२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'एक पटकको नेपाली सधैँको नेपाली' भन्ने भावनालाई व्यवहारमा उतार्ने छु : कमल पन्थी

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । गुल्मी जिल्लामा पहिलो पटक कम्प्युटर शिक्षा तथा इन्टरनेट सेवा सुरु गर्ने अगुवा अभियन्ता कमल पन्थी, सन् २०११ देखि बेल्जियम (ब्रुग्गे) मा व्यवसाय प्रारम्भ गरी हाल रेस्टुरेन्ट व्यवसाय संलग्न छन् । सन् २०१२-२०१४ का लागि एभरेस्ट नेपाली समाज ब्रुग्गेका अध्यक्ष र सन् २०१७-१९ का लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनी सन् २०१९-२१ का लागि आइसिसी मेम्बर हुँदै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका संस्थापक निर्देशक, रियल स्टेस, शेयर ब्रोकर, हाइड्रो पावर जस्ता दर्जनौँ क्षेत्रका लगानीकर्ता बने । सफल उद्यमी एवम् समाजसेवी कमल पन्थी, आगामी १७ अगस्ट, २०२५ मा बेल्जियममा हुन लागिरहेको १०औँ एनआरएनए बेल्जियम महाधिवेशनबाट सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी हुन्। पन्थीसँग सुनौलो नेपालका लागि राजिन पनेरूले गरेको कुराकानीको सम्पादित अंश :

एनआरएनए बेल्जियमको अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । यसले तपाईंलाई कस्तो महसुस गराएको छ ?

अध्यक्षको उम्मेदवारी वर्तमानको आवश्यकता हो । यो केवल व्यक्तिगत महत्त्वकाङ्क्षा पूरा गर्ने मात्र होइन । मैले यसलाई प्रवासी नेपाली समुदायप्रति मेरो जिम्मेवारी र प्रतिबद्धताको सार्वजनिक घोषणा ठानेको छु । मैले धेरै वर्षदेखि बेल्जियम र नेपालबिचको सम्बन्ध मजबुत बनाउन, यहाँको नेपाली समुदायलाई एकतामा बाँध्न र मातृभूमिप्रति योगदान पुर्‍याउन विभिन्न क्षेत्रमा काम गर्दै आएको छु । उम्मेदवारी घोषणाले मभित्र उत्साह र जिम्मेवारीबोध दुवै एकै पटक थपेको छ । उत्साह यो अर्थमा कि अब मेरो दृष्टि र योजना स्पष्ट रूपमा सबैको सामु आउँदै जानेछन् र त्यसलाई पूरा गर्न म लाग्ने छु । साथै, जिम्मेवारी यो अर्थमा कि अध्यक्षको पदलाई केवल नेतृत्वका रूपमा मात्र नभई विश्वास, पारदर्शिता र सेवाको पर्यायका रूपमा हेरेको छु ।

म धेरै आशावादी छु । मलाई विश्वास छ, यदि हामी सबै मिलेर काम गर्‍यौँ भने, एनआरएनए बेल्जियमलाई पूर्णतः पारदर्शी, सक्रिय र सबैको संस्था बनाउन सक्ने छौँ । ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई व्यवहारमा उतार्ने अवसर पाउनु मेरा लागि गौरवको कुरा हो ।

हिजोआज एनआरएनए भन्नेबित्तिकै 'विवादको पर्याय' का रूपमा हेर्ने गरेका छन् । तपाईं यो विवादको जञ्जालमा किन प्रवेश गर्न चाहनुहुन्छ ?

साँचो कुरा हो, पछिल्ला वर्षहरूमा एनआरएनएलाई धेरैले ‘विवादको पर्याय’का रूपमा हेर्ने गरेका छन् । नेतृत्वबीचको असहयोग, गुटबन्दी, पारदर्शिताको कमी र केही गलत निर्णयहरूले संस्थाको छवि नै धुमिल भएको छ । तथापि म यो अवस्थालाई समस्या मात्र होइन, अवसरको रूपमा पनि देख्छु । जब संस्थामा अविश्वास र असन्तुष्टि बढ्छ, त्यही बेला नयाँ सोच, इमानदार नेतृत्व र सबैलाई अँगाल्ने दृष्टिकोणको खाँचो पर्छ । मैले उमेर, अनुभव र नेटवर्क नयाँ जिम्मेवारीका लागि उचित 'प्ल्याटफर्म'का रूपमा लिएको छु । मेरो उद्देश्य विवादलाई थप गहिरो बनाउनु होइन, बरु यसको गाँठो फुकाल्नु हो । म विश्वास गर्छु, एनआरएनए मूलतः सबै प्रवासी नेपालीको साझा घर हो । यो कुनै गुट वा समूहको निजी सम्पत्ति होइन । त्यसैले अध्यक्षको हैसियतमा मेरो पहिलो काम संस्थाभित्रको संवाद पुनः सुरु गर्नु, निष्पक्ष निर्णय प्रक्रिया ल्याउनु र सबैलाई समान अवसर दिने वातावरण बनाउनु हुनेछ । प्रान्तीय योगदानबाट विश्वमा सकारात्मक सन्देश जाओस् भन्ने मेरो चाहना रहेको छ ।

तपाईंका व्यावसायिक अनुभव, दक्षता र लगानी वातावरणबारे बताइदिनोस् न ।

मेरो व्यावसायिक यात्रा गुल्मीमा पहिलो कम्प्युटर शिक्षा इन्स्टिच्युट र इन्टरनेट सेवा सुरु गर्ने कामबाट प्रारम्भ भयो । त्यतिबेला छरछिमेकका केही घरमा टेलिभिजन केबल वितरण गर्दै सूचना र मनोरञ्जनको पहुँच बढाएँ र प्यारा–मेडिकको रूपमा गाउँघरमा स्वास्थ्य सेवा पुर्‍याएँ । हाल म ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको संस्थापक निर्देशकका रूपमा रहेको छु । पब्लिक कम्पनीका रूपमा रहेको ओम मेगाश्री नेपालको फर्मा इतिहासमा पहिलोपटक धितोपत्र बोर्डबाट आइपिओ अनुमति पाई, शेयरबजारमा सफलतापूर्वक कारोबार भइरहेको संस्था हो । यसलाई हामीले 'स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प' भन्ने मूल मर्मका साथ सञ्चालन गरिरहेका छौँ ।

बेल्जियममा पनि व्यावसायिक यात्रामै सक्रिय छु । यी अनुभवहरूले मलाई पारदर्शिता, लगानीमैत्री वातावरण र सुशासनको महत्त्व सिकाएका छन्, जसलाई म एनआरएनए बेल्जियममा पनि लागू गर्न चाहन्छु ।

१० औँ महाधिवेशनको पूर्व सन्ध्यामा तपाईंहरूकाबीचमा पनि वैचारिक समूह छन्, तिनका आफ्नै मान्यता छन् र जसले संस्थालाई एकत्वका रूपमा नभई फुट र गुटको झुण्डमा रहन बाध्य पारिन्छ भन्ने आरोप छ नि ! यसलाई कसरी हेर्नुभएको छ ?

हो, म यो आरोपलाई हल्का रूपमा लिँदिन । यसमा यथार्थको अंश देखिन्छ । विगत केही वर्षमा एनआरएनएभित्र वैचारिक समूहहरू र गुटबन्दीको प्रभाव बढेको छ, जसले संस्थालाई एक साझा घरभन्दा बढी विभाजनको मञ्च बनाएको छ । हामी सबै चोखा छौँ भन्दिनँ । म विचारको विविधतालाई स्वीकार्दछु तर त्यो तार्किक रूपमा हुनुपर्छ ।

संस्थालाई सशक्त बनाउने आधारका रूपमा स्विकार्नु राम्रो हुन्छ । 'मेरो गोरुको बाह्रै टक्का' भने जस्तो गर्नु हुँदैन । विचारहरू व्यक्तिगत स्वार्थ, पदको राजनीति र आपसी अविश्वासका रूपमा आए भने त्यसले सबैलाई सिध्याउँछ । त्यसबाट बँच्नुपर्छ । समस्या विचारमा होइन, त्यसलाई व्यवस्थापन गर्ने शैलीमा छ । अध्यक्षको हैसियतमा मेरो प्राथमिकता, यी समूहहरूलाई प्रतिस्पर्धी होइन, साझेदारको रूपमा लिनु हुनेछ । म साझा एजेन्डा र दीर्घकालीन लक्ष्य तय गरेर सबैलाई त्यसमा भूमिका दिने वातावरण बनाउने छु । संवाद र पारदर्शिताबिना विभाजनको दीर्घकालीन समाधान सम्भव छैन, त्यसैले म नियमित 'ओपन फोरम' र 'ओपन अपिनियन' लाई स्विकार्दछु । सङ्क्षेपमा म यसलाई चुनौती मात्र होइन, अवसरको रूपमा हेर्छु । हरेक चुनौती आफैँमा सुन्दर अवसर हो । यदि सही नेतृत्व भयो भने विविधताभित्र पनि एकता कायम गर्न सकिन्छ ।

बोली र व्यवहारको तालमेल नहुँदा चुनावपूर्व गरिने प्रतिबद्धता र पछिको कार्यशैली नै आकाश-जमिनको अवस्थामा पुग्छ । तपाईं यसलाई कसरी लिनुहुन्छ ?

हो, यो गम्भीर मुद्दा हो । चुनावअघि र पछिको बोली र व्यवहारका बिचमा तालमेल नहुँदा प्राप्त विश्वास गुम्छ । मेरो मान्यता स्पष्ट छस विश्वास शब्दले होइन, कामले कमाइन्छ । त्यसैले म दिएको प्रतिबद्धतालाई कार्य योजनाअनुसार गर्ने छु । काम गर्ने क्रममा ढिलोचाँडो समयसापेक्ष हुन सक्छ तर चुनौतीसँग भाग्ने गरी म काम गर्ने छैन ।

बेल्जियममा बसेर नेपाल र नेपालीका लागि के के गर्दै हुनुहुन्छ ?

बेल्जियममा बसेर म निरन्तर नेपाल र नेपालीका लागि योगदान दिँदै आएको छु । शिक्षा क्षेत्रमा विद्यालयहरूलाई शैक्षिक सामग्री र प्रविधि सहयोग, स्वास्थ्य क्षेत्रमा अस्पताल र स्वास्थ्य चौकीलाई उपकरण उपलब्ध गराउने र विपत्ति वा आपतकालमा राहत सङ्कलन र पठाउने काममा सक्रिय छु । यहाँको नेपाली समुदायबिच पनि भाषा, संस्कृति र परम्परा जोगाउन विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छु । ओम मेगाश्री फर्मास्युटिकल्सको स्थापना र सञ्चालन पनि नेपाली जनताको स्वास्थ्य क्षेत्रप्रतिको चासो र आवश्यकताको सम्बोधन हो । तन बेल्जियममा भए पनि मन र धनको धेरै अंश आफ्नै मातृभूमिमा छ ।

तपाईंको नेतृत्वले प्रान्तीय रूपमा मात्र नभई आइसिसीमा नै कस्तो प्रभाव परोस् भन्ने चाहनुहुन्छ ?

म चाहन्छु, मेरो नेतृत्वको प्रभाव केवल बेल्जियम वा युरोपमा सीमित नहोस् । यसले अन्तर्राष्ट्रिय रूपमा नै एउटा सन्देश छाड्न सकोस् । एनआरएनए बेल्जियमलाई पारदर्शिता, सुशासन, र सदस्यमैत्री कार्यशैलीको उत्कृष्ट नमुना बनाउँदै, यो मोडेललाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रस्तुत गर्न चाहन्छु । यसका लागि विश्वभरका राष्ट्रिय शाखाबीच आपसी सहकार्य र अनुभव साझेदारी बढाउने, दोस्रो भनेको मातृभूमिसँगको आर्थिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सुदृढ गर्ने र तेस्रो, एनआरएनएको मूल मर्म, 'एक पटकको नेपाली, सधैँको नेपाली'लाई नीतिगत र कार्यक्रमगत रूपमा मजबुत बनाउने । यति गर्न सक्यौँ भने एनआरएन र यसका नेतृत्व संस्थाप्रति सबैको विश्वास बढ्ने छ ।

तपाईंका भावी योजनाहरू के के छन् ? तपाईंको नेतृत्वमा २०२५-२०२७ को कार्यकाल चल्दै गर्दा बेल्जियमवासी गैरआवासीय नेपालीहरूले कस्तो अपेक्षा गर्ने ?

मेरो नेतृत्वको २०२५–२०२७ को कार्यकालमा एनआरएनए बेल्जियमलाई विश्वास, एकता र अवसरको साझा केन्द्रका रूपमा विकास गर्नेछु । यसका लागि सबै निर्णय र खर्चको विवरण सार्वजनिक गर्न ‘डिजिटल पारदर्शिता पोर्टल’ सञ्चालन गर्न, आपतकालीन अवस्थामा २४–४८ घण्टाभित्र राहत पुर्‍याउने ‘र्‍यापिड रेस्पोन्स टिम’ निर्माण गर्ने, व्यवसायिक अवसर विस्तार गर्न ‘वन–स्टप इनभेस्टमेन्ट डेस्क’ स्थापना गर्ने र नियमित व्यवसायिक तालिम तथा सेमिनारहरू आयोजना गर्ने जस्ता योजनाहरू लिएको छु ।

युवा र महिलाको सशक्तीकरणका लागि नेतृत्व विकास तालिम, नेपाली भाषा, संस्कृति र परम्परा जोगाउने प्रकृतिका कार्यक्रम आयोजना गर्नुका साथै समयसीमा र स्रोतअनुसार पूरा गर्न सकिने खालका अन्य आवश्यक कार्यहरू गर्ने छु । जसले बेल्जियमवासी गैरआवासीय नेपालीलाई प्रत्यक्ष उपयोगी, सहयोगी र गर्वको अनुभव दिने छन् ।

अन्तिममा, संक्षेपमा केही भन्न चाहनुहुन्छ कि ?

धेरै कुराहरू भनिसेको छु । मैले एनआरएनए बेल्जियमको नेतृत्व गर्दै गरे तापनि यसमा सम्पूर्ण बेल्जियम निवासी नेपाली दाजुभाइहरूको प्रत्यक्ष-परोक्ष सहयोग र सद्भाव रहने छ । संस्था गैरआवासीय नेपालीहरूको साझा कर्मथलो भएको हुँदा यसमा रहेर सबैले आपसी सुख-दुःख साँट्न, आफ्नो अनुभव, सिप एवम् दक्षता साटासाट गर्न पाइयोस् । विचार र गुटभन्दा पनि मानवता र नेपालीपनको चिन्तनमा हिँड्न सकियोस् । मलाई सबै मित्रहरूले दिनुहुने अमूल्य भोटको म सदैव ऋणी हुने छु र त्यसलाई आफ्नो लक्ष्य र गच्छेअनुसार सही स्थानमा सदुपयोग गर्ने प्रतिबद्धता गर्दछु । एक पटक नेतृत्वमा सिकेका कुरालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै नेतृत्व हस्तान्तरण गर्ने संस्कारको विकासमा लाग्ने प्रण गर्दछु ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ