भक्तपुर । श्रीमानको खुकुरी प्रहारबाट भक्तपुरमा श्रीमतिको हत्या भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित आर्मी ब्यारेक नजिकै डेरा गरी बस्दै आएका ३८ वर्षीय बिदुर विश्वकर्माले श्रीमती ३३ वर्षीया सलिना तामाङ विश्वकर्मामाथि खुकुरी प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार असोज २० गते राति करिब १०ः४५ बजे घरायसी विवादका क्रममा विश्वकर्माले श्रीमतीको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा आफ्नो छोरालाई समेत खुकुरी प्रहार गर्दा घाइते भएका ६ वर्षीय बालकलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारपछि बालकलाई डिस्चार्ज गरी आवश्यक संरक्षणका लागि भक्तपुरस्थित बालमैत्री कक्षामा राखिएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका विश्वकर्मालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको खुकुरी बरामद गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस