काठमाडौं । यतिबेला भिजिट भिसा प्रकरणले नेपाली राजनीति गर्माएको छ भने 'भिजिट भिसामा' गीतले भ्युज बटुलिरहेको छ ।
६ वर्ष अगाडि रिलिज भएको फिल्म 'दाल, भात, तरकारी'मा समावेश भिजिट भिसामा बोलको गीत यतिखेर टिकटकदेखि फेसबुक रिल्समा प्रयोग भइरहेको छ । कारण हो, नेपाली राजनीतिको भिजिट भिसा प्रकरण ।
यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न रहेको बताउँदै विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध जारी राखेका छन् ।
भिजिट भिसाको प्रकरण चर्किएपछि धेरैले यो गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यो गीतलाई राजनीतिक मुद्दासँग जोडेर भाइरल बनाइएको हो ।
सामाजिक सञ्जालमा मात्र नभई केही दिनअघि कोशी प्रदेश सभामा माओवादी सांसदले यो गीत गाउँदै गृहमन्त्रीको राजीनामा मागेका थिए ।
राजनीतिमा भिजिट भिसा प्रकरण चुलिएसँगै यसको प्रभाव गीतको भ्यूजमा देखिएको हाे । यसैसाता मात्र यो गीतको भ्यूज ४ करोड १० लाख नाघेको छ । निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा कलाकार हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, वर्षा राउतलगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस