काठमाडौं । नेपालीहरूको महान् पर्व वडादशैं फेरि आइसकेको छ । बजारमा भीड छ, हरेकको घरमा रमझम छ । म पनि सात वर्षको छोरासँग सपिङमा जानुपर्ने दबाबमा छु । ऊ भन्छ, “मलाई मन परेको लुगा किन्दिनुपर्छ है ।”
उसको त्यो मीठो जिद्दी सुन्दा मेरो मन भने २५ औं वर्षअघिको आफ्नै बाल्यकालतिर फर्कन्छ । ती दशैं, जब नयाँ कपडा भन्ने कुरा हाम्रो लागि सपना जस्तै थियो ।
हाम्रो घरमा १२ जना परिवारका सदस्य—दुई आमा–बुबा र १० जना छोराछोरी । जाडोमा न्यानो कपडा जोहो गर्नै मुस्किल, तातो खाना वर्षभरि जुटाउन धौधौ । पढाइ खर्च, खेतको मल, बिउ, अनि चाडपर्वको लागि केही बचत—सबै आफैंमा ठूलो चुनौती थियो । आमाबुबाको संघर्षले हाम्रो बालापनको रङ नै फरक थियो ।
मलाई अझै स्पष्ट सम्झना छ—जमरा राखिसकेपछि टोलभरि कपडा सिउने दमाई बा आउनुहुन्थ्यो । गाउँका घरमा रंगीचंगी कपडाको गन्ध मिसिँदा हाम्रो आँगन भने पुरानो कपडा टाल्ने र स्कुलको ड्रेस सिलाउने धपेडी हुन्थ्यो । दमाइ बा हतारमा दिउँसोको उज्यालो मन्द परेपछि बत्तीको हल्का उज्यालोमा पनि सुईको काँटामा धागो तानिरहनुहुन्थ्यो । उहाँलाई पनि कपडा सिलाएको जेलाले दशैं टार्नुपर्ने बाध्यता थियो ।
हाम्रो नयाँ लुगा खै ? भनेर आमालाई प्रश्न गर्दा आमाको जवाफ सधैं एउटै हुन्थ्यो, “छोरी, स्कुलको ड्रेस पनि फाटिसकेको छ, यही सिलाउने हो । दशैंमा पनि यही लगाउने हो । टिका जमरा लगाउँदा कपडामा नखसाल्नु, नत्र महिलो देखिन्छ ।” आमाको स्वरमा माया थियो, तर गरिबीको यथार्थ पनि त्यहीँ मिसिएको हुन्थ्यो ।
गाउँका साथीहरू रातो, पहेंलो कपडामा टल्किँदा म चाहिँ आकासे रंगको सर्ट र नीलो स्कर्टमै सजिन्थेँ । कहिलेकाहीँ रिस पनि उठ्थ्यो—किन हामीसँग नयाँ फ्रक, जिन्स छैन ? साथीहरू चम्किलो जुत्तामा हिँड्दा म पुरानो चप्पलमा धुलो उडाउँदै हिँड्थेँ ।
तर त्यो स्कुलको ड्रेसभित्रको न्यानोपन भने अद्भुत थियो । बुबा भन्थे, “नयाँ कपडा त यही हो नि, राम्रै छ तिमीलाई ।” बुबाको शब्दमा गरिबीको स्वाभिमान मिसिएको हुन्थ्यो ।
दशैंको बिहानसँगै गाउँको सुवास पनि अचम्मको हुन्थ्यो । पातलो कुहिरो, बारीका फूलको सुवास र पाक्दै गरेको धानको गन्धले पुरै वातावरणलाई पवित्र बनाउँथ्यो । हाम्रो गाउँको चोकमा बाँसको ठूलो पिङ हालिन्थ्यो । पालो कुर्दा घण्टौं बित्थ्यो । स्कर्ट हावामा उड्दा मनमा चुलबुलाहट उठ्थ्यो—“म पनि कति राम्री देखिएकी छु होला ।”
टिका लगाउने दिन घर–घर घुम्दा स–साना नोटहरू जम्मा गर्ने रमाइलो अर्कै थियो । तर, एकपटक मेरो साथ लागेर गएकी गाउँकी दिदीले मेरा १० र २० का नोट लुकाएर ५ मात्र हातमा राखिदिँदा मन अमिलो भएको याद अझै छ ।
घर फर्केपछि आमाले २० र १० का नोट देखाउँदै सोध्दा मात्र मैले बुझें— मिठाससँगै धोका पनि हुने रहेछ । त्यसपछिको दशैंमा म दिदीसँग टिका लगाउन हिँडिनँ । त्यो अनुभवले मलाई पैसाको महत्व मात्र होइन, आत्मसम्मानको मूल्य पनि सिकायो ।
दशौं दिनको बिहान घरको पूजा कोठामा राखिएको पहेँलो जमरा, रातो टिका, अनि आमाको अनुहारको उज्यालो—यी दृश्यहरू अझै आँखा अगाडि ताजा छन् ।
बुबाको पसिनाले भिजेको अनुहार, आमाको कोमल हातले राखेको जमरा, अनि मेरो नीलो स्कुल ड्रेस—सबैले मिलेर दशैंलाई खास बनाउँथ्यो । गाउँकाले भन्थे, “वा, कस्तो चिटिक्कै परिछस् त !” त्यो सुन्दा मनभित्र अचम्मको गर्व पलाउँथ्यो—रंगीचंगी कपडा नभए पनि स्कुलको ड्रेसले हाम्रो गरिबीलाई लुकाएको जस्तो लाग्थ्यो ।
आज, जब बजार चम्किलो देख्छु । छोराका माग पुरा गर्छु । भित्र कतै त्यो पुरानो नीलो ड्रेसको गन्ध खोजिरहेझैँ लाग्छ । किनभने त्यही बाल्यकालको दशैंले मलाई सिकायो—खुशी किनेर होइन, मन मिलाएर बनाउने कुरा रहेछ । गरिबीले हाम्रो सपना सानो बनायो होला, तर आत्मसम्मान कहिल्यै सानो बनाएन ।
छोरो चम्किलो कपडा र जुत्तामा रमाउँछ्, मेरो मन भने टाढाको त्यो गाउँतिर उड्छ—जहाँ स्कुलको ड्रेसमै दशैंको सबै रंग समेटिएको थियो । बुबाको पसिना, आमाको माया, गाउँको चिसो बिहान, पिङको उडान, टोलका साथीहरू—सबै स्मृतिमा अझै पनि उस्तै ताजा छन् ।
दशैं हरेक वर्ष आउँछ, नयाँ चमक, नयाँ नयाँ शैली लिएर । तर मेरो लागि दशैंको वास्तविक स्वाद त त्यही पुरानो बाल्यकालमा बाँकी छ । जहाँ परिवारको माया र आत्मसन्तुष्टिको मिठास थियो । स्कुलको नीलो ड्रेसमा लुकेको त्यो सुनौलो खुसी समयको कुनै घडीले कहिल्यै मेट्न सकेको छैन । र, सक्दैन पनि ।
प्रतिक्रिया दिनुहोस