काठमाडौं । बैंकिङ प्रणालीमा कर्जा विस्तार सुस्त भएपछि बैंकहरूमा थुप्रिएको रकम पहिलो पटक आठ खर्ब नाघेको छ। मंगलबारसम्म बैंकहरूले राष्ट्र बैंकमा जम्मा गरेको रकम आठ खर्ब नौ अर्ब रूपैयाँ पुगेको हो ।
राष्ट्र बैंकका अनुसार बैंकहरूले निक्षेप संकलन उपकरण मार्फत एक खर्ब ७० अर्ब रूपैयाँ र स्थायी निक्षेप सुविधा अन्तर्गत ६ खर्ब ३९ अर्ब रूपैयाँ राखेका छन्। निक्षेप संकलन उपकरणमा औसत २.७३ प्रतिशत ब्याजदरमा र स्थायी निक्षेप सुविधामा तीन दिनका लागि ३ प्रतिशत ब्याजदरमा रकम राखिएको छ।
राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरणमार्फत बैंकहरूमा उब्रिएको तरलता तान्ने गर्छ, जसरी पुँजी अभाव हुँदा त्यही प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।
तर पछिल्ला महिनाहरूमा बैंकिङ प्रणालीबाट अपेक्षित दरमा कर्जा प्रवाह हुन नसक्दा यस्तो निक्षेप रकम निरन्तर बढ्दै गएको छ। कर्जा लगानी घटेपछि राष्ट्र बैंकमा राखिने रकम बढ्ने र लगानी बढेपछि घट्ने प्रवृत्ति रहेको छ।
केही समयअघि राष्ट्र बैंकमा यसरी राखिएको रकम दुई खर्ब ३३ अर्बमा सीमित हुन पुगेको थियो। त्यसअघि यो रकम चार खर्बसम्म पुगेको थियो। अहिले भने पहिलो पटक आठ खर्ब नाघेकोले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा पैसा उपलब्ध भए पनि त्यसको उपयोग कर्जा विस्तारमा हुन नसकेको स्पष्ट देखिन्छ।
हाल बैंकिङ प्रणालीमा कुल तरलता करिब १० खर्ब ९६ अर्ब रूपैयाँ रहेको छ। राष्ट्र बैंकका तथ्यांकअनुसार, गत असोज २९ गतेसम्म बैंकहरूको निक्षेप ७४ खर्ब ८२ अर्ब रूपैयाँ र कर्जा लगानी ५६ खर्ब ३७ अर्ब रूपैयाँ रहेको छ।
कर्जा लगानी सुस्त रहे पनि बैंकहरूले बढी भएको रकम राष्ट्र बैंकमा राख्ने आफ्नै पुरानो रणनीति निरन्तरता दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस