काठमाडौं । इजरायलको आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् ।
हुथी विद्रोहीहरूको भनाइमा गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो, किनभने यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो ।
समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको बताए पनि यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।
शनिबार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले यमनी प्रधानमन्त्री मारिएको घोषणा गरेका छन्।
एएफपीका अनुसार, अल–रहावीलाई अन्तिम पटक बुधबार सानामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो ।
हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गर्छौं। उनका धेरै सहयोगीहरूसहित उनी मारिएका छन्। उनलाई इजरायलले निशाना बनाएको हो ।’
प्रतिक्रिया दिनुहोस