२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ग्रिनल्यान्डलाई पनि ‘कुनै न कुनै तरिकाले’ नियन्त्रणमा लिने ट्रम्पको घोषणा

सोमवार , पौष २८, २०८२

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन्। आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिए ।

राष्ट्रपति ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको सैन्य गतिविधि बढिरहेका बेला खनिज स्रोतले भरिपूर्ण डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डमाथि नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण छ । “यदि हामीले ग्रिनल्यान्ड लिएनौँ भने, रुस वा चीनले लिनेछन् र म त्यसो हुन दिन्नँ”, उनले भने । यद्यपि, कुनै पनि देशले औपचारिक रूपमा उक्त विशाल टापुमा दाबी गरेको छैन ।

उनले डेनमार्कको स्वशासित क्षेत्रसँग सम्झौता गर्न आफू खुला रहेको बताउँदै ‘तर कुनै न कुनै तरिकाले ग्रिनल्यान्ड हामीसँग हुनेछ’ भन्ने अभिव्यक्ति दिए । ट्रम्पको यस भनाइप्रति डेनमार्क र अन्य युरोपेली सहयोगीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् । ग्रिनल्यान्ड उत्तर अमेरिका र आर्कटिकबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको छ र दोस्रो विश्वयुद्धदेखि नै त्यहाँ अमेरिकी सैन्य आधार अवस्थित छ ।

सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्धलाई क्रमशः खुकुलो बनाउनेबारे बहस चलिरहेको छ । तर टापुका अधिकांश बासिन्दा र राजनीतिक दलहरूले आफूहरू अमेरिकी नियन्त्रणमा जान नचाहेको स्पष्ट गर्दै आफ्नै भविष्य आफैँले तय गर्ने अधिकारमा जोड दिँदै आएका छन् । राष्ट्रपति ट्रम्पले भने यस दृष्टिकोणलाई पटक–पटक चुनौती दिँदै आएका छन् ।

“ग्रिनल्यान्डले सम्झौता गर्नुपर्छ किनभने ग्रिनल्यान्डले रुस वा चीनलाई आफ्नो नियन्त्रणमा लिएको देख्न चाहँदैन”, भन्दै उनले आफ्नो भनाइलाई ठट्टामिश्रित शैलीमा बचाउ गरे। ग्रिनल्यान्डको सुरक्षालाई व्यङ्ग्य गर्दै उनले ‘त्यहाँको रक्षा के हो भने दुईवटा कुकुर स्लेज मात्र हुन्’भने । उनले रुस र चीनसँग ‘सबैतिर विध्वंसक हतियार र पनडुब्बीहरू छन्’ भन्ने दाबी गरे ।

यसअघि डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्डमाथि बल प्रयोग गरेर नियन्त्रण गर्ने कुनै पनि अमेरिकी प्रयासले आठ दशकदेखि कायम रहेको ट्रान्सएटलान्टिक सुरक्षा सम्बन्धलाई गम्भीर रूपमा क्षति पुर्‍याउने चेतावनी दिएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘यदि यसले नाटोलाई असर गर्छ भने, असर गर्छ’ भन्दै टिप्पणीलाई हल्का रूपमा लिने प्रयास गरे। उनले भने, “तर तपाईंलाई थाहा छ, ग्रिनल्यान्ड हामीलाई उनीहरूलाई चाहिनेभन्दा धेरै आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ