आदरणीय जेन जी :
'यो लेख एक नेपाली नागरिक भएर लेख्दै छु। नेपालको सुनौलो भविष्य ल्याउन खोज्नु हुने र प्रयास गर्नुहुने हजुरहरुले सकारात्मक रुपमा लिनु हुनेछ भन्ने पुरापुर विश्वास लिएर लेख्दै छुँ। १ वर्ष भयो, लेख लेख्न थालेको-कविता र लेख छापिएका पनि छन् तर यो लेख केही भिन्न हुनेछ, यसमा कथा, भावना, इतिहास सबै आउने छ।'
हजुरहरु मेरै उमेर समूहको हुनुहुन्छ, तसर्थ तिमी भनी सम्बोधन गर्न पनि मिल्थ्यो, यद्यपि, मेरो देशको नव सुनौलो भविष्य ल्याउन यत्रो ठुलो हात भएको हजुरहरुलाई तिमी भनी सम्बोधन गर्नु मलाई उचित लागेन। यो लेख लेख्ने लेखकको एक मात्र परिचय भनेको देशको एक नागरिक-नेपाल नै आफ्नो भूत, वर्तमान र भविष्य हो भनी मान्ने एक नेपाली मात्र हो। यो लेखले मेरो मनको विचार शान्त गरौला वा नगरौला, हजुरहरुको केही प्रश्नको उत्तर भने बन्नेछ भन्ने आशा भने छ।
केही वर्ष अघि टिकटक बन्द भएको थियो, मैले कहिले टिकटक बनाएकी थिइन्, बनाउने योजनामा पनि थिइन यद्यपि, टिकटक बन्द गर्नु सरकारको विचारहीन योजना जस्तो मात्र लाग्यो, यो कुरा फेसबुकमा पनि लेखेकी थिएँ। केही दिन अघि फेसबुक, इन्स्टाग्राम, युटुब, व्हाटस्याप, वी च्याट, लिंकेदीन आदि बन्द हुदा मलाई नराम्रो लागेन। मैले बन्द हुनु भन्दा एक दिन अघि मात्र सबै स्वयम् बन्द गरिदिए। सरकारले त नियमन गर्न खोजेको थियो, एक देशको आग्रह नमान्ने गरेको त्यो कम्पनीदेखि चित्त दुख्यो, देशलाई एक एपले हेप्ने भएछ, आखिर मेरो देश यस्तो भयो भनी नराम्रो लाग्यो, तर समस्या नयाँ थिएन। देश स्वर्ग जस्तै छ, यसको राजनीति कमजोर छ भन्ने कुरा त मैले बुझेकै कुरा थियो, जम्मा भविष्यमा देशको राजनीति सुधार्नु छ भन्ने विश्वास लिएकी थिएँ।
हजुरहरुले भ्रस्टाचार विरुद्धको आन्दोलन गर्न लाग्नु भएको कुरा अवगत थियो। 'जेनजी' भन्ने शब्द निकै बदनाम थियो सामाजिक सञ्जालमा केही मतलब नहुने, भावना नहुने भनी चिनिने जेनजीले 'हामीलाई देशको मतलब छ, हामीलाई भ्रस्टाचार गलत भन्ने थाहा छ, हामीलाई भविष्यको चिन्ता छ' भनी सन्देश दिन लाग्नु भएको कुरा तारिफ योग्य छ।
एक गाडी समातेर, २० रुपैयाँ भाडा तिरेर म आउन सक्थेँ। केही वर्ष अघि एक टेलिभिजनले गरेको कार्यक्रममा 'भ्रस्टाचार सक्काउन, म इमान्दार भइ काम गर्नेछु र २०८४ सालमा चुनाव लड्नेछु' भनेर घोषणा गरेर आएकी थिएँ। कक्षा कोठामा एक मोनिटरको चुनाव जित्न नसक्ने म, देशको सांसद हुन्छु भनी विश्वास लिनु मेरो लागि ठुलो परीक्षा थियो। यद्यपि, देशको माया मलाई औधी थियो र 'घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्' भनी मान्ने मान्छे म के बुझ्थेँ भने 'समस्याको कारण छ, कारण भए निवारण पनि छ।' राजा पृथ्वी नारायण शाह र गौतम बुद्ध नै हाम्रो देशको इतिहास हुनुहुन्छ, यी दुवै कुरा मनन गरेर भविष्यमा भ्रष्टाचार रोक्न गर्नुपर्ने काम कर्तव्य गर्ने नै छु, आज गएर सम्भव हुँदैन भनी सोचेर यस्सै बसेँ। आज किन गइनछु भनी दुःख भने लाग्छ।
समाचार हेर्दै थिएँ, थाहा भयो यत्तिका मान्छेको ज्यान गयो, विद्यार्थी र बालबालिकालाई गोली हानी हत्या गरियो भने सार्है धेरै पीडा भयो। बालबालिका देशका भविष्य हुन् , उनीहरुको ज्यान जाने कुराले निकै धेरै मन छोयो। आज मृत्यु एक मान्छेको हैन, एक नागरिकको भएको छ, जुन नागरिक बिना देश हुँदैन भनी थाहा छ। ज्यान गएको कुराले निकै समस्या गरायो।
यद्यपि, भिडन्तमा छिर्ने मान्छे कोही अरु थिए, उनीहरुले विधि तोडे, हजुरहरुले त शान्तिपूर्ण आन्दोलन गर्न लाग्नु भएको थियो भन्ने विश्वास पनि थियो। आफ्नो साथीहरु मर्नु भएको देख्नु सहज थिएन भन्ने पनि मलाई थाहा छ। देशको लागि ज्यान दिएर सहिद हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी अब देश बनाउन जे जस्तो सहयोग चाहिन्छ, म गर्ने छु भन्ने दृण अठोट लिएँ। मेरो पहिचान सदैव देशसंग रहेको छ। मलाई पहिला पनि मान्छेले भेटेर पढाई सकिएपछि विदेश जाने हो भनी सोध्दा 'हैन, म त देश बनाउने हो' भनी जवाफ दिने गर्दथे। यो घटना पछि आफ्नो निर्णय झनै बलियो बनाए।
यसरी सबै कुरा हुँदा भोलिपल्ट बिहान देखि आन्दोलनले अर्कै रुप लिएको थाहा भयो। कसैका घर लुटिए, कसैमाथि कुटपिट भए, कतै आगो लगाइए, कतै टायर बालिए, नेताहरुका राजीनामा दिए, के भए भनी समाचार हेर्दा सिरिङ्ग भयो। यसरी त वातावरण प्रदूषण हुन्छ, यसरी त निर्दोष मान्छे पनि पर्छन्, लुटपाट त गलत हो भन्ने भान भयो।
व्यक्तिगत र राष्ट्रिय सम्पत्ति नोक्सान हुँदा निकै पीडा भयो। सानो हुँदा भएका चक्का जाम याद आए, डरको माहोल हुन्थ्यो। नेपालको संविधान आएपछि यस्तो हुँदैन भन्ने आशा थियो, यो पालि के भएको यस्तो भन्ने पनि भान भयो। विश्वास थियो, जेनजी समूह यति अराजक छैन, यो पक्कै कोही अरु व्यक्तिले फाइदा उठाएको हो भनी। आज पनि सत्य थाहा छैन, तर मनमा विश्वास छ, हजुरहरु शान्ति प्रेमी हुनुहुन्छ भनी, आखिर गौतम बुद्धको देशको देशभक्त नागरिक कहाँ यस्तो गर्नुहुन्छ र ?
आजसम्म के भएको हो पत्तै थिएन, के हुँदै छ, कसरी व्याख्या गरौँ भनी सोच्दै थिएँ । यद्यपि, आज इमेज च्यानलमा आज हजुरहरुको अन्तर्वार्ता हेर्ने मौका जुर्यो। सबैजनाको बोलीमा केही महत्त्वपूर्ण कुरा भेटें तर अन्त्यमा सुदन गुरुङ ज्युको कुराले महसुस गरायो कि उहाँले र मैले चाहेको कुरामा त कुनै फरक रहेनछ ।
वातावरण मेरो पनि प्रमुख विषय हो। वातावरण संरक्षण हुनुपर्छ भन्ने कुरा विश्वास गरेर नै मलाई सबैभन्दा मनपरेको मुद्दा नै निजगढ विमानस्थलको मुद्दा हो। म त वातावरण संरक्षणको कुरामा निकै सहमत भए। महिला अधिकार, सबैको कुरा निकै जरुरी लाग्यो। नेपाल वृद्ध आश्रम हुनु हुँदैन, नेपाली एकजुट हुनुपर्छ, मानवता हुनुपर्छ आदि सबै कुरा त मैले खोजेको कुरा हो, अझै शासक जोसुकै हुनुहोस्, नागरिकले हेर्नुपर्छ भन्ने कुरा त हामीले मानेको कुरा थियौँ। देश प्राथमिकतामा राख्ने देखि सबै कुरा नै हामीले खोजेको कुरा थियो। समानता हामीले पनि खोजेको कुरा थियो।
जेनजीले देशको मतलब गर्छ भनी देखाउनु, क्रान्ति गर्न जानु नै हजुरहरुको देशभक्ति थियो। हजुरहरुलाई जत्ति सम्मान व्यक्त गरौँ, त्यति कम छ। हार्दिक धन्यवाद छ जेन जी। यद्यपि, केही कुरा भने सम्झाउन जरुरी ठान्दछुस् महाभारतको यो कुरा सम्झाउँदा मिल्छ होला !
कलियुग कस्तो हुन्छ भनी खोज्न निस्कनु भएको पाण्डवलाई कृष्णले बुझाउनु हुन्छ : एक स्थानमा गाईले आफ्नो बाछालाई मायाले चाटिरहेको हुन्छ । तर बाछाको जिऊबाट रगत निस्किरहेको हुन्छ। कृष्णले बुझाउनु हुन्छस् गाईले माया गरेपनि कलियुगमा त्यो मायाले बाछालाई संवेदनशील बनाउँछ, तसर्थ उसको लागि त्यो माया रगत निस्कने कारण हुन्छ।
निसंकोच अभिव्यक्ति भन्ने किताबमा लेखिएको छ, 'देशभक्ति भनेको भावना नै हो तर देशभक्तिमा भावना मात्र भए, त्यो अराजकता हुन सक्छ, मान्छेले मान्छे मार्नु पनि ठिक हो भनी बुझ्न सक्छ' अर्थात् भावनामा तर्क पनि मिसाउनु होला भनी सल्लाह दिन चाहान्छु।
मैले स्वयम् एक लेख लेखेकी थिएँ : राजनीति विचार र नैतिकताको संगम हो - राजनीति गर्दा राज गर्ने नीति बनाउने कि राज्यको नीतिरु भनी। इतिहासमा निरंकुशता हुदा त्यहाँ नैतिकता थिएन, त्यहाँ राज गर्ने नीति बनाइन्थ्यो, तसर्थ तपाई र हामीजस्ता नागरिकले सहन पर्यो, हाम्रो देश कमजोर भयो, पढ्न गएका बालिकाको आत्महत्या पछि 'तिमीहरुको देश गरिब' भन्ने कुरा सुन्न पर्यो, एक एपले दर्ता हुन मानेन, भ्रस्टाचार भयो आदि इत्यादी। अब हजुरहरुले छान्ने शासकले त्यसो गर्नुहुन्न भन्ने विश्वास राख्न म तयार छु। अब नैतिकता कायम हुनेछ भनी पनि मान्नेछु तर विचार खै ?
अब देश बनाउने विचार पत्ता लगाउन आवश्यक छ। हाम्रो संविधानको महत्त्व बुझिदिनु र त्यति सहज भाषामा बुझाइदिनु भएकोमा धन्यवाद छ हजुरहरुलाई। संविधान देशको मूल कानुन हो, यो कानुनमा चाहिने संसोधन ल्याउला, तर खारेज गर्दैनौ, हाम्रो देशलाई संविधान चाहिन्छ भनी बुझिदिनु भएकोमा धन्यवाद छ। अब देशमा प्रधानमंत्री जो सुकै भए पनि विचार आवश्यक छ। अब छिट्टै बौद्दिक व्यक्तिलाई राखी, संविधान बमोजिम को हुन सक्छ त नयाँ नेतृत्व भनी छलफल गर्नुहोस। क्रान्ति हजुरहरुले गरिसक्नु भयो, अब क्रान्ति भित्रको क्रान्ति कसरी गर्ने भनी प्रश्न गर्नुहोस। हाम्रो देशको झण्डामा भएको सुर्य चन्द्रले बुझाउँछ, 'जबसम्म सूर्य चन्द्र रहन्छ, नेपालको अस्तित्व रहन्छ', अब हाम्रो देश कस्तो बाटो हिड्नु पर्छ र कसरी भनी छलफल गरे हजुरहरुको र हाम्रो सपना पुरा हुन्छ।
जेन जी, देश भित्रको यो उथुलपुथुलमा वैदेशिक हस्तक्षेप धेरै हुन्छ, यो संकटको बेलामा त्यस्ता हस्तक्षेपलाई रोक्न पनि विचार आवश्यक छ। मलाई हजुरहरुको नैतिकतामा जति विश्वास अन्त कतै छैन, तर हामी सोझो छौं, हामीलाई थाहा नभएका धेरै कुरा भइरहेका हुन्छन्, त्यसरी आक्रमण गर्ने बाहिरी षड्यन्त्र गर्ने मान्छेले हामी कमजोर भएका बेला हाम्रो नेपाल आमामाथि केही गलत कदम उठाए पनि हामीले आफैलाई कदापि माफ गर्न सक्ने छैनौँ, तसर्थ अब छिट्टै विज्ञ बोलाई देशलाई कस्तो विचार चाहिन्छ भनी छलफल गर्न सुरु गर्नुहोस्। विचार एक भए, प्रधानमन्त्री हुन हजुरहरुले छान्नु भएको कुनै पनि व्यक्तिमा फरक हुँदैन, आजको आवश्यकता बाहिरी हस्तक्षेपबाट नेपाललाई मुक्त गराउन हो, हाल प्रधानमन्त्री को हुने, कुन उमेरको हुने भन्ने कुराभन्दा धेरै आज नेपाललाई कसरी जोगाउने भन्ने प्रश्न महत्त्वपूर्ण छ।
देशको एक नागरिकको यत्ति बिन्ती सुनिदिनुहोस् ! 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' जय मातृभूमी !
प्रतिक्रिया दिनुहोस