काठमाडौं । एसीसी यू–१६ पुरुष इष्ट जोन कपको उपाधि नेपालले जितेको छ । सिगांपुरलाई २ विकेटले पराजित गर्दै नेपाली युवा टोलीले एसीसी यू–१६ पुरुष इष्ट जोन कपको उपाधि जितेको हो ।
शनिबार भएको फाइनलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालका जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे । विकेट किपर सिवांश बजगाइले २० रन थपे । शुभम खनालले १८ रन, प्रसिद्ध जैसीले १७, परिमार्जन यादवले १३ रन बनाए ।
त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो । सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो । कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए ।
नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए । नेपालले यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो ।
अघिल्लो संस्करण भएको फाइनलमा नेपालले मलेसियालाई हराउँदै उपाधि उचालेको थियो ।
प्रतिक्रिया दिनुहोस