काठमाडौं / जग्गासम्बन्धी विभिन्न सेवा लिन नापी कार्यालय धाउनुपर्ने झन्झट अब क्रमशः हट्ने भएको छ । नापी विभागले नागरिकलाई घरमै बसेर डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी मन्त्री प्रतिभा रावल को उपस्थितिमा सार्वजनिक गरिएको उक्त एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ । सेवाग्राहीले एपलाई प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
विभागका अनुसार एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकन सेवाका लागि अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दर्ता भएपछि प्रणालीबाट प्राप्त हुने ओटीपी प्रयोग गरेर सेवाग्राहीले आफ्नो निवेदनको अवस्था जुनसुकै बेला ट्र्याक गर्न सक्ने सुविधा पनि राखिएको छ ।
राजस्व भुक्तानीलाई समेत डिजिटल बनाइएको एपमा ई–सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ। विशेषगरी फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्व पनि अनलाइनबाटै बुझाउन सकिने भएकाले सेवा प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ ।
‘मेरोकित्ता’ एपले सेवा प्रवाहमा मात्र होइन, सूचना पहुँचमा पनि सहजता ल्याएको छ। प्रयोगकर्ताले आफूलाई आवश्यक नापी कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरूको सम्पर्क विवरण समेत एपबाटै प्राप्त गर्न सक्नेछन् । विभागले मोबाइल एपसँगै यसको वेब संस्करण पनि सञ्चालनमा रहेको जनाएको छ ।
एप सार्वजनिक कार्यक्रममा मन्त्री रावलले डिजिटल प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताइन्। उनले जग्गासम्बन्धी सेवामा देखिँदै आएको अनावश्यक झन्झट र कार्यालय धाउनुपर्ने बाध्यता कम गर्न ‘मेरोकित्ता’ महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार सूचना प्रविधिमा आधारित यस्ता सेवाले सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउनेछन् । सरकारले आगामी दिनमा पनि डिजिटल सुशासनलाई बलियो बनाउने उद्देश्यसहित प्रविधिमैत्री सेवाहरूको दायरा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
नागरिकलाई घरमै बसेर जग्गासम्बन्धी सेवा उपलब्ध गराउने लक्ष्यसहित ल्याइएको ‘मेरोकित्ता’ एपलाई भूमि प्रशासनको डिजिटल रूपान्तरणतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस