२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तरुण दल र नेविसंघलाई प्रश्न : सिंहदरबार जल्दा र नेतामाथि आक्रमण हुँदा कहाँ थियौँ ?

शनिवार , आश्विन ४, २०८२

– याम बहादुर मल्ल (रामकृष्ण)

काठमाडौं । हालैको जेनजी आन्दोलन र त्यसमा भएको हिंसात्मक घुसपैठले देशलाई ठूलो आघात पुर्याएको छ । सार्वजनिक सम्पत्ति जले, निजी सम्पत्तिहरू ध्वस्त भए, र इतिहासका महत्वपूर्ण संरचनाहरू खरानीमा परिणत भए । सिंहदरबारदेखि संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति तथा प्रधानमन्त्री निवाससम्म जलेर नष्ट हुनु केवल भौतिक क्षति मात्र होइन, राज्य संरचनामाथिको गम्भीर आक्रमण हो ।

जेनजीले उठाएका केही मागहरू जायज थिए भन्ने विषय विवादित छैन । तर ती मागहरूको आडमा भएको तोडफोड, आगजनी र हिंसाले न त लोकतन्त्रलाई मजबुत बनायो, न त जनताको अधिकारलाई सुरक्षित गर्यो । बरु निर्दोष युवाहरूको ज्यान लिने त्रासदी निम्तियो ।

तर, यस संकटमा एउटा महत्वपूर्ण प्रश्न उठेको छ, देशकै ठूलो दल नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघ कहाँ थिए ?

नेतामाथिको आक्रमण र भ्रातृ संस्थाहरूको मौनता

२४ गते भएको हिंसात्मक घटनामा पार्टी कार्यालयहरूदेखि नेताहरूको निजी घरसम्म जलाइयो, तोडफोड गरियो । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत कुटपिटमा परे । तर, यस्ता घडीमा पार्टीका युवाशक्ति ठानिएका तरुण दल र नेविसंघ सम्पर्कविहीन देखिनु रहस्यमय मात्र होइन, आपराधिक बेवास्ता सरह हो ।

युवासंस्थाहरूको अस्तित्वको औचित्य के हो ? के उनीहरूको दायित्व केवल पद प्राप्ति, नेतासँग नजिकिने, वा स्वार्थ साधनमै सीमित छ ? किनभने, संकटको घडीमा ढाल बन्ने जिम्मेवारी पन्छाएर मौन बस्नु वा सम्पर्क नै टुटाउनु संस्थाको मूल उद्देश्य र निष्ठामाथि नै प्रश्नचिन्ह हो ।

निष्ठा र नैतिकताको प्रश्न

पार्टीका नेतासँग वर्षौँदेखि सानोतिनो स्वार्थ, फाइदा र अवसर उठाउने यी संगठनहरू जब वास्तविक संकट आइपुग्छ, त्यतिबेला पलायन हुन्छन् भने तिनको अस्तित्वप्रति नै सन्देह हुन्छ । पछिल्लो घटनाले देखाएको अवस्था यही हो ।

आज उनीहरूले आन्दोलनकारीलाई कारबाही गर्ने धम्की दिइरहेका छन्, तर वास्तविकता के हो भने त्यही आन्दोलनकारीको अगाडि नेताहरूलाई असुरक्षित अवस्थामा छाड्ने काम यिनै संस्थाले गरेका छन् ।

यदि तरुण दल र नेविसंघ साँचिकै पार्टीप्रति समर्पित, जिम्मेवार र आस्थावान् थिए भने, संकटको घडीमा उनीहरूले ढाल बनेर उभिनुपर्ने थियो । तर उनीहरूको अनुपस्थिति र मौनताले नैतिक धरातललाई कमजोर बनाइदिएको छ ।

अब सुधारको आवश्यकता

यो केवल तरुण दल र नेविसंघमात्रको समस्या होइन, समग्र नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको नै संरचना पुनर्विचार गर्ने बेला आएको छ । अब नारा र भाषणले मात्र हैन, व्यवहारमै इमानदारी र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने आवश्यकता छ ।

भोलिको राजनीति युवाहरूले मात्रै धान्न सक्छन् भन्ने सन्देश दिँदै आएको पार्टीले आफ्ना युवासंस्थालाई संकटमा असफल देख्नुभन्दा ठूलो विडम्बना अर्को हुँदैन । यसकारण, तरुण दल र नेविसंघले अब केवल औपचारिकता र स्वार्थको राजनीति होइन, पार्टी र नेताहरूको सुरक्षा, सिद्धान्तको रक्षा र लोकतन्त्रप्रतिको निष्ठा व्यवहारमै देखाउनु पर्नेछ । यही हो अबको यथार्थ र समयले दिएको चुनौती ।

(लेखक याम बहादुर मल्ल (रामकृष्ण) नेपाली कांग्रेस, गण्डकी प्रदेश सदस्य तथा युवा नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ