जेन–जी : राष्ट्र निर्माणको पुस्ता बन्नुपर्छ
सन् २०१२ मा डेरेन एक्मग्लू र जे. रबिन्सनले ल्याएको महत्वपूर्ण कृति हो – ह्वाइ नेसन्स फेल ? अर्थात् केही देशहरु समृद्धिको यात्रामा लाग्दालाग्दै पनि विफलता हात पारे, यस्तो कसरी हुन्छ ? कुनै पनि देश असफल किन बन्न पुग्छ ? भन्ने प्रश्नहरु वरीपरी नै यो किताबभित्र छलफल गरिएको छ । यस्तो अध्ययन गर्दा उनीहरुले ऐतिहासिक तथ्यहरु पनि लिएका छन् ।
उनीहरुले एसिया, अफ्रिका र लेटिना देशहरु जो पहिले उपनिबेशवादको चपेटामा परेका थिए र पछि स्वतन्त्रता पाएका थिए ती देशहरुको अर्थ–राजनीति र त्यहाँको लोकतन्त्रका संस्थागत संरचनाहरु, संबैधानिक विधि पद्धतिहरु र ती देशले गरेका आर्थिक सुधारहरुबारे गहिरो अध्ययन गरी यो नतिजा निकालेका हुन् । उनीहरुको निष्कर्ष थियो लोकतन्त्र, समाबेशिता र जनसहभागिता एवं संस्थागत संरचनाहरु बलिया भएका देशमा निरकुंशता हुँदैन फलतः त्यहाँ आर्थिक बिकास र समृद्धि लोकतन्त्र सँगसँगै अघि बढ्छ । त्यहाँ जिडीपी र प्रतिब्यक्ति आय पनि तीव्र दरमा बढ्छ अनि त्यो देश सफल रहन्छ ।
तर, सर्वसत्तावादी निरकुंशतावादको अभ्यास गरेका मुलुकहरुमा समृद्धि आउँदैन किनकी त्यहाँ जनताका लागि आर्थिक–सामाजिक रुपान्तरणहरु हुन सकेका हुँदैन र राज्य प्रायोजित गरिबी, अस्थिरता एवं तानाशाही चरित्र चारैतिर हाबी हुन्छ । प्रजातन्त्र, लोकतन्त्र, समाबेशीतासंगै संस्थागत बिकास अघि बढदै प्रतिब्यक्ति आय बढ्नु पर्नेमा फिटिक्कै त्यसो भैरहेको हुन्न । यस्तो देश कुसाशन, गरीबी, भष्ट्राचार र बैदेशिक ऋणको पासोमा पर्छ अनि उक्त मुलुक बिफल हुन्छ । अनि प्रायश यस्ता असफल देशहरुमा लोकतन्त्र भएपनि यो परिवारवाद, वंशवाद, संरक्षणवाद, राष्ट्रवाद, लोकप्रियतावाद वा यस्तै खाले सानो मुठ्ठीभर राजनेताहरुको चौघेराभित्र फसिरहेको हुन्छ ।
यही छलफल नेपालका लागि पनि गर्ने बेला आएको छ । कतै हामी पनि विफलतातिर हिडेका छैनौँ । किनकी, यहाँ कुशासन र भ्रष्टाचारका ठूलठूला काण्डहरु हमेशा आइरहेका छन् । केही सिमीत नेताहरुको सम्पति अकूत रुपमा वृद्धि भएको छभने आम जनताहरु न्यून आय र रोजागरी अभावमा भयाबह गरीबीको जाँतोमा पिसिइरहेका छन् । यसैले चरम आर्थिक असमानता ल्याइदिएको छ यहाँ । नेपालको प्रतिब्यक्ति आय १३ सय डलर छ त्यो भनेको संसारका १९३ वटा देशमध्ये सबसे गरीबी नम्बर सातौँमा पर्छ नेपाल । देश धेरै पछाडी परेको अबस्था छ, देश करीब करीब बिफलतातिर जाँदै छ ।
यस्तो भयाबह गरिवीको दुष्चक्रमा बाँच्नु परेको छ हामीलाई । किन ? त्यसको एउटै कारण हो विगत पचास वर्षयता निरन्तर राजनीतिक भष्ट्राचार मौलाइरहेको छ र जतासकै कुशासन ब्याप्त छ यहाँ । नेपालमा बुढो पुस्ताले मात्रै शासनमा हालीमहाली गर्दै गयो अनि केबल भ्रष्टाचार मात्रै निरन्तरता दिँदै गयो, देशको आर्थिक बिकास तथा आम रोजगारीतिर फिटिक्कै मतलब गरेन । र, राजनीतिको बागडोर छोडन पनि मानेन प्रौढ नेतृत्वले, तब देश बर्बादीतिर गयो ।
यही राजनीतिक भ्रष्टाचार बिरुद्ध आन्दोलन छेड्यो, बिद्रोह गर्यो र दलीय अधिनायकी ढलायो पनि नेपालको जेन जी जेनरेसनले आज । राष्ट्रलाइ विफलताबाट बचाउन गरिएको यस्तो आन्दोलन नगरी नहुने थियो । यो ऐतिहासिक आबश्यकता पनि थियो । जेन जी (जेड) नामक नयाँ पुस्तालाई धेरै धन्यबाद छ ! यो बिद्रोह गरेकोमा र अब साँचो राष्ट्र निर्माणको पुस्ता अगाडी आएकोमा ।
हिजो मात्रै आन्दोलन गर्दाको विडम्बना हेरौं त उल्टै निरंकूश सरकारले नाती पूस्तालाई पेल्यो । कैयौ होनहार विद्यार्थी र युवाहरुलाई गोलीले भुट्यो, आन्दोलन दमन गर्यो, आम नरसंहार (जेनेसाइड) मच्चायो । तरपनि जेन जेडले घूँडा टेकाएरै छोडयो र निरंकूशता ढलायो ।
धेरैले युवाहरुको यो आन्दोलनलाई पपुलिज्मबाट उदाएको पनि भन्ने गरेको देखिन्छ, समाजले त्यो परख गर्नै बाँकी छ । सामाजिक संजालमार्फत भएको आन्दोलन कसैले इजिष्टमा जस्तो कलर रिभोल्यसुन पनि भनेका छन् र कसैले श्रीलंका जस्तो भने । भर्खरै इन्डानेसियामा यस्तै युवा आन्दोलन चल्दैछ । यस्तो आन्दोलनले बंग्लादेशमा त हसिनाको तानाशाही सत्ता फ्याक्यो पनि । यसैले होला सर्वसत्ताबादी शासक यस्तो आन्दोलन देखेर हमेशा भयभीत हुन्छ , युवाहरुलाई लान्छाना पनि लगाउँछ र बर्बर दमनको बाटो लिन्छ । यहाँको सरकारले पनि त्यस्तै बर्बरता देखायो, तर सकेन । बुढो र करुप्ट सरकार तिमीले छोड्नै पर्थ्यो, सदाका लागि छोड । अब युवाहरुलाई सत्ता हस्तान्तरण गर्नैै पर्छ । अर्को विकल्प छैन । यो समयको माग पनि थियो ।
नेपालका पपुलिष्ट र झोले राजनीति
एकथरी सत्तापोषित बूद्यिजीबी भन्छन्, नेपालको जेन–जी पपुलिष्ट छ रे । यस्तो झुटको हौवाबाजी सरकारी तवरले नै चलाइएको हो । तथ्यमा हेर्दा के देखिन्छ कि नेपालको जेन जेड भर्खरै बढीमा सत्ताइस वर्षको भयो । पचासको दशकमा जन्मेको यो नाति पुस्ताले माओवादी जनयूद्यसम्म देख्यो होला । खासमा यसले वि.सं. २०६३ पछि गणतन्त्रकाल राम्रै गरी भोग्यो । संसदीय कालखण्डमा भएको चरम पार्टीगत राजनीति, आर्थिक भ्रष्टाचार र लूटतन्त्रको विरुद्ध क्रान्तिमा लागेको माओवादी आन्दोलन र यसको प्रतिफलमा आएको गणतन्त्रबाट देशमा केही उपलब्धी भएको पनि देख्यो । देशले संघीयता, गणतन्त्र, नयाँ संबिधान र समाबेशी लोकतन्त्र पायो । महिला, आदिबासी, जनजाति सिमान्तकृतका अधिकार केही बढाइए पनि । अब देशको आर्थिक बिकास र औद्योगिकरणसहित समाजबादको यात्रा तय गरिने भनी संविधानमा लेखियो ।
तर, बिडम्बना देश झनै राजनीति अस्थिरतातिर गयो । देशको आर्थिक रुपान्तरण भएन, कृषिको ब्यवसायीकरण भएन, उद्योग कलकारखाना खूलेनन, भष्ट्राचार ज्यादै बढयो र चरम बेरोजगारी त्यस्तै बढयो । बिना उद्योगधन्दा नेताहरु र तीनका सन्तान मात्रै अरबौंका धनी भए । सर्वसाधरण युवाहरु बिदेश पलायन हुनू बाहेक अरु देखिएन । भर्खरै उदाउँदै गरेको युवा पुस्ताको सपना झणभरमा तुहाइदियो यहाँको भ्रष्ट शासन प्रणालीले । यहाँनिर बारम्बार प्रश्न उठ्छ – नेपालमा यस्तो न्यून रोजगारी, कम आय, मास गरीबी र उच्च विषमता कसरी आयो ?
राजनीतिक नेता मात्रै अरबपति बन्ने तर आम मेहनतकश जनताहरु गरीबीमा जाकिने ? यस्तो सामाजिक अन्यायको कारण खोज्यो यही जेन जेडले । र, पत्ता लगायो कि यो सबै बुढो र बुमर राजनीतिक पुस्ताको नालायकी र भ्रष्ट्रशासनले गर्दा भएको हो भन्ने । यसैकाविरुद्ध यो आन्दोलन उठाएको हो उसले, जो समस्या उठायो त्यो यर्थाथपरक र समाजको बास्तविकतामा आधारित छ । तर, गफाडी राजनेताले युवाहरु पपुलिष्ट भए भनेर लगाएका आरोप निराधार लाग्छन् । युवामाथिको यस्तो आरोप यो सरासर गलत हो ।
पपुलिज्म के हो ? नेपालका पपुलिष्ट को हुन् ? भन्ने अध्ययनतिर यसो हेरौँ । पोलिटिकल थियौरी अफ पपूलिज्म (२०१९) मा प्रा. नदिया उरुबान्तीले राइट विङ र लेफ्ट विङ गरी मूलतःदुई खाले वैश्विक पपूलिज्म (लोकप्रियताबाद) उल्लेख गरेकी छन् । राइट विङमा क) राष्ट्रवादी पपुलिष्ट ख) इथ्नोनेसनलिष्ट ग) भद्र–अथोरिटारियन पर्छन् भने लेफ्टमा क) सुशासनबादी पपुलिष्ट ख) यूटोपियन–समाजवादी पपुलिष्ट पर्छन् । यी वर्गहरु भित्र धेरै उप–प्रशाखाहरु र मिश्रित प्रारुपहरुका पपूलिष्ट हुनसक्ने भनेको पनि देखिन्छ । जस्तोः डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, लूला दा सिल्भा र केही यूरोपियन पपूलिष्टहरु हेरौँ । यिनीहरु फरक-फरक पृष्भूमिका आधारमा राष्ट्रिय, सामाजिक–आर्थिक–साँस्कृति बदलाव ल्याउने प्रतिद्धताका साथ उदाइरहेका छन् ।
अब नेपालतिर हेर्दा के देखिन्छ भने साच्चै यहाँका पपूलिष्ट भनेका अति प्रौढ पुस्ताका हाबादारी नेतृत्वहरु हुन भन्न सकिन्छ । जसले सदैव काल्पनिकता, अवास्तविक र झुठा आश्वासन दिएर आमजनताहरुलाई भ्रमित पारे र लठ्ठ पारे । तीनले सत्ता पाउँदाखेरी यो तीस वर्षमा एकदिन पनि यर्थाथवादी भई देश र जनताका सामाजिक–आर्थिक समस्याहरु हल गरेनन् र कहिल्यै पनि आम जीवनयापन माथि उठाउने सवालहरु हल गर्नपट्टि लागेनन् । उनीहरु राष्ट्रको गरिबी, भोकरोग, बेरोजगारी, अशिक्षा तथा पिँधका वर्ग उपर परेको दलन र अन्याय जस्ता समस्याहरु हल नगरी यी बास्तविक समस्यालाई विषयान्तर गर्दै काल्पनिक समाजबादी र राष्ट्रबादी पपुलिष्ट हुन खोजे ।
यसमा सबैभन्दा बढी जनता झुक्काउन सफल भए– निर्बतमान सत्ताधारीका साथै पूर्व दुई प्रमहरुले । खासमा यिनी नेतात्रय समाजका बास्तविक मद्दाहरु विषयाान्तर गर्न चतुर र पपुलिष्ट भएकोबारे पुष्टि हुने एक दुई उदाहरण हेर्नुस् पर्याबरण ध्वस्त पार्ने डोजरे विकास र भ्यू टावरबाटै सम्बृद्धि आउने कुरा, रामजन्मस्थान र ठोरीका कुरा, शिव चाम्लिगंका कुरा, कोरोनाकालको बेसारे तर्क र आन्तरिक उपनिबेशबाट मधेशको मुक्ति अनि आदिबासी समाबेशिताको रंगीन सपना देखाइएका चार्तुयकलाबाजी ।
अझ डरलाग्दो एमसिसिको स्वीट चक्लेट, ल्यापटपे कमाई, संसद् विघटन र पार्टी विभाजन अनि लिपुलेखका राष्ट्रबादी कुरा जो महाकाली सन्धी गर्दा दुइ नेताहरुले आफैँले गरेको राष्ट्रघाती धब्बालाई कसरी क्लिन चिट दिने भनेर निकालिएको भ्रामक इस्यू हो भनी धेरै बूद्धिजीवीहरुले निरन्तर भनेका पनि छन् ।
हुन पनि हो, नेपाली जनताले वि.स. २०४८ भन्दा अगाडीबाटै लिपुलेक, कालापानी र लिम्पीया नेपालको भूभाग हो भनेको भनै थियो, कालीनदीको शीरदेखि पुछारसम्म सिमाना एकिन नगरी भारतीय दबाबमा त्यसरी महाकाली सन्धी गर्न हुन्नथ्यो भनेको पनि हो । तर तीनैले महाकाली सन्धी गरे, सिमाना बेचे र राष्ट्रघात गरे । लौ आज चिप्ला कुरा जनताले कसरी पत्याए ? के सधैँ जनताले पत्याउलान् ? हो, यस्तैगरी निरकुंश, भ्रष्ट्र, आसेपासे, क्लेप्टो शासकवर्गले देशको गरीबी, बेरोजगारी र असमानता, लोकतन्त्रको प्रबलीकरण जस्ता बास्तविक आन्तरिक समस्याहरु हल गर्न छाडेर परिकल्पित बाह्य घटनामा ध्यान मोड्न सक्छ भने त्यो नै पपूलिज्म पोलिटिक्स हो, जो मीठो राजनीतिक चक्लेट, क्रान्तिकारी सामाजिक भ्रम र दैनिक समस्याको मृगतृष्णा बाँड्न सफल हुन्छ । अहिले हेर्नोस् त, भर्खरैको आन्दोलन अघि सामाजिक सन्जाल प्रतिबन्ध बारेमा राष्ट्रबाद र सार्बभौमिकता उछालेर कति संबेदनहीनता देखाइएको छ त्यही पपूलिज्म आर्दशबादको ढोगी दिमागले । यी सबै नेसनलिष्ट पपूलिज्म (राष्ट्रबादी लोकप्रियताबाद) का झोले भेरियन्टहरु हुन् ।
यस्तो लोकप्रियताबादको पैरबी नेपालका सबै राजनीतिज्ञले गर्ने गर्छन् । अब जनताले यर्थाथता बुभ्mनै पर्छ, सत्य जान्नै पर्छ । बास्तबमा यो कसैले भन्नै पर्दैन कि देशका सबै नागरिकहरु राष्ट्रबादी हुन्छन् भनेर । हामी सबै राष्ट्रबादी हौं र आफ्नो देशप्रति दृढ छौं । तर यस्तो काल्पनिक हल्ला फिजाइएको छ जनताहरुका बीचमा कि म राष्ट्रबादी अनि अरु गैरराष्ट्रबादी रे । छि छि, बैचारिकी कमजोर भएका सर्बसत्ताबादीहरु यस्तो गर्छन् । यस्ता काल्पनिकी लोकप्रियताबादीले कहिले पनि उत्पादन शक्तिको विकास र उत्पादन सम्बन्धमा क्रान्तिकारी फेरबदल ल्याउन सक्दैनन् अनि समाजको बास्तविक समस्या हल पनि गर्दैनन् ।
उल्लेखित विवरणहरुका आधारमा के भन्न सकिन्छ कि जेन–जेड बास्तविक समस्या लिएर आएका छन् आज । उनीहरु काल्पनिक र पपूलिष्ट होइनन् । पपूलिष्ट त पार्टीका झोलेहरु र ती झोलेका बा–अंकल–दाइहरु देखिएका छन् अनि सामाजिक सन्जालमा चौबिसै घण्टा भ्रम र झुठको खेती गरिरहेका गोयबल्स शैलीका साइबरी झोले कम्युनिष्टहरु पनि यसका मतियार भएका छन् ।
जेन–जी र समाजबादको यात्रा
लामो समयसम्म राणाकालीन र पञ्चायती सामन्ती निरंकुशता ब्यहोरेको हाम्रो समाजले स्वतन्त्रता र लोकतन्त्र चाहिरहेको थियो पनि । यसरी नै यहाँको आर्थिक समानता र थुप्रै सामाजिक विभेदहरु पनि अन्त्य गर्न चाहन्थ्यो । यसका लागि ऐतिहासिक जनसंर्घष, जनआन्दोलन र जनयुद्धसम्म गर्यो हाम्रो विगतको एक्स, वाइ र बुमर पुस्ताले । समाबेशी लोकतन्त्र र समाजबाद प्राप्तिका लागि धेरै राजनीतिक दलहरुलाई साथ पनि दिए उनीहरुले । मूल रुपमा कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरुप्रति जनताहरुले सामाजिक रुपान्तरण गर्लान भन्दै निकै आशाबादी पनि भए । तर, यी सबै राजनीतिक दलहरु आफ्नो स्वार्थसिद्धिमा लागे र यिनीहरु बिग्रिए र जनतालाई ठूलो धोका दिए । सर्बत्र कुसाशन र भष्ट्राचार बढाए । देशमा राजनीति नै उद्योग जस्तो भयो । सामान्य राजनीतिक ब्यक्ति पनि करोडौँको बह्रलूट गर्न सक्ने भए, कानूनको धज्जी उडाउँदै यिनले हाकाहाकी अर्बौँ भ्रष्टाचार गर्न सक्ने भए । लोकगायक पशुपति शर्माले एउटा गीतमा भने जस्तो 'लुट्न सके लुट कान्छा भने जस्तै गरे, देश लुटिरहे ।'
तर, अर्कोतिर आम जनताहरु गरीबी, बिपन्नता, अभाव र मीटर ऋणको पासोमा पर्दैै गए, लाखौँ नवयुबकहरु रुँदैरुँदै मलेसिया, साउदी–कतार, खाडी र बिदेश जान बाध्य भए । देशका नदीनाला, प्राकृतिक श्रोत, जमिन जग्गा, सार्बजनिक सम्पति, उद्योग कलकारखाना, स्कूल, कलेज र वित्तीय संस्थाहरु भने नेताहरुको कब्जामा भयो । यो सामाजिक अन्यायको पराकाष्टा थियो । यही अन्याय बिरुद्ध जेन जेडले बिद्रोह गरेको हो ।
पुराना राजनीतिक पार्टीहरुको मूल नेतृत्व ओली– देउवा– प्रचण्डले जनताका लागि धेरै गर्न सक्थे तर पटक्कै गरेनन् । आज यसै कारण जेनजेडले राजनीति पार्टीलाई पनि रुचाइरहेको देखिन्न र यि प्रति चरम घृणा गर्छन् । यो जेन जी पूस्ताले नेपाली समाजलाई अब यस्तो दलीय स्वार्थको दूष्चक्रमा पर्नबाट अन्त्य गर्न खोजेको छ अर्थात् समाजलाई डिपोलिटिसाइज गर्न खोजेको देखिन्छ । यसैले यो नयाँ बहस अब समाजमा भित्रिएको पनि छ कि कति मात्रामा राजनीति गर्ने र आर्दशमय, सेवामूलक नैतिक राजनीतिलाई कसरी बढावा दिने भन्ने बारेमा ।
यतिखेर अधिकांश सञ्जालहरुका अन्तर्वार्तामा आएअनुसार यो संविधा, विधिप्रणाली र सामाजिक मापदण्ड मान्ने जेनजीले थोत्रो प्रशासनिक–राजनीतिक संयन्त्र जसरी पनि अन्त्य गर्ने भनेको देखिन्छ । जेनजीका कुरा सन्दा यो पुस्ता नयाँ राजनीतिक चेतना लिएर आएको छ । राजनीति गर्ने भनेको दलको झोले कार्यकर्ता र नेतृत्वको दास बन्ने होइन । नीतिगत सृजनात्कता र आलोचनात्मक चेतले निपूर्ण पनि हुनुपर्छ, दर्शन ज्ञान र विज्ञान जानेको हुनुपर्छ रत देशलाई उसले केही दिन सक्छ । देशबाट लिने र केबल देश लुट्ने राजनीति अब अन्त्य हुनैपर्छ । यो एकदम ठीक छ । यसरी हेर्दा जेनजी पुस्ताले प्रगतिशील र कल्याणकारी राजनीतिक बिचार–दर्शन बोकेको छ भन्न मिल्छ, त्यो भनेको उच्चतम सूधार र राज्य प्रणालीलाई सामाजिक न्यायसँग प्रभावकारी रुपले जोड्ने भनेको बुझ्न सकिन्छ पनि । यसलाई जेन–जेडको डेलिभरी समाजवादको प्रारुपमा ब्याख्या गर्दा पनि हुन्छ । जे होस् जेन–जी जुनसुकैखाले प्रतिगामी, अराजकताबादी र निरंकूशताजन्य विचारको सर्मथन गर्दैन र यो अग्रगामी र रुपान्तरणकारी पुस्ता नै हो भनेर बुझ्न जरुरी छ ।
अन्त्यमा, प्रारम्भमा प्रा. डेरेन एक्मग्लू र जे. रबिन्सनले भने जस्तै यो देश विफल हुन नदिन र नेपाली समाजको नव निर्माण तथा समृद्धिको यात्रालाई तीव्रतामा अघि बढाउने अभिभारा लिएको यस नयाँ पुस्ताले सामाजिक न्यायसहितको प्रगतिशील लोकतन्त्र, उल्लेख्य जनसहभागिता, तीव्र आर्थिक वृद्धि हुने औद्योगीकरण र उच्च परकेपिटा, भ्रष्टाचाररहित सुशासनका संस्थागत संरचनाहरु, हाइटेक र स्मार्ट ब्युरोक्रेसी एवं स्मल पोलिसी पार्लियामेण्ट रहने रुपान्तरणकारी लोकतन्त्र ९ट्रान्सफर्मेटिभ सोसल डेमोक्रेसी० को खाका बनाउँदै यसलाई जवाफदेही कार्यान्वयन गर्न सक्ने पनि बनाउने गरी प्रभावकारी संवैधानिक र नीतिगत प्रावधानहरु तथा आवश्यक शासकीय औजारहरु जनसमक्ष ल्याउन अब ढिलो गर्न हुँदैन । राष्ट्र निर्माणको यस्तो रुपान्तरणकारी सोच बोकेको नेपालको जेन–जेड पुस्ताको यो बिद्रोह र यो क्रान्तिलाई फेरि पनि हृदयदेखि धन्यबाद छ ।
प्रतिक्रिया दिनुहोस