काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशन आजबाट सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा भव्य उद्घाटनसँगै सुरु भएको अधिवेशनले आगामी कार्यकालका लागि ७३ पदमा नयाँ नेतृत्व चयन गर्नेछ ।
निर्वाचनमा कुल ७३ पदका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । उद्घाटन सत्र होटल रोयल टुलिपमा सम्पन्न भए पनि मतदान प्रक्रिया भने कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।
वस्तुगततर्फ डा. सुबोध कुमार गुप्ताको बलियो दाबेदारी
वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा डा. सुबोध कुमार गुप्ताको उम्मेदवारीलाई यसपटक विशेष महत्वका साथ हेरिएको छ । वीरगञ्जको व्यवसायिक धरातलबाट उदाएका गुप्ता महासंघभित्र अनुभवी, स्पष्ट दृष्टिकोण भएका तथा परिणाममुखी नेतृत्वका रूपमा परिचित छन् ।
उनको नेतृत्वमा रहेको मोहित ग्रुपले खाद्यान्न क्षेत्रमा ठूलो लगानी गर्दै देशलाई आत्मनिर्भर बनाउन तथा हजारौँलाई रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रहँदै आएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गुप्ता नेपाल चामल–दाल–तेल उद्योग संघका दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका छन् । हाल उनी उक्त संघका निवर्तमान अध्यक्ष हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघमा उनी दुई पटक केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । साथै इन्स्युरेन्स तथा बैंकिङ समितिको उपसभापति र वाणिज्य समितिको सभापति भएर उनले निजी क्षेत्रका मुद्दा नीतिगत तहसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा गुप्ताले सिङ्गापुर चेम्बरसँग सहकार्य गर्दै स्थानीय व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने पहल गरेका थिए ।
गुप्ताले हालको आर्थिक सुस्तता, लगानीमा आएको गिरावट र निजी क्षेत्रको मनोबल कमजोर भएको अवस्थालाई मुख्य चुनौतीका रूपमा उठाएका छन् ।
उनका अनुसार कृषि र औद्योगिक विकासलाई सँगसँगै अघि बढाउन सके मात्र अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । नीति सुधार, लगानीमैत्री वातावरण र सरकार–निजी क्षेत्र सहकार्यलाई उनले मुख्य आवश्यकता बताएका छन् । “निजी क्षेत्र सशक्त नभएसम्म देशको अर्थतन्त्र बलियो बन्न सक्दैन,” गुप्ताको भनाइ छ ।
उनका प्रमुख प्राथमिकतामा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग विस्तार, निर्यात प्रवर्द्धन र नीति सुधार रहेका छन् । त्यस्तै, उनले युवालाई उद्यमशीलतामा आकर्षित गर्न स्टार्टअप प्रोत्साहन, तालिम, पूँजी पहुँच र बैंकिङ सहजीकरण आवश्यक रहेको बताएका छन् ।
गुप्तालाई सरकारले ‘प्रवल जनसेवा श्री’ सहित विभिन्न राष्ट्रिय सम्मानबाट विभूषित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस