काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । अस्ट्रेलियाको प्रतिष्ठित ‘ए’ लिग खेल्ने क्रममा चोटग्रस्त बनेकी साम्बाको न्युजिल्यान्डको अकल्यान्डमा शल्यक्रिया सम्पन्न भएको हो ।
साम्बाले सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार डाक्टर साइमन र उनको विज्ञ टोलीले यो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । अस्ट्रेलियन क्लब वेलिङटन फोनिक्सबाट व्यावसायिक फुटबल खेल्ने क्रममा गत पुसमा गोलरक्षकसँग ठोक्किँदा उनको घुँडाको एसीएल टियर भएको थियो । सुरुमा कतारको प्रसिद्ध एस्पेटार अस्पतालमा उपचार गर्ने योजना भए पनि प्राविधिक र यात्रा सहजताका कारण न्युजिल्यान्डमै शल्यक्रिया गर्ने निर्णय लिइएको उनले बताएकी छन् ।
चोटपछि उपचार खर्चका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट समयमै सहयोग नपाएको गुनासो गर्दै साम्बाले फागुनमा सार्वजनिक अपिल गरेकी थिइन् । उनको आह्वानपछि विश्वभर रहेका नेपाली फुटबल प्रेमीहरूले २४ घण्टाभित्रै करिब १ करोड ५० लाख रुपैयाँ सहयोग जुटाएका थिए । साम्बाले शल्यक्रियाका क्रममा सहयोग गर्ने वेलिङटन र अकल्यान्डका नेपाली समुदाय, आफ्नो क्लब र व्यवस्थापन टोलीप्रति विशेष आभार व्यक्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस