विराटनगर । भारतको जोगवनीबाट विराटनगर प्रवेश गरेका एक जना व्यक्ति स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित पक्राउ परेका छन् ।
मोटरसाइकलमा सवार रहेका व्यक्तिलाई सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१३ स्थित दिव्य ज्योति आँखा अस्पताल अगाडिबाट पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह हुन् ।
उनी प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकल चढेर भारततर्फबाट नेपाल प्रवेश गरिरहेका थिए । दिउँसो करिब १ बजेर ४५ मिनेटको समयमा रोकेर जाँच गर्दा साहले लगाएको हेल्मेटभित्र र शरीरका विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ नगद फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार बरामद रकममध्ये १ हजार रुपैयाँ दरका ३०, ५ सय रुपैयाँ दरका ५ सय ३६, १ सय रुपैयाँ दरका १ हजार १९ र ५० रुपैयाँको १ थान नोट रहेका छन् । यति ठूलो रकम बोकेर हिँड्नुको स्पष्ट कारण र स्रोतबारे सोधपुछ गर्दा साहले कुनै पनि विश्वसनीय विवरण दिन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको जानकारी चुँडालले दिइन् ।
प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा साहको गतिविधि शंकास्पद देखिएकाले रोकेर जाँच गरिएको थियो । साथबाट स्रोत नखुलेको रकम फेला परेपछि उक्त रकम र मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद नगद, मोटरसाइकल र पक्राउ परेका साहलाई हाल इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस