काठमाडौं । उत्तरपश्चिम क्यानडामा शनिबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प युकोन टेरिटोरीमा स्थानीय समयानुसार दिउँसो १ः४१ बजे गएको हो। भूकम्पको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिमतर्फ र करिब १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
मुख्य कम्पनपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको उल्लेख गरिएको छ। तीमध्ये सबैभन्दा शक्तिशाली पराकम्पन ५।१ म्याग्निच्युड मापन भएको भूगर्भ विज्ञहरूले बताएका छन्।
हालसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीबारे औपचारिक रिपोर्ट आए पनि, ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमार्फत घर र संरचना हल्लिएको अनुभूति भएको जनाएका छन्।
शनिबारको भूकम्प पछिल्ला ७९ वर्षयता क्यानडामा मापन गरिएको सबैभन्दा ठुलो कम्पन हो। यसअघिको समान स्तरको भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्ड क्षेत्रमा ७ म्याग्निच्युडसहित मापन गरिएको थियो। क्यानडाको इतिहासमा भने सन् १७०० जनवरीमा ब्रिटिस कोलम्बियाको तट बाहिर ९ म्याग्निच्युडको भूकम्प सबैभन्दा शक्तिशाली मानिन्छ।
विज्ञहरूको भनाइअनुसार भूकम्प उच्च जोखिमयुक्त क्षेत्रमा गएको हो। २०१५ मा अर्थक्वेक्स क्यानडाले गरेको विश्लेषणमा पनि युकन क्षेत्रलाई सम्भावित भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस