काठमाडौं। कोरियन प्रविधि र गुणस्तरमा आधारित ‘हाङकुक’ ब्रान्डको चाउचाउ अब नेपालमा नै उत्पादन हुने भएको छ ।
कोरियामा स्थापित नेपाली व्यवसायी विनोद कुँवरले भैरहवामा प्रिमियम गुणस्तरमा आधारित ‘हाङकुक’ ब्रान्डको चाउचाउ उद्योग स्थापना गरेका हुन् ।
कुँवरले छिमेकी भारतसहित विभिन्न मुलुकमा निर्यात गर्ने उद्देश्यले भैरहवामा सो चाउचाउ उद्योग सञ्चालन गरेका हुन्। सो चाउचाउ उत्पादनका लागि तीन वर्ष लगाएर परीक्षण गरिएको थियो । भैरहवास्थित हिमालयन म्यानुफ्याक्चरिङ कम्पनीका अध्यक्ष रहेका कुँवरले नेपाली बजारमा पहिलो पटक अत्याधुनिक प्रविधिबाट उत्पादित प्रिमियम चाउचाउको व्यावसायिक उत्पादन गरिने र अबको सात दिनमा यो चाउचाउ बजारमा ल्याइने बताए ।
अध्यक्ष कुँवरका अनुसार खाद्य विभागको स्वीकृति, ब्रान्ड दर्तालगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेका छन्। अन्तर्राष्ट्रिय गुणस्तरको ‘हाङकुक’ ब्रान्डको चाउचाउको तौल १३० ग्राम रहेको छ। यसको बजार मूल्य प्रति प्याकेट १३० रुपैयाँ पर्न जान्छ । यही गुणस्तरको आयात गरिएको चाउचाउको बजार मूल्य प्रतिप्योकट १८० देखि २२० रुपैयाँसम्म पर्ने कुँवर बताउँछन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्वअध्यक्षसमेत रहेका कुँवरले उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको लगानी गरेका छन्। उद्योगमा एक सय जना बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। अहिले कोरियाबाटै पनि दक्ष जनशक्ति झिकाएर उत्पादन गरिएको छ।
प्रतिक्रिया दिनुहोस