विराटनगर । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै पछिल्ला दिनमा नयाँ शैली अपनाएर कपडा तस्करी गर्ने गरिएको पत्ता लागेको छ ।
तस्करीमा संलग्नले ‘अनलाइन व्यापार’ भन्दै अवैध रूपमा कपडाको ओसारपसार गरिरहेको फेला परेको हो । सीमा क्षेत्रमा सुरक्षा निकायको कडाइका बाबजुद नयाँ–नयाँ शैली अपनाएर कपडाको तस्करी हुन थालेको पाइएको छ ।
नियमित जाँचलाई छल्न र शंकाको घेराबन्दीबाट उम्किन तस्करहरूले प्रयोग गर्ने यस्ता उपाय दिनानुदिन परिष्कृत बन्दै गएका बेला विराटनगरको रानी क्षेत्रबाट प्रहरीले सोमबार दिउँसो १ बजेतिर अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानी (सीमा)बाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ भट्टाचोकबाट तस्करीको कपडासहित दिउँसो १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुनसरीको दुहबी नगरपालिका–७ का २५ वर्षीय दिनेश माझीलाई नियन्त्रणमा लिएको हो । भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई शंकास्पद देखेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । सामान्यजस्तै देखिने चालकको गतिविधिलाई निगरानीमा राखेको प्रहरीले मोटरसाइकलसहित त्यहाँ राखिएको झोला नियन्त्रणमा लिएर खानतलासी गरेको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा प्रदेश १–०२–०४० प ७९८२ नम्बरको मोटरसाइकलमा ‘नेपाल क्यान मूभ’ लेखिएको रातो रङको ठूलो ब्याग लोड गरिएको अवस्थामा फेला परेको थियो । ब्याग खोलेर हेर्दा ‘अनलाइन व्यापार’का लागि भन्दै शंकास्पद किसिमको बिल बनाएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
तर, बिलमा उल्लेखित विवरण र ब्यागभित्र रहेको कपडाबीच कुनै तालमेल नदेखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । ब्यागभित्र भारतबाट भन्सार छली अवैध रूपमा नेपाल ल्याइँदै गरेको ८३ थान साडी फेला परेको कटवालले जानकारी दिए ।
प्रारम्भिक मूल्यांकन अनुसार साडीको अन्दाजी मूल्य २ लाख ७ हजार ५ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । तस्करीमा प्रयोग गरिएको मोटरसाइकलको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ आँकलन गरिएको छ ।
प्रहरीले मोटरसाइकल चालक माझीलाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गर्दा उनले साडीहरू ‘अनलाइनमार्फत बिक्री वितरण गर्ने उद्देश्यले’ ल्याइएको दाबी गरेका थिए । तर, आवश्यक कागजात, भन्सार भुक्तानीको प्रमाण तथा वैध आयातसम्बन्धी कुनै पनि आधिकारिक कागज प्रस्तुत गर्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पछिल्लो समय साना परिमाणमा पटक–पटक कपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स र खाद्यान्नजस्ता सामग्री भारतबाट नेपाल भित्र्याउने नयाँ शैलीको तस्करी बढ्दै गएको छ । विशेषगरी ‘अनलाइन डेलिभरी’, ‘होम डेलिभरी’, ‘फेसबुक पेज’ वा ‘ई–कमर्स अर्डर’ भन्दै सामान्य झोलामा सामान ल्याउने, मोटरसाइकल वा साइकल प्रयोग गर्ने र भिडभाड भएको सहरी क्षेत्र हुँदै आवतजावत गर्ने प्रवृत्ति बढेको छ ।
यसले गर्दा सुरक्षाकर्मीलाई छुट्याउन कठिन हुने र धेरैजसो अवस्थामा साना परिमाणका कारण तस्करहरू कारबाहीबाट जोगिने गरेको प्रहरीको अनुभव छ । रानी नाका क्षेत्र नेपाल–भारत सीमाको संवेदनशील व्यापारिक बिन्दुका रूपमा परिचित छ ।
दैनिक सयौँ मानिसको आवतजावत हुने र साना–ठूला सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले तस्करहरूका लागि रानी नाका सजिलो मार्ग बन्ने गरेको छ । तस्करी नियन्त्रणमा सक्रिय बनेको प्रहरीले पछिल्ला केही समययता नाकामा विशेष निगरानी बढाउँदै आएको एसपी कटवाल बताउँछन् ।
उनका अनुसार यस घटनाले तस्करीको स्वरूप कति चतुर र छलकपटपूर्ण बन्दै गएको छ भन्ने स्पष्ट देखाउँछ । ‘अब त ‘अनलाइन व्यापार’को नाममा नक्कली बिल बनाएर तस्करी गर्न थालेको पाइयो । तस्करी नियत्रण गर्न सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्र पारिएको छ,’ कटवालले भने ।
बरामद गरिएको साडी, मोटरसाइकल र नियन्त्रणमा लिइएका माझीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले पनि थप अनुसन्धान गरिरहेको छ ।
भन्सार ऐन तथा प्रचलित कानुन अनुसार अवैध रूपमा भन्सार छली आयात गरिएका सामान जफत हुने र संलग्न व्यक्तिलाई जरिबाना तथा अन्य सजाय हुने व्यवस्था छ । स्थानीय व्यवसायी भने यस्ता अवैध गतिविधिका कारण वैध रूपमा व्यवसाय गर्दै आएका व्यापारी मारमा पर्ने गरेको गुनासो गर्छन् ।
भन्सार तिरेर आयात गरिएका सामानको मूल्य स्वाभाविक रूपमा महँगो हुने भएकाले तस्करीका सामान सस्तोमा बिक्री हुने र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने उनीहरूको भनाइ छ । ‘अनलाइनको नाममा सस्तो कपडा बेचिन्छ । ग्राहक आकर्षित हुन्छन् । तर, राज्यले पाउने राजस्व गुम्छ,’ विराटनगरका १ जना व्यापारी भन्छन् ।
अनलाइन व्यापार आफैंमा अवैध नभए पनि त्यसको दुरुपयोग गरेर गरिने तस्करी राज्यका लागि चुनौती बन्ने संकेत यस घटनाले गर्छ । डिजिटल कारोबार विस्तारसँगै नियमन र निगरानी पनि त्यत्तिकै आवश्यक रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
अनलाइन प्लेटफर्ममार्फत व्यापार गर्नेहरूले आयात, कर र भन्सारसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरेमा त्यसले वैध व्यवसाय र राज्य दुवैलाई नोक्सान पुर्याउने उनीहरूको भनाइ छ । प्रहरीले सीमावर्ती क्षेत्रमा गस्ती र चेकजाँच अझ कडा बनाइएको जनाएको छ ।
शंकास्पद गतिविधि देखेमा सुरक्षा निकायलई जानकारी गराउन सर्वसाधारणलाई एसपी कटवालले आग्रह गरेका छन् । उनका अनुसार खुला सीमाको फाइदा उठाएर गरिने तस्करी नियन्त्रण गर्न सुरक्षा तथा भन्सारलगायतका निकाय र स्थानीय समुदायबीच समन्वय अपरिहार्य छ ।
यो घटना तस्करीको बदलिँदो स्वरूपको एउटा उदाहरण हो । ‘अनलाइन व्यापार’को चम्किलो आवरणभित्र लुकेको अवैध कारोबार पहिचान गर्न राज्य संयन्त्र सतर्क रहनुपर्ने सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया दिनुहोस