काठमाडौ/ नेपाली कांग्रेसले वैशाख १ गतेदेखि सुरु गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानको निर्धारित समय आज सकिँदै गर्दा देशभरबाट उत्साहजनक सहभागिता देखिएको जनाएको छ ।
पार्टी केन्द्रीय समितिको निर्णयअनुसार सबै क्रियाशील सदस्यलाई सदस्यता पुनः अद्यावधिक गर्न आह्वान गरिएको थियो । संस्थापन इतर पक्षले अभियानप्रति असहमति जनाउँदै सहभागी नहुन आग्रह गरे पनि सदस्यहरूबाट व्यापक रूपमा सहभागिता भइरहेको कांग्रेस नेताहरूको दाबी छ ।
कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार अभियानको अन्तिम चरणमा सदस्यता अद्यावधिक गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ । उनका अनुसार एकै दिन ६२ हजारसम्म सदस्यले सदस्यता अद्यावधिक गरेको दाबी गरे ।
‘देशभर अत्यन्त उत्साहका साथ सदस्यहरूले सदस्यता अद्यावधिक गरिरहनुभएको छ , पुर्व सभापति शेरबहादुर देउवाको गृहजिल्लासहित विभिन्न जिल्लामा सहभागिता उल्लेखनीय देखिएको छ,’ शिवाकोटीले भने ।
उनले हालसम्म कुल क्रियाशील सदस्यमध्ये ६० प्रतिशतभन्दा बढीले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिए । यद्यपि अन्तिम तथ्यांक भने अझै संकलन भइरहेको उनले बताए ।
शिवाकोटीका अनुसार अभियानको सुरुआती चरणमा सहभागिता अपेक्षाकृत कम देखिए पनि पछिल्लो एक सातादेखि दैनिक १५ हजारदेखि ६५ हजारसम्म सदस्यले अद्यावधिक प्रक्रिया पूरा गरिरहेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनसम्म देशभर करिब ८ लाख क्रियाशील सदस्य रहेका थिए । पार्टी स्रोतका अनुसार गत पुस मसान्तसम्म ६ लाखभन्दा बढी सदस्यले सदस्यता नवीकरण गरेका थिए ।
यसबीच संस्थापन इतर पक्षले सदस्यता अद्यावधिक प्रक्रिया पार्टीको विधि र निर्णयविपरीत रहेको दाबी गर्दै बहिष्कारको आह्वान गरेको थियो । कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले समेत केही दिनअघि सदस्यहरूलाई उक्त अभियानमा सहभागी नहुन आग्रह गरेका थिए।
यद्यपि पार्टी नेतृत्व भने सदस्यता अद्यावधिक अभियानबाट पछि नहट्ने अडानमा देखिएको छ । अद्यावधिक नगर्ने सदस्यहरू पार्टीको डिजिटल प्रणालीबाट बाहिरिने छन्,जो जो सहभागी भए उहाँहरु अटाउनु हुन्छ,नआउने बाहिरीनु हुन्छ सिवाकोटीले भने ।
सदस्यहरूको सहभागिता निरन्तर बढिरहेकाले आवश्यक परे अभियानको अवधि थप गर्ने विषयमा पार्टीले निर्णय लिन सक्ने संकेत पनि उनले दिएका छन् । ‘अहिले सदस्यता अद्यावधिकको दर निरन्तर बढिरहेको छ, यही अवस्था रहिरहे केही दिन समय थप्नेबारे पार्टीले आवश्यक निर्णय गर्न सक्छ,’ शिवाकोटीले भने ।
प्रतिक्रिया दिनुहोस