पोखरा । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा कास्कीको पोखरा महानगरपालिका–१४, होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ।
सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब र इक्विटीमा भएको परिवर्तनलगायतका वित्तीय विवरणहरू पनि पारित गरेको छ। साथै, आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
विशेष प्रस्तावअन्तर्गत सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ पुर्याउने, केन्द्रीय कार्यालय लाजिम्पाटबाट आफ्नै भवन बालुवाटारमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने तथा प्रबन्ध–पत्र र नियमावली संशोधन गर्ने प्रस्तावहरू पारित गरेको छ।
हाल बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७.५७ रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ पुग्नेछ।
देशभरका १२६ शाखा कार्यालय र ५१ एटीएम मार्फत सेवा विस्तार गरेको बैंकले नवीनतम डिजिटल बैंकिङ प्रणालीद्वारा सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस