२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेतृत्वले चरित्र देखाउने निर्णायक घडी

मंगलवार , कार्तिक १८, २०८२

सामाजिक सञ्जालमा एउटा भावुकता र रणनीतिक गणित मिसिएको अपिल देखा पर्‍यो—एमाले अध्यक्ष केपी ओलीले पार्टी छाडेर गइसकेका पूर्वसहयात्रीहरूलाई ‘‘जहाँ भएपनि फर्किनुस्’’ भन्ने अनुरोध गरे। यसलाई सिधै भावुक आमन्त्रण ठान्नु भो भने, नेपालको राजनीतिक स्मृति अलि कमजोर भएको मान्नुपर्छ।

यति धेरै वर्ष पार्टीभित्र असहमतिको आवाजलाई ‘‘दुर्बलता’’ र ‘‘विद्रोह’’को नाम दिएर धमिलो बनाउने नेतृत्व एकाएक यति विनम्र हुने ? यो बदलिँदो मौसमले फूल फुलाएको होइन, सत्ता समीकरणको बादल देखेपछि पुरानो घरको ढोकामा चकचकी पुछेर ‘‘घर फर्क’’ भनिएको अवस्था हो।

राजनीतिमा भावना हुन्छ, तर भावना तब सक्रिय हुन्छ जब अंकगणित बनिरहेको हुन्छ। आज नेपालको सत्ता नक्सा फेरिन लागेको छ। समाजवादी–माओवादी एकताको सम्भावनाले पुराना गलियारा कसमसाउन थालेका छन्। नेतृत्वले महशुस गरिरहेको छ—जुन दिन आफू एक्लो देखिन्छ, त्यही दिन राजनीतिक आत्मा असुरक्षित महसुस गर्छ। त्यही मनोविज्ञानले अहिलेको अपिल लेखायो।

त्यसमा कुनै गलत छैन, राजनीति नै शक्ति सम्हाल्ने खेल हो। तर, शक्ति सम्हाल्ने हरेक प्रयास ‘‘राष्ट्र’’ र ‘‘जबज’’को नाममा ढाकछोप गर्नु त्यो बौद्धिक बेमानी हो। यसरी सिद्धान्तको नाममा निजी आकाङ्क्षा ओतप्रोत हुन्छन् भने सिद्धान्त कमजोर होइन, नेतृत्व कमजोर ठहर्छ।

यदि यो सचेत राष्ट्रवादी आग्रह नै थियो भने, एक वर्षअघि नै सुरु हुन्थ्यो—पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेको भद्दा अध्यायको आत्मपरक समाधानदेखि। संगठनमा योगदान पुर्‍याएका नेतामाथि यस्तो अवरोध राख्नु कुनै पनि अनुशासित दलको व्यवहार होइन। त्यो दिन ओलीको मुखबाट ‘‘संगठनमा अवमूल्यन भयो, सुधार गरौँ’’ भन्ने वाक्य निस्केको भए, आजको ‘फर्क’ को आग्रह विश्वासिलो लाग्थ्यो।

यति मात्र होइन, भदौ २३ र २४ दुई दिन नेपालको संवैधानिक इतिहासको अँध्यारो पाना हो। जुन रात सडकमा तनाब बढेर संविधानको स्तम्भ हल्लिन थाले, त्यो रात राजनीतिक नेतृत्वको चरित्र पनि परीक्षणमा थियो। त्यतिबेला कुन बाजेले राष्ट्र रक्षा गर्‍यो र कुन बाजेले शक्ति समीकरणको साँढे बादललाई नै प्राथमिकता दियो—इतिहासले नाम राखिसकेको छ। त्यही घटनाको नैतिक जिम्मेवारी, स्वीकृति, आत्मालोचना—त्यो आएन।

अब आउँछ 'राष्ट्रप्रेम' को प्रसङ्ग

राष्ट्रप्रेम भन्ने शब्द अब धेरैजना नेताको भाषणका होर्डिङमा मात्र देखिन्छ। व्यवहारमा राष्ट्रप्रेम तब देखिन्छ जब सत्ता त्यागेर सिद्धान्त सम्हालिन्छ। तर यहाँ कुरा उल्टो छ—सिद्धान्त छाडेर सत्ता बचाउन सजिलो छ, सत्ता बचाउन भावुकता बेच्न सजिलो छ।

माओवादीसँग एकता गर्ने समाजवादीहरूको निर्णयपछि एमाले अध्यक्षले अचानक पूर्वसहयात्रीहरूमा 'भावनाको बत्ती'’ बाल्नुको तात्त्विक अर्थ यही हो। काठमाडौँको राजनैतिक गल्लीमा कहिल्यै बुझिन नसक्ने एउटा अर्थशास्त्र छ—‘‘शक्ति हराउन लागेको संकेत देखा परेपछि प्रेम संसारै झल्किन्छ।’’ र, यति बेला एमाले नेतृत्वको प्रेमले यति मिठास पायो कि, सुन्ने धेरैलाई पुरानो चोट बल्झिन सक्छ।

तर, कुरा यति सरल छैन। समाजवादी–माओवादी कदमले नेपालका वाम राजनीति पुनः ध्रुवीकृत हुँदैछ। त्यो समीकरणमा एमाले एक्लो नदेखियोस् भन्ने डर नेतृत्वभित्र जन्मिन थालेको छ। यो डर स्वाभाविक हो—राजनीतिमा भयको महसुस नेतृत्वलाई वास्तविकता बुझाउँछ। तर आम नागरिकलाई यस्तो भावनात्मक अपिलले कुनै खास अर्थ राख्दैन। नागरिक अब धेरै परिपक्व भइसकेका छन्—तिनीहरू केवल दृश्य सम्झदैनन्, भूमिगत उद्देश्य पनि खोज्छन्।

आजको राजनीति केवल पार्टी मिलाउने, नेता फर्काउने खेल होइन, आर्थिक दिशाहीनता, बेरोजगारी, वैश्विक शक्ति–राजनीतिमा नेपालको अस्थिरता जस्ता विषय उठाउनुपर्ने जिम्मेवारीमा छ। तर नेताहरू अझै पनि पुरानो संरचनामा अड्किएका छन्—‘‘कति सांसद मेरो र कति उनीहरूको ?’’ दुई दशकअघि जसरी राजनीति सत्ता र संगठन गनथनको काँडामार बनेको थियो, आज पनि त्यही उस्तै छ। केवल चस्मा बदलिएको छ, दृष्टि पुरानै छ।

त्यसैले जब ओलीले भने ‘‘जहाँ भएपनि फर्किनुस्’’, त्यो सुन्दा लाग्छ—‘‘देशको लागि सबै एक बनौँ’’। तर, अर्थ बुझ्दा लाग्छ—‘‘मात्र सत्ता नछोडेर, सम्भावित अपमानबाट बचेर फेरि मलाई केन्द्र बनाइदेऊ।’’ नेतालाई शंका हुनु पाप होइन। अहिले भने शंका र आग्रह दुवै खुला किताब बनेका छन्। पहिलो वाक्यमा निष्ठा, दोस्रोमा अपिल, तेस्रोमा भावुकता र अन्तिममा सुरक्षित भविष्यको हिसाब।

अब सम्झनुस्, के यिनै नेताले विगतमा पार्टीका धेरै वरिष्ठ नेताहरूलाई परिधिबाहिर धकेलेका थिएनन् ? आजको ‘‘फर्क’’ बोलाइ हिजोको ‘‘छोड’’ आदेशको उल्टो छ। हिजो असहमति अपराध थियो, आज सहमतिको आग्रह विनम्रता बनेको छ। राजनीतिमा यो परिवर्तन मानवीय हो। तर विश्वसनीय बन्न एउटा कुराको अभाव छ—आत्मालोचना।

आत्मालोचना नेतृत्वको सुगन्ध हो। त्यो छैन भने नेता एउटा संरक्षक होइन, केवल प्रबन्धक देखिन्छ।

नेपालका नेतृत्वको शैली बदलिनुपर्ने समय यो हो। अब जनताले नारा होइन, परिणाम खोज्छन्। पार्टीभित्र जे चलोस्, देशबाहिर शासन चल्नुपर्छ। फर्कने कुरा राम्रो हो। तर फर्कनु असल मार्गमा सम्भव हुन्छ, डरको रफ्तारमा होइन। पार्टीको ढोका खोल्नु काम होइन, नेतृत्वको मन खोल्नु काम हो।

यदि आज ओलीले भन्थे— ‘‘हामीले केही गल्ती गर्‍यौँ। फरक मतलाई सम्मान गर्छु। भदौको घटनाले देशलाई पीडा दियो। अब आत्मालोचना गर्दै अघि बढौँ।’’—यो देशले ताली बजाउँथ्यो। तर, जब शब्दभन्दा उद्देश्य पहिला देखिन्छ, तब ताली होइन, मौन आलोचना जन्मिन्छन्।

नेपालको राजनीति अझै मनोविज्ञानको एउटा बन्धनमा छ—‘‘शक्ति नै अस्तित्व’’। जबसम्म नेतृत्वले बुझ्दैन ‘‘सिद्धान्त नै अस्तित्व हो’’, तबसम्म यस्तो आह्वानहरू चुलोमा ठेविएको चिया जस्तै धेरै चाखिलो देखिए पनि अन्त्यमा केवल तितोपन मात्र बाँकी रहन्छ। जनता अब फर्किँदैनन्। जनता जान्छन्—विश्वासतिर। नेता फर्काउन सकिन्छ। विश्वास फेरि जन्माउन गाह्रो पर्छ।

राजनीति केवल कुर्सीको थुनठाम होइन, इतिहासको पृष्ठ लेख्ने कला हो। इतिहास आवाज सम्झन्छ, उद्देश्य तौल गर्छ। आजको अपिलमा आवाज थियो, तर उद्देश्यले नै उसको शक्ति छायामा पारेको छ।

नेपाल आज अचयककचयबमक मा उभिएको छ—जहाँ केही नेताहरू पुरानै सुरक्षा खोज्दै छन्, जनता भने सुरक्षा होइन, स्थिरता खोज्दै छन्। र, स्थिरता तब जन्मिन्छ जब नेतृत्वले स्वार्थ होइन, सत्य प्रतिष्ठा माग्छ।

अहिले उठेको आवाजले नेतृत्वको हृदय होइन, चिन्ता खोलिदिएको छ। नेतृत्वले चिन्ता होइन, चरित्र देखाउनुपर्ने बेला यही हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ