ महिनाका १ हजार ५४८ जना तथा २४–५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्। यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको जनाएको छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत आयोजित विशेष कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा वडा नम्बर १ देखि १९ सम्मका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो। आवश्यक सबै सूचक पूरा गरी पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको महानगरले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको बताए । 

उनले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्रै अन्तिम लक्ष्य नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण चुनौती रहेको भन्दै सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे ।

महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार महानगरले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो। 

‘पूर्ण खोप सुनिश्चितता केवल एक कार्यक्रम होइन, यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको अभियान हो,’ उनले भने, ‘महानगरले आगामी दिनमा पनि खोप छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन र अभिलेखीकरणलाई थप प्रभावकारी बनाउनेछ ।’

खोप संयोजक सुशील साहले विराटनगरमा खोप सेवाको गुणस्तर सुधार, तथ्यांक व्यवस्थापन र समुदायस्तरको सहभागिताले अभियान सफल भएको बताए। उनका अनुसार स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकबीचको समन्वयले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ। ‘खोपबाट बच्न सकिने रोगको जोखिम न्यूनीकरण गर्न नियमित खोप सेवामा निरन्तरता दिनु अत्यावश्यक छ,’ उनले भने ।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न वडा तहबाट नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा खोप छुटेका बालबालिकाको पहिचानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई दिगो बनाउन समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे ।

स्वास्थ्यकर्मीहरूका अनुसार पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले बाल स्वास्थ्य सूचक सुधार्नुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा पर्ने आर्थिक भारसमेत कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता मान्दै आगामी वर्षहरूमा समेत नियमित खोप सेवाको पहुँच विस्तार, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि र खोप अभियानको दिगोपनामा विशेष जोड दिने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट