२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लगानी गरेर व्यवसायीको मनोबल बढाउँदै ढकाल, महोत्तरीको गौशालामा २ अर्बमा खोले कागज कारखाना

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । मुलुकको अर्थतन्त्र केही वर्षयता सुस्त हुँदै आएको छ । अर्थतन्त्र सुस्त भएपछि निजी क्षेत्रको मनोबल घटेको छ । बजारमा माग घटेपछि व्यवसायीहरुले थप लगानी बढाउन चाहेका छैनन्, भएका उद्योगलाई कसरी जोगाउने चिन्ता उनीहरुमा छ ।

बैंकको ब्याजदर घटेर एकल अंकमा आउँदा पनि ८१ प्रतिशत अर्थतन्त्रमा योगदान दिएको निजी क्षेत्रको विश्वास भने अहिले धर्मराएको छ ।

यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने यही अवसरलाई सदुपयोग गर्दै आक्रामक रुपमा लगानी बढाइरहेका छन् ।

केबुलकार, होटल र जलविद्युतमा लगानी बढाइरहेका बेला ढकालले महोत्तरीको गौशालामा २ अर्ब रुपैयाँ लगानीमा कागज कारखाना सञ्चालनमा ल्याएका छन् । मुलुकमा लगानीको वातावरण छैन भन्ने भाष्य बनिरहेका बेला उनले यसलाई चिर्न लगानी गर्ने बेला यही हो भनेर सकरात्मक बन्न सन्देश दिएका छन् ।

अध्यक्ष ढकालले सातै प्रदेशमा केबुलकार बनाउने योजना घोषणा गरेका थिए । त्यसको केही महिनापछि सुनौलो नेपालसँगको भेटमा ढकालले भनेका थिए ‘भौगलिक दृष्टिकोणले मधेश प्रदेशमा केबुलकार सम्भव नभएकाले त्यहाँ कागज उद्योग खोल्दै छौं ।’ ढकालको सोही योजना आज सार्थक भएको छ ।

नेपालमा वार्षिक झण्डै डेढ लाख टन कागज खपत भइरहेको छ । प्रायः सबै कागज विदेशबाट आयात हुँदा अर्बौँ रुपैयाँ मुलुकबाट बाहिरिएको अवस्था छ ।

यति मात्र हैन हामी नेपाली सामान्य लेख्ने र पढ्नेदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा पनि विदेशमा निर्भर छौँ ।

यही निर्भरता र निराशाको खाल्डोमा आशाको दियो जगाउँदैछ ढकालको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज । उद्योगले आन्तरिक कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरका कागज उत्पादन गर्न थालेको छ ।

कागज कारखाना महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा छ । २०७८ सालमा शिलान्यास भएको उद्योगले गत पुसदेखि कागज उत्पादन थालेको हो ।

दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्ने क्षमता रहेको नेपाल पल्पले निकट भविष्यमा क्षमता बढाएर दैनिक १ सय ५० टन पुर्याउने लक्ष्य राखेको छ ।

उद्योगले वार्षिक रुपमा आयात हुँदै आएको झण्डै डेढ लाख टन मध्ये करिब ४० हजार टन कागज स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको छ ।

यसैगरी उद्योगले कागजको आयात प्रतिस्थापन मात्रै गरेको छैन मुलुकमै रोजगारी सिर्जना तथा मधेशका महिलाहरुलाई घरमै बसेर काम गर्ने अवसरसमेत दिएको छ । जसले मधेसमा महिला सशक्तिकरणमा पनि ठुलो योगदान पुर्याउने बताइएको छ । अहिले उद्योगमा कार्यरतमध्ये ५० प्रतिशत भन्दा बढी स्थानीय र झण्डै २० प्रतिशत श्रमिकमा महिलाहरु रहेको नेपाल पल्पले जनाएको छ ।

नेपाल पल्पले उत्पादन थालेसँगै साना तथा मझौला उद्योगको माग पुरा हुने र भने तिनीहरूको दिगोपनका लागि पनि सहयोग पुग्ने भएको छ ।

उद्योगले केही वर्षभित्रै राइटिङ र प्रिन्टिङ पेपरसँगै टिस्यु पेपर, ट्वाइलेट पेपर, सफ्ट टिस्यु, हार्ड टिस्यु जस्ता विभिन्न टिस्यु पेपर उत्पादन गर्ने तयारी गरेको उद्योगका उपाध्यक्ष सुनिल गोपाल श्रेष्ठले सुनौलो नेपाललाई बताए । सीप र क्षमता विकास गरेर निकट भविष्यमै नेपाली जनशक्तिबाटै पेपर मिल चलाउन सक्षम बनाउने लक्ष्य लिएको उनले सुनाए ।

‘उद्योगले खर, पराल, काठलगायत वस्तुलाई पगालेर कागज बनाएको त हामीले देखेसुनेकै हो । उद्योगको सोच भने धेरै फरक छ’ उनले भने ‘हामीले घर तथा अफिसमा प्रयोग गरेर फालेका वा नष्ट गर्ने गरेका पेपर नै यो उद्योगको मुख्य कच्चा पदार्थ हो ।’

अब तथा अफिसमा प्रयोग भएका पुराना कागजहरू साना व्यवसायीमार्फत संकलन गर्दै उद्योगसम्म पुग्ने वस्तु पुनः नयाँ पेपर बनेर फेरी बजारमा पुग्ने उनको भनाई छ ।

अहिलेसम्म हाम्रा घर तथा अफिसमा प्रयोग भइसकेका त्यस्ता कागज जलाउने, खोलामा फाल्ने, फोहोरमा फाल्ने, मुसाले काट्ने जस्ता कारणबाट नष्ट भएकालाई पुनः रिसाइकलिङ भएर नयाँ कागज बन्न पाएको छैन । अब हामीले नेपाली उद्योगको प्रवद्र्धन गर्न प्रयोग गरिसकेको कागज नष्ट नगरी बेच्ने बानी बसाल्न आवश्यक छ । यसो गर्दा उद्योगलाई पर्याप्त कच्चा पदार्थ स्वदेशमै उत्पादन हुनेछ भने आयातमा बाहिरिने पैसा स्वदेशमा रहने उद्योगको भनाई छ ।

आइएमई ग्रुपले बैंक, बिमा, अटोमोवाइल, सूचना प्रविधि, जलविद्युत पर्यटन क्षेत्रमा आफ्नो बलियो उपस्थिती जनाएको छ ।

अति निम्न वर्गीय परिवारमा जन्मेर दैनिक जिविकोपार्जन गर्न कठिन बनेपछि बैदेशिक रोजगारमासमेत गएर देश बनाउने अठोट बोकेर फर्किएका ढकालले नेतृत्व गरेको आइएमई ग्रुपले अहिले मुलुकमा २० हजार बढीलाई प्रत्यक्ष र ४० हजार बढीलाई अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ ।

पछिल्लो समय ढकालले पर्यटन क्षेत्रमा योगदान पुर्याउन छवटा प्रदेशमा केबुलकार निर्माण गर्ने लक्ष्य राखेका छन् । जसमध्ये चन्द्रागिरी, मौलाकाली र बुटबल गरी तीन वटा सञ्चालनमा आइसकेका छन् । अहिले केही केबुलकार परियोजना निर्माणाधिन अवस्थामा रहेको जानकारी ढकालले दिएका छन् ।

यो पनि :

आइएमई र एभरेष्ट ग्रुपको २ अर्ब लगानीमा स्थापना भएको नेपाल पल्पले थाल्यो कागज उत्पादन

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ