२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विनोद ढकाल : नेपाली कम्युनिष्ट आन्दोलनको एकजना अविश्रान्त योद्धा

शुक्रवार , मंसिर २६, २०८२

–सन्तोष घिमिरे

जस्तोसुकै परिस्थितिमा पनि खिस्स हाँसो हाँस्न सक्ने र मृदुल मुस्कान बाँड्न सक्ने विलक्षण पात्र विनोद ढकाल– पूर्वको क्षितिजमा उघ्रिएको र सर्वत्र चिनिएको एउटा विराट नाम हो । अखिल एकताको पाँचौँकालको सदस्य, कार्यकर्ता र नेताहुँदै नेतृत्वमा रहनुभएका उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको मियो शक्ति नेकपा (एमाले) को केन्द्रीय जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ ।

यतिबेला नेकपा (एमाले) ११ औँ महाधिवेशनको तयारीमा जुटेको छ । देशभित्र र देशबाहिरका विभिन्न भौगोलिक क्षेत्र, पार्टीसम्बद्ध जनसंगठन, सम्पर्क समन्वय कमिटी, फाँट तथा विभागबाट महाधिवेशन प्रतिनिधिको रूपमा भाग लिनेको संख्या राजधानी काठमाण्डौँमा थपिँदै गएको छ ।

यो थपिने क्रमसँगै अखिलको राजनीतिक बैचारिक लिगेसी बोक्नुभएका विनोद ढकालको खोजिनीधि ह्वात्तै बढेको आभास हुन्छ, बस बिसौनीदेखि चौकका चिया पसलमा हुने चर्चा परिचर्चासँगै सहजै अनुमान लगाउन पाइन्छ र यससम्बन्धी मसिनो अध्ययन गर्न सकिन्छ । आफूभन्दा ठूलाबडाप्रति झुकेरै आदरसम्मान प्रकट गर्न र समकालीन एवम् सानाप्रति स्नेह–ओतप्रोत माया दर्शाउन सक्ने अतिरिक्त मानवीय गुण र क्षमता भएका ढकाललाई कार्यकर्ताले पार्टीको नीति निर्माण तहमा देख्न र यसनिमित्त मतदान गर्न चाहेको प्रष्ट अनुभूति हुन्छ ।

ग्राफमा विनोद ढकाल

नाम : विनोदप्रसाद ढकाल

जन्म : २०२५ चैत्र २२

जन्मस्थान : अरुण गाउँपालिका, ऐङपान, भोजपुर

आमा / बुवा : शारदादेवी / विष्णुप्रसाद ढकाल

शिक्षा : स्नातक (कानुन)

संलग्नता : पूर्णकालीन राजनीतिक कार्यकर्ता

परिवार : श्रीमती राधा अधिकारी ढकालसहित दुई छोरी सुरभी र सुभानी

हाल बसोबास : विराटनगर ५, मोरङ

सतहमा ढकालको व्यक्तित्व विकास

पार्टीको कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनमार्फत अध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीबाट समेत पछाडि पारिएका युवा नेता विनोद ढकाल राजनीतिलाई जीवनको रंगसँग जोडेर बुझ्न चाहने पात्रमा पर्नुहुन्छ । जननेता मदनकुमार भण्डारीको राजनीतिक बैचारिक सम्बन्ध र सामिप्यताबाट शिक्षित, दीक्षित र प्रशिक्षित ढकालमा तर्कपूर्ण राजनीतिक वाकपटुताले सबैलाई उछिन्ने तागत छ, आशाजाग्दो र लोभलाग्दो ल्याकत छ । राजनीतिक क्षेत्रबाहेक सामाजिक र सांस्कृतिक जीवनका महत्त्वपूर्ण क्षेत्रहरूमा पनि उत्तिकै मुखर र प्रखर तर्कपूर्ण क्षमता भएकै कारण कुनै खास भूमिकामा रहँदा वा नरहँदाका बखत पनि पूर्वमा उत्तिकै प्रेमभाव र आदरसम्मानका साथ सम्झिइने, खोजिइने र सोधिने पात्रमा पर्नुहुन्छ ढकाल ।

आत्मविश्वासले भरिएको निर्भीक अभिव्यक्तिका साथ शिष्ट र मर्यादित उपस्थिति, आदरभावयुक्त प्रस्तुति, सहिष्णुवत् मिलन, मलिन संवाद र जिम्मेवारी आदि क्षेत्रअन्तर्गत जस्ताकोतस्तै परिपालनमा उदाहरण कहलिनुभएका उहाँमा अरुलाई समय दिने र खुलेर सहयोग गर्ने पक्षमा समेत नेतृत्व क्षमता प्रकट हुन्छ । कहिल्यै पनि कसैलाई काखा र कसैलाई पाखा बुझ्न नसक्ने र गर्न नचाहने स्वभावकै कारण अवसरको बाँडफाँडमा सन्तुलन र समन्वयकारी भूमिका खेल्न सक्ने पात्रमा पर्नुहुन्छ उहाँ । सम्भवतः यो पनि एउटा पक्ष हुन सक्छ– उहाँले नेतृत्व सम्पादन गर्नुभएका बखत मोरङमा नेकपा (एमाले) को उपस्थिति र प्रस्तुति स्वभाविक मात्र थिएन बरु अस्वाभाविक गति र प्रगतिका साथ निर्णायक रहेको थियो ।

भिन्न स्वभावका अभिन्न ढकाल

क्षणिक सफलताभन्दा पनि थप सुधारमा र आइलाग्ने समस्याबाट पन्छनुभन्दा पनि समाधानमा केन्द्रीत रहनुहुने उहाँ वस्तुस्थितिको वस्तुनिष्ठ अध्ययन गर्न सक्ने, यससम्बन्धी आवश्यक निर्णय लिन सक्ने र निर्णित विषयवस्तुको जगमा उभिएर यसको सहज कार्यान्वयन गर्न गराउन सक्ने सामथ्र्य भएकै कारण पार्टी र पार्टीसम्बद्ध समुदायमा आधारित गतिविधिको पृष्ठभागमा ढकाल देखिँइरहनुभएको हुन्छ । नकारात्मक भावनालाई नियन्त्रणमा लिएर कतिपय बेलाबखतमा उब्जेका निराशालाई चिर्दै आशावादी दृष्टिकोण प्रस्तुत गर्न सक्ने आत्मशक्तिको धनी उहाँले आफूले अवलम्बन गरेको कम्युनिष्ट सिद्धान्तलाई बिचार र आचरणलाई व्यवहारको कसिमा उतार्न प्रयत्न गर्नुभएको छ । यसअनुरुप पार्टी संगठनलाई समुदायका मुद्दामा आधारित बनाउन सक्ने र सुक्ष्म योजनाका साथ कार्यकर्तामार्फत जनतामा जान सक्ने खुबी भएकै कारण उपलब्ध सबै शक्तिको आडमा अधिकांश व्यक्तिहरू एकातिर हुँदा पनि नेता ढकालले सबैलाई उछिनपाछिन गर्दै आएका छन् ।

रेडियो, टेलिभिजन, तस्बिर सार्वजनिकीकरण, पत्रपत्रिका आदिमा हतपत्त आउन नचाहने ढकालले कार्यकर्तामा आधारित जीवनलाई सामान्यतया अरुभन्दा पृथक लाग्ने जीवनशैलीका रूपमा विकास गर्नुभएको छ । सामाजिक घटनाक्रमको आवरणभित्र प्रकट हुने राजनीतिक विषयवस्तुको सुस्पष्ट भावमिश्रित भाषामा गहिरो अध्ययन, यसप्रतिको आफ्नो दह्रो अडान र खह्रो प्रस्तुतिका कारण ढकालसँग कसैले लोलोपोचो गर्न सक्दैनन् । एमालेको राजनीतिक बैचारिक तथा संगठनात्मक अभ्यासबाट कहिल्यै पनि अविचलित उहाँमा कम्युनिष्ट विचारअनुरुपको व्यवहार हुनुपर्ने र संगठनात्मक सिद्धान्त कार्यकर्तामा आधारित हुनुपर्ने, विदेश नीति सन्तुलिन हुनुपर्ने, नेपालको अपार जल, पर्यटन, वनौषधिय स्रोत परिचालन नीति आफ्नो भूराजनीतिक विशेषताका आधारमा हुनुपर्ने दृढ मत रहँदै आएको छ ।

महाधिवेशन र नेता ढकाल

सामान्यतया यो महाधिवेशन १ वर्ष पहिल्यै आयोजना भएको छ । भदौको तेस्रो साताअन्त्यमा विधान महाधिवेशन सम्पन्न भएलगत्तै राष्ट्रिय राजनीतिमा आएको परिवर्तन, भएको उथलपुथल र पूननिर्माण प्रक्रियाको जगमा उभिएर राजनीतिक विश्लेषण गरिनुपर्ने मत नेता ढकालले दृढतापूर्णता उठाइरहनुभएको छ । मुलुक यतिबेला अकल्पनीय र गम्भीर सङ्कटबाट गुज्रिएको छ । एमालेले नेतृत्व गरेकै बखत जेनजी उमेर समूहका हाम्रा भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धनको नाउँमा उठाएको व्यानरमुनि परिकल्पना गर्न नसकिने घटना परिघटनाहरू एकपछि अर्को श्रृङ्खलाबद्ध घटेका छन् ।

फलस्वरुप, ऐतिहासिक संविधानसभामार्फत प्राप्त संविधान कोमामा पुगेको छ, जनताको सार्वभौम अधिकारसम्पन्न सङ्घीय संसद एकातिर थन्किएको छ र समग्र लोकतन्त्रको चीरहरण भएको छ । यो कसका कारणले भएको हो ? एमालेजस्तो पार्टीले अर्कालाई मात्र औंल्याएर र दोष थोपरेर उम्कन मिल्छ ? लोकप्रिय मतका हिसावले पहिलो ठूलो दल र तत्कालीन अवस्थामा सत्तासाझेदार सङ्यन्त्रको नेतृत्व गर्ने प्रमुख राजनीतिक शक्ति एमाले यसवापत भागिदार हुनुपर्ने होइन ? के कति प्रतिशत यसको भागिदार हुनुपर्ने हो बरु आवश्यक बहस–विमर्श हुनुपर्नेमा ढकाल दृढ देखिनुहुन्छ ।

यो विषय परिस्थितिमाझ हुन लागेको महाधिवेशनले पार्टी नीति र कार्यान्वयनमा नेतृत्वको क्षमताबारे प्रश्न उठाएको विषयलाई नेता ढकालले निसङ्कोच बहस विमर्शमा ल्याउनुभएको छ । पार्टीमा आन्तरिक लोकतन्त्र साँघुरिँदै जाँदा सामुहिकता कमजोर भएको, सामुहिकता हराउँदै जाँदा व्यक्तिको स्वेच्छा सर्वोपरि भएको, पार्टीका स्थापित नीति र विधिलाई आफूअनुकूल परिभाषित र व्यवस्थित गर्दै लैजाने पछिल्ला तौरतरिकामा सुधार आउनुपर्ने ढकालको जोडबल रहँदै आएको छ । यसनिम्ति आसन्न महाधिवेशनलाई राजनीतिक गन्तव्य निर्धारणसहित नेतृत्व निर्माणको कोशेढुंगा बनाउनुपर्ने अभियानमा अघिअघि देखिनुहुन्छ उहाँ ।

यो पार्टी निर्माणमा सबैको सबैखालको सहभागिता, हिस्सा र असाधारण योगदान रहेको स्मरण गर्दै गराउँदै आउनुभएका नेता ढकाल पार्टीलाई लयमा फर्काउन, सुदृढ र एकताबद्ध बनाउन अध्यक्ष कमरेड केपी शर्मा ओलीले फराकिलो चित्त र फरासिलो अनुहारका साथ अग्रसरता लिनुपर्नेमा जोड दिनुहुन्छ । महाधिवेशनको निर्णायक मञ्चमार्फत अध्यक्षमा फेरि पनि बहालवाला अध्यक्ष केपी शर्मा ओली दोहोरिनु होला तर बुथ–बुथसम्म विभाजित मानसिकता लिएर काठमाण्डौँ आएको प्रतिनिधिलाई एकमना एकताको सूत्रमा बाँध्न र मेलमिलापको वातावरणमाझ नेतृत्वलाई उभ्याउन सकिएन भने राज्यले गर्ने/गराउने चुनावमा यसको गम्भीर क्षति र खति बेहोर्नुपर्ने सम्भावित अवस्थाको अध्ययन र उहाँको विश्लेषण यथार्थमा आधारित छ, गणितीय छ ।

कसैलाई कमजोर आँकेर उसलाई खुइल्याउने वा तेजोबध गर्नेदेखि लिएर आफूअनुकूल सर्वसम्मत रूपमा उभिन चाहने र लोकतान्त्रिक प्रक्रिया अवलम्बनलाई मूल नेतृत्वविरोधी, पार्टीविरोधी, राष्ट्रियताविरोधी, देशभक्तिपूर्ण आन्दोलनविरोधी आदि ढङ्गले विकास गर्न खोजिएको भाष्य एकदमै गलत छ । नियोजित ढङ्गले यो भाष्य विकास गर्नुलाई लोकतान्त्रिक परीक्षामा परिक्षित हुन चाहने नेता ढकाल राजनीतिक आवरणमा हुर्किएको पाखण्डपन ठान्नुहुन्छ ।

नेतृत्व निर्माणको प्रश्न र ढकाल

राजनीतिक मत उहाँकै पास भए पनि आठौँ राष्ट्रिय महाधिवेशनमा कमरेड केपी शर्मा ओली केही मतान्तरले पराजित हुनुभयो । यसको ठीक उल्टो– नवौँमा केही मतान्तरले जित्नुभयो । लाखौँ मानिसको भीडमाझ सम्पन्न दशौँ महाधिवेशनमा त उहाँ एक ढङ्गले भन्नुपर्दा सर्वसम्मतजस्तै हुनुभयो । बहुचर्चित राजनीतिक नेता र राजनेताको स्पेश लिनुभयो । अब एघारौँ महाधिवेशन आयोजन भइरहँदा त उहाँ निर्वाध रूपमा सर्लक्कै सर्वसम्मत हुनुपर्ने हो नि ! आफूभन्दा जुनियरसँग चुनाव लड्न र लडाइँ जित्नका लागि भोट माग्दै हिड्न सुहाउँछ उहाँलाई ? नेता ढकालको मनभरि प्रश्न तैरिएको पाइन्छ । यद्यपि, अवलम्बन गरिएको प्रक्रियालाई स्वभाविक रूपमा लिँदै अत्यन्तै उच्च मनोबल, नेतृत्व पूनर्गठनको क्रान्तिकारी अठोट र साहसका साथ महाधिवेशन सफल पार्न सबै लाग्नुपर्नेमा उहाँ लाग्नुभएको छ । कसैले जित्दा नेपाली जनता र राष्ट्रले जित्ने र कसैले जित्दा अरु कसैले जित्ने वा हार्नेजस्ता अराजनीतिक तर्कको चर्को स्वरमा खण्डनसहित हामीले तय गरेको समृद्ध नेपाल र सुखी नेपाली निर्माणको राष्ट्रिय गन्तव्य पूरा गर्न एकाकारित शक्ति निर्माणमा ढकालको जोड रहेको बुझिन्छ ।

राजनीतिमा नचाहिने घात, आघात, प्रतिघात, छल र कपटको दिनचर्याभित्र शङ्काको सुविधा लिएर बाँच्ने नग्नस्वरुपका पदाशक्त परजीवीलाई उहाँको राजनीतिक सुझबुझ मननपर्ला, चित्तनबुझ्ला ! तथापि, विभाजित मानसिकताले खण्डहर भएको यतिबेलाको एमालेलाई एक ठाउँमा ल्याउन र एक लयमा उभ्याउन फरासिलो आभासहित नेतृत्व फराकिलो हुनुपर्नेमा उहाँ दृढ हुनुहुन्छ ।

अनेरास्ववियु अध्यक्षको दावी रहन सक्दथ्यो ! तथापि, नेतृत्वको सल्लाहमा केन्द्रीय उपाध्यक्षको कार्यकाल सकिएसँगै २०५७ सालदेखि भूगोल आधारित पार्टी काममा होमिनुभएका युवा नेता ढकाल पार्टी निर्माणको प्रश्नमा भूगोलका सबै उमेर समूह, पुस्ता, जातजाति, भाषा, धर्म, लिंग, संस्कृतिको संरक्षणमा रहेका मानिसको योगदान र सक्रिय सहभागिता रहेको यथार्थलाई आत्मसात गर्दै इतिहासमा यसको गर्विलो जगमा उभिएर सुदूर भविष्यको सुन्दर मार्गचित्र कोर्न लालयित हुनुहुन्छ ।

राजनीतिक नक्षत्र विनोद ढकाल

आफ्नो जीवनको दुई तिहाइ लामो समय यो आन्दोलनमा खर्चनुभएका ढकाल राजनीतिक यात्राको आरोह–अवरोह र उतारचढावका बीच जस्तोसुकै जिम्मेवारीमा रहँदा वा नरहँदाका बखत पनि प्रकट हुने सक्रियता र रणकौशल भूमिकाको अन्तर्यमा माक्र्सवादी चेत र ज्ञानले ओजिलो मात्र होइन, लयात्मक तर्क क्षमता र वाककलाका लागि लोकप्रिय हुनुहुन्छ उहाँ ।

बाल्यकालीन उत्तरार्धदेखि नै सांस्कृतिक पराधिनताको अँध्यारोभित्र रुमलिएको समाजको सामाजिक जागरणको मिसाल बोकेर राजनीतिक परिवर्तनका संवाहक बन्दै नागरिकका मुद्दाकेन्द्रीत सामाजिक विकासको लाभा लिएर अविराम गति र अविश्रान्त लयका साथ उठ्नुभएका ढकालको जीवन आफैंमा ओज र क्रेजले आकर्षित छ । विचारमा सुस्पष्टता र अभिव्यक्तिमा दृढ भएका कारण उहाँ कैयौँपटक आफ्ना भनिएकाबाट झुट्टा लान्छनाको शिकार हुनुभएको छ ।

संगठन निर्माण र विचार प्रवाहको लागि ढकालको प्रस्तुति केहीलाई मन नपर्ला तर अधिकांश कार्यकर्तामाझ कर्णप्रिय लाग्छ । फलस्वरुप उहाँको पक्षमा परिणाम देखिने गरेको पनि छ । जिल्ला र जिल्लाबाहिर भूगोलमा उहाँको उपस्थितिलाई कार्यकर्ताको अपेक्षापूर्तिका लागि सक्रियताका साथ देखिइरहनुहुन्छ ।

राजनीतिक भूमिकामा नेता ढकाल

राजनीतिमा चाहिने लगन, इमान, निष्ठा र विचार पर्याय व्यवहार, यसको पक्षपोषण र निरन्तरता, सरल वाकक्षमता र बाजजस्तै बन्न पनि सक्ने निडरता ढकालका उपमा र विशेषताहरू हुन् । नेतृत्व लिने औसत मानिसमा नपाइने गुणमा पोख्त ढकाल पहुँच अभावमा रहेको कार्यकर्ता र साथीभाइका दुःखका सहयोगी र सारथि हुन् । साथीभाइको सम्बन्धलाई आफ्नो नरनाताको रूपमा बुझ्न र सहजै ग्रहण सक्ने क्षमता भएकै कारण एमालेबाहेक अन्य एमालेविरोधी राजनीतिक दल र आस्थाका बन्दीहरूले उहाँबाट काम लिइरहेका हुन्छन् ।

जननेता मदनकुमार भण्डारीको गृहजिल्ला मोरङबाट उहाँको अदम्य राजनीतिक चिन्तन र व्यवहारको उत्तराधिकारी ठहरिनुभएको विनोद ढकाल राजनीतिक सत्ता र सत्ता समिकरण निर्माणका कोर्सहरूमा फरक धार र फरक विचारबाहक व्यक्तित्वमाझ पनि पत्याइका असाधारण पात्रमा पर्नुहुन्छ । शालीन वाणी, सुशील दृष्टि र विराट दृष्टिकोणकै कारण चुलिएको सरल व्यक्तित्व कुनै भीडसँग तर्सने, भीडनिर्देशित रहने, भीडका पछिपछि उत्रने वा घिस्रनेभन्दा पनि भीडलाई आफूपछिपछि लगाउने क्षमता ढकालको राजनीतिक व्यवस्थापनमा देखिन्छ ।

प्रदेशको राजधानी विराटनगरमा आइपर्ने मानवीय सेवा क्षेत्रका कार्यसम्पादनमा ढकालको सहजै स्वीकार्य सहयोगकै कारण प्रशासनिक संयन्त्रको ढोकामा पहुँच पुगेको एकपटक उहाँलाई भेटेकाले अनुभूति आर्जन गर्दछन् । सहयात्रीका लागि आफूले कष्टसाध्य पर्खाल नाघ्नु परे पनि आमरूपमा व्यवहारमा सहज उपलब्धता र आर्थिक पारदर्शिताका कारण कार्यकर्तामाझ अभिभावकतुल्य लालगेँडी बनेका ढकालले तिनै साथीभाइ र कार्यकर्ताको आड, भरोसा र अपेक्षाअनुसार पार्टी केन्द्रीय कमिटीको सचिव पदका लागि उम्मेदवारी दिन लाग्नुभएको छ ।

सचिवको उम्मेदवारी

देशभित्र र देशबाहिरसमेत नेकपा (एमाले) को सङ्गठनात्मक सञ्जालमा प्रत्यक्ष सम्पर्क, सम्बन्ध र वर्गप्रेम भाव दर्शाउन सक्ने नेता ढकालले आफूलाई पुस्तान्तरणको क्रम विकाससँगै पुरानो नेताका रूपमा उभ्याउनुभएको छ । यदाकदा मन्त्रोच्चारणको शैलीमा होइन, सचिव पदका उम्मेदवार कमरेड ढकालले जनताको बहुदलीय जनवादप्रतिको अग्लो र सग्लो सैद्धान्तिक निष्ठा र व्यवहारिक कार्यकौशलतामा आफूलाई चट्टानजस्तै दृढ बनाउनुभएको छ । मौका मिल्नासाथ परस्पर एकले अर्कोलाई छिर्के लाउने, दाउपेच र षडयन्त्र गर्ने छलवाजको शिकार ढकालका समकालीन र ढकालपछिका धेरै नेताहरू पार्टीको उपल्लो ओहदामा पुगेका छन्, कतिपय त पदाधिकारी पनि भइसकेका छन् । यो यर्थाथ मात्र हो, कुनै पिरोलिएको विषय होइन । किनभने कसैका घरद्वार धाउनुभन्दा पटकपटक धुलोमा पुगेर पनि लुलो नहुँदै टाँसिएको धुलोलाई टकटकाउँदै उठ्न मञ्जुर हुनुहुन्छ उहाँ ।

सामाजिक काम र राजनीतिक जिम्मेवारी निर्वाहलाई व्यक्तिगत पूंजी नठान्ने, पद–प्रतिष्ठाप्रति आशक्त नहुने, प्रोपर जिम्मेवारी नपाए विरक्त नहुने कैयौँ विद्यार्थी, युवादेखि ज्येष्ठ प्रतिनिधिमाझ लोकप्रिय ढकालले आउँदो मंसिर २७–२९ मा सम्पन्न हुने पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुुभएको छ । तयारी र यससम्बन्धी थप तयारीका सन्दर्भमा सम्मेलन, अधिवेशन र महाधिवेशन आयोजनस्थलमा साथीभाइले गर्नुहुने न्यायोचित् व्यवहार उहाँलाई राजनीतिक सामाजिक विद्यालय र विश्वविद्यालयको कक्षागत पढाइ हुने गरेको छ । यसकारण विद्यार्थीकालदेखि अहिले झण्डै पौढ अवस्थासम्म आइपुग्दा प्राप्त गर्नुभएको कार्यकौशलता, रणनीतिक योग्यता, कम्युनिष्ट कार्यकर्ताका रूपमा इमान, लगन र निष्ठाप्रतिको सम्मानस्वरुप प्रतिनिधि सहयोद्धा कमरेडहरूले आफ्नो सचिवको उम्मेदवारीमाथि विश्वासको अभिमत जाहेर गर्ने विषयमा ढुक्क हुनुहुन्छ उहाँ ।

सचिवका रूपमा सुहाउँदो प्रखर छवि विकास गर्नुभएका नेता कमरेड विनोद ढकाललाई मतदान सार्वजनिक अपील गर्दै नेतृत्वका रूपमा अग्रभागमा उभिन हुने अपेक्षासहित हाम्रो तर्फबाट प्रशस्तै धेरै शुभकामना !

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ