काठमाडौं । कला प्रबन्धक (आर्ट क्युरेटर) बुनु ढुङ्गानाले तयार गरेको ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) को नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ ।
पुस्तौँदेखि आमा-छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर तयार पारिएको ‘पेटका केही कुरा’को बैशाख २० देखि प्रदर्शन भएको हो । सो, प्रदर्शन जेठ २ गतेसम्म जारी रहनेछ ।
यो प्रदर्शनी ब्रिटिस काउन्सिलको सहयोगमा लक्स तथा आर्ट साउथ एसिया प्रोजेक्टले 'आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया' कार्यक्रम अन्तरगत आयोजना गरेको हो ।
नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो।
‘पेटका केही कुरा’ मा समावेश चित्रकला, त्रि-आयाम स्थापना कलाकृति, कविता, छोटो कथा, चलचित्र, चिठ्ठी र मञ्चनकलाका प्रस्तुतिहरूले चिन्तन, संवाद र संयोजनको बहुपक्षीय स्थानको सिर्जना गरेको छ । यो प्रदर्शनीमा आफ्ना सिर्जना मार्फत अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोवले आफ्ना भावनात्मक तथा सांस्कृतिक आयामहरूको सञ्चार, अनुभूति, र संवाद कसरी गरिन्छ भन्ने कुरालाई प्रतिबिम्वित गरेका छन्। प्रदर्शनीसँगै कलाकारसँगको संवाद, प्रस्तुतिहरू, व्याख्यानहरू, कार्यशाला, मञ्चन र चलचित्र प्रदर्शनहरूको आयोजना गरिएको छ ।
बुनु ढुङ्गानाको यो प्रदर्शनीले पुस्ता, संस्कृति र अनुभवहरूबीचको बुझाइको सम्भाव्यता र चुनौतीहरूको अन्वेषण गर्छ। परम्परागत संरचनाबाट परिभाषित भूमिकाहरूभन्दा बाहिर हामी कसरी एक अर्कालाई चिन्छौँरु नजिकिन चाहने इच्छालाई स्वीकार गर्दागर्दै एक किसिमको दूरीको आवश्यकतालाई कसरी सम्बोधन गर्नेरु यस प्रदर्शनीले यस्ता सम्बन्धहरूको मौन जटिलता र भावनात्मक, सांस्कृतिक र पुस्तागत अन्तरहरू बिचको सेतुको काम गर्ने साझा भाषाको अन्वेषणको चुनौतीहरूलाई प्रस्तुत गरेको छ।
यो कार्यक्रम अन्तर्गत भर्खर काम सुरु गरेकादेखि व्यवसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यवसायीहरूबाट मार्ग निर्देश (मेन्टरशिप), व्यावसायिक विकास र सञ्जालको विकास (नेटवर्किङ) को अवसर प्रदान गरिएको थियो। बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एसियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस