रूपन्देही । आर्थिक रूपमा कमजोर किशोरीहरूलाई आत्मनिर्भर बनाउन र लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्ध अभियानलाई प्रभावकारी बनाउन आफन्त नेपालले स्टान्डर्ड चार्टर्ड बैंकको सहयोगमा सिपमूलक तालिम र स्थानीय निकायसँग समन्वयात्मक बैठकहरू सञ्चालन गर्ने भएको छ।
आफन्त नेपालकी क्षेत्रीय व्यवस्थापक उषा गुरुङले आफन्त नेपालका कार्यछेत्र रहेका सम्पूर्ण जिल्लाका १६ देखि २२ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने बताइन्।
सिद्धार्थ नगरपालिकामा आयोजित समन्वयात्मक बैठकमा उषा गुरुङले हिंसामा परेका र जोखिममा रहेका किशोरीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सिपमूलक तालिमको महत्त्वमाथि जोड दिइन्। “हाम्रो उद्देश्य किशोरीहरूलाई आत्मनिर्भर बनाउनुका साथै लैङ्गिक हिंसा र मानव बेचबिखनविरुद्ध सचेतना फैलाउनु हो,” उनले भनिन्।
बैठकमा सिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले खुला सीमानालाई मानव बेचबिखनको ट्रान्सिट पोइन्टको रूपमा प्रयोग हुने जोखिमबारे प्रकाश पारिन्। उनले स्थानीय निकायको सहकार्यले यस्ता अभियानलाई थप प्रभावकारी बनाएको बताइन्।
यी कार्यक्रमले किशोरीहरूलाई आर्थिक सशक्तीकरणमार्फत हिंसाको जोखिम न्यूनीकरण गर्न र सम्मानजनक जीवनयापनका लागि सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस