सर्लाही / सर्लाहीको बलरा नगरपालिकामा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । दुर्घटनापछि चालक फरार भएका छन् ।
बलरा नगरपालिका–६ मिर्जापुरमा बिहीबार दिउँसो भएको दुर्घटनामा स्थानीय अर्जुन साहकी ५ वर्षीया छोरी अंकिता कुमारी साहको मृत्यु भएको हो । गडहियाबाट मिर्जापुरतर्फ निर्माण सामग्री बोकेर जाँदै गरेको ना ४ त ८८३४ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि चालक कृष्णकुमार साह फरार भएका छन् । उनी बलरा नगरपालिका–६ कै निवासी रहेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस