काठमाडौं । बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म 'हाउसफुल ५' ले रिलिजको दुई दिनमा नै दर्शकको मन जित्न सफल भएको छ । जुन ६ देखि विश्वव्यापी प्रदर्शनमा आएको हाउसफुल ५ ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
दर्शकको प्रतिक्रियाका लागि अभिनेता अक्षय कुमारले एक अनौठो तरिका अपनाएका छन्। उनले फिल्ममा देखाइएको 'किलर मास्क' लगाएर दर्शकहरू माझ आफैँ पुगेर प्रतिक्रिया लिएका छन्।
प्रतिक्रिया लिँदै गरेको भिडियो अक्षय कुमारले आफ्नो इन्स्टाग्राममा सेयर समेत गरेका छन्। भिडियोमा उनी सिनेमा हलबाहिर 'किलर मास्क' मा देखिन्छन् र फिल्म हेरेर निस्केका दर्शकहरूलाई सोध्छन्, 'हाउसफुल ५ कस्तो लाग्यो ?' अक्षयलाई चिन्न नसकेका दर्शकहरुले पनि निसंकोच प्रतिक्रिया दिएका छन्। धेरै दर्शकहरूले फिल्मको प्रशंसा गरेका छन् ।
यो भिडियो सेयर गर्दै अक्षयले ठट्यौली शैलीमा लेखेका छन्, 'बस यत्तिकै सोचेँ, किलर मास्क लगाएर ‘हाउसफुल ५’ हेरेर निस्कने दर्शकहरूको प्रतिक्रिया लिऊँ। अन्त्यमा त चिनिने नै थिएँ, तर त्यसअगाडि नै भागेँ। जबरजस्त अनुभव रह्यो।'
‘हाउसफुल ५’ मा संजय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पांडे, जोनी लिवर, श्रेयस तलपडे, रंजीत, सौन्दर्या शर्मा, निकितिन धीर र आकाशदीप साबिरजस्ता कलाकारहरुको धमाकेदार अभिनय रहेको छ। यस फिल्मलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् भने साजिद नाडियाडवालाले निर्माण गरेका हुन्।
‘हाउसफुल’ फ्रेन्चाइजको सुरुवात सन् २०१० मा भएको थियो। यसको सिक्वेल सन् २०१२ मा रिलिज भएको थियो, जसलाई साजिद खानले निर्देशन गरेका थिए। तेस्रो भाग सन् २०१६ मा रिलिज भएको थियो, जुन साजिद र फरहादको जोडीले मिलेर निर्देशन गरेका थिए। चौथो भाग सन् २०१९ मा रिलिज भएको थियो, जसलाई फरहाद सामजीले निर्देशन गरेका थिए।
प्रतिक्रिया दिनुहोस