काठमाडौं । भोलि अर्थात् भदौ ३ गते देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२५' हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने यस शो सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको रुपमा रहँदै आएको छ । यस पटकको नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । जुन नाडाकै इतिहासमा पहिलो पटक हो । यसै पेरिफेरिमा रहेर नाडाका अध्यक्ष करण चौधरीसँग सुनौलो नेपालले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको नेतृत्वमा प्रधानमन्त्रीले पहिलो पटक नाडा अटो शोको उद्घाटन गर्दै हुनुहुन्छ । ऐतिहासिक रुपमा यो शो सम्पन्न हुने देखिएको छ । कस्तो हुँदैछ तयारी ?
मैले जति बुझेँ, नाडाको ४९औँ वर्षको इतिहासमा पहिलो पटक प्रधानमन्त्री ज्यू हाम्रो कार्यक्रममा आउँदै हुनुहुन्छ र उद्घाटन गर्दै हुनुहुन्छ । यो हाम्रो लागि ठूलो गौरवको विषय पनि हो । मैले विगतमा पनि भन्दै आएको थिएँ, सरकारले अटोमोटिभ क्षेत्रलाई विस्तारै भएपनि प्राथमिकतामा राख्न थालेको छ । यो कुरा हाम्रो अटो शोबाट पनि प्रमाणित हुँदैछ । अटो शोलाई प्रधानमन्त्री आएर उद्घाटन गर्नु भनेको अटो क्षेत्रका लागि गर्वको विषय हो । यो राम्रो रुपमा सम्पन्न हुन्छ र यसपछि अटो क्षेत्रको विकास हुनेमा विस्वस्त छौँ ।
अवरुद्ध सडकको बावजुद पनि फ्लाइङ कार ल्याउने भन्ने कमिटमेन्ट यहाँले पूरा गर्नुभएको छ । उड्ने कार ल्याउँदा अटो शो विशेष हुन्छ भन्ने लागेर हो ?
सामान्य प्रदर्शनी बाहेक के कुराले आकर्षण गर्न सकिन्छ त भन्ने उद्धेश्यले पहिले हामीले ह्युमन रोबर्ट, डग रोबर्ट पनि प्रदर्शन गर्दैछौँ । योसँगै हामीले दीपलको 'फ्लाइङ ट्याक्सी' पनि प्रदर्शन गर्दैछौँ । यो मात्रै होइन कि हामीले भिन्टेज कार पभिलियन, मेड इन नेपाल पभिलियन लञ्च गर्दै छौँ र अटो डायलग पनि गर्दैछौँ । फ्लाइङ ट्याक्सी र रोबर्ट बाहेक अन्य सबै चिज हामीले यहीँबाट गरेको हो । हो, फ्लाइङ ट्याक्सीलाई बोकेरै ल्याउनु पर्यो । साथीहरुले उड्ने चिज उडाएरै ल्याएको भए हुन्थ्यो पनि भन्नुभयो । उडाएर ल्याउन सकिन्थ्यो तर यसमा नीतिगत बाधाहरु धेरै पर्ने रहेछ । उडाएर ल्याउन कुनै कठिनाइ पनि होइन । किनभने यो उड्ने चिज नै हो, अरु अरु देशमा उडेको पनि छ । प्रधानमन्त्री ज्यू आउने कार्यक्रममा 'नेपाली हो नि' भनेर देखाउनु पनि पर्ने थियो । त्यसैले हामीले विगत २०/२५ दिनदेखि तातोपानीको बाटो अबरोध भएपनि कुनै कसर नछोडिकन बोकेरै भएपनि ल्याएका हौँ ।

पछिल्लो समय विद्युतीय गाडी नेपालीहरुका लागि आकर्षणको रुपमा रहेको छ । यसैबीचमा यो वर्षको नाडामा विशेष के हुनेवाला छ ?
पहिला पहिला नाडा अटो शो विक्रेताका लागि व्यापारिक थलो भनेर गथ्र्यौ, त्यो कायमै हुनेछ । हामीले यस पटक थोरै फ्लेबर एड गरेका छौँ, त्यो हो बहस । प्रदर्शनी सँगसँगै नेपालमा बहस पनि हुनुपर्ने जरुरी छ भनेर हामीले ‘अटो डायलग’ पनि राखेका छौँ । यसको मूल उद्धेश्य भनेको नीतिगत अस्पष्टतालाई सुल्झाउने, जानमानसमा त्यसको ब्याख्या गराउने र त्यसबाट आएको निचोड सरकारलाई दिने भन्ने हाम्रो सोच हो । यो पटकको नाडा अटो शोको अवधिभर हरेक दिन केही न केही विषयमा बहस भई नै रहेको हुनेछ र यसले राम्रो नीति ल्याउन भूमिका खेल्छ भन्ने विश्वास छ ।
कुन फरम्याटमा हुन्छ बहस ?
हामीले बहसको लागि स्टेज निर्माण गरेका छौँ । बहसका लागि विभिन्न पदाधिकारीहरुलाई निम्ता पनि गरिसकेका छौँ । उहाँहरुले अवलोकनकर्ताहरुको पनि विचार बुझेर सवाल जवाफ क्रियट गर्नुहुनेछ । यसबाट राम्रो निचोड आउँछ भन्ने मलाई आशा छ ।
पछिल्लो समय राष्ट्र बैंकले पनि अटो खरिदको डाउन पेमेन्टमा कसिलो नीति ल्याएको छ । यी लगायत थुप्रै समस्याहरु छन् । तपाईं नाडाको अध्यक्षको भूमिकामा हुनुहुन्छ । ती समस्यलाई समाधान गर्न के कस्ता कदम चाल्नुभएको छ ?
सर्वप्रथम त बजेटले अटो सेक्टरलाई एकदम सपोर्ट गरेको हो । हामीले त्यसलाई उल्लासकासाथ मनायौँ पनि । मौद्रिक नीतिमा हाम्रो जुन अपेक्षा थियो, त्यो अपेक्षा अनुसार भएन । यो कुरालाई अब आउँदो दिनमा सुधार गरिन्छ भन्ने अपेक्षा छ किनभने त्रैमासिक समिक्षा अब हुन्छ ।

बजेटमा सरकारले कर बढाउँछ भन्ने अनुमानले विक्रेताहरुले पहिले नै धमाधम गाडी भित्र्याउनुभयो तर सरकार यथास्थितिमा नै रह्यो । जसले गर्दा विक्रेताहरुलाई एक किसिमको दबाव जस्तो पनि देखिन्छ । गाडीको स्किमहरु पनि घटिरहेका छन् । यसले नाडा अटो शोलाई प्रभाव पार्छ कि पार्दैन ?
व्यापारीहरुले एउटाले एक दियो भने अर्कोले दुई दिने गर्ने गरेका छन् । अवश्य पनि मलाई लाग्छ, नाडा अटो शोको दौडानमा यहाँहरुले अझै राम्रो र आकर्षित स्किमहरु देख्न पाउनु हुनेछ ।
तपाईं आफैँ पनि सुजुकीको विक्रेता हुनुहुन्छ । नाडा अटो शोमा सुजुकीका के कस्ता ब्रान्डहरु देख्न पाइने छ ?
मैले नाडाको अध्यक्षको भूमिका निभाउँदा निभाउँदै दुई वर्षका लागि सुजुकी बिर्सेको छु । मैले अहिले ठ्याक्कै यही भन्न त सक्दिन तर इभीटारा चाहिँ अवश्य आउँछ ।
अर्थतन्त्र अहिले अलि सुस्त पनि छ । गाडीहरु आशा गरेजति विक्री भइरहेको अवस्था पनि छैन । अटो मोबाइल क्षेत्र सरकारलाई धेरै ट्याक्स पे गर्ने क्षेत्र पनि हो । सरकारले के गर्दियो भने अटोमोबाइल क्षेत्र, अर्थतन्त्र चलायमान हुन्छ जस्तो लाग्छ ?
अहिलेको लागि दुई वटा मात्र कुरा छ, जुन मौद्रिक नीतिसँग सम्बन्धित छ । सरकारले 'लोन टू भ्यालू' लाई फोकस गरेर अगाडि बढाइदिन पर्यो । दोस्रो भनेको 'ग्रस रेट सर्भिसिङ' कम छ, आज हामी परिवारमा एकजुट भएर एकाघरमा बस्ने गरेका छौँ । त्यसको इनकमलाई पनि मान्दिनु पर्यो । यो भएको खण्डमा अटोमोबाइल क्षेत्र अवश्य पनि फस्टाउने नै छ ।
प्रतिक्रिया दिनुहोस