काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगधन्दाहरुमा पर्याप्त विद्युत् दिएको दाबी गरेका छन् ।
बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले हिउँदमा पर्याप्त विद्युत् दिन नसकेको र मंगलबार रातिबाट उद्योगधन्दालाई पुग्ने गरी विद्युत् दिइएको बताए। उनले त्यसबाट बाँकी रहेको करिब डेढ सय मेगावाट विद्युत् निर्यात सुरू गरिएको पनि जानकारी दिए ।
उनले सांसदहरुलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गरे । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उनको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि उनले सचेत गराए ।
उनले भने, ‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत दिन सकिरहेको थिएनौँ। आज रातिबाट उहाँहरुलाई पुग्ने गरी दिएर त्यसबाट पनि उब्रिएको झण्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ । यो अवस्था छ । यथार्थपरक रहेर सहप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’
मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताउँदै आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस