विराटनगर । मोरङ उद्योग व्यापार संघ विराटनगरले नेपालमा लाग्दै आएको बीमा शुल्क अत्याधिक भएको भन्दै त्यसलाई पुनरावलोकन गर्न माग गर्दै बीमा प्राधिकरणलाई सुझाव पत्र बुझाएको छ ।
संघले नेपाल र भारतबीचको बीमा प्रिमियम, जोखिम वर्गीकरण र शुल्क गणना प्रणालीको तुलनात्मक अध्ययन गर्दै बीमा क्षेत्रमा देखिएका समस्याहरूको विस्तृत विवरणसहित सुझाव पेश गरेको हो ।
संघले संकलन गरेको तथ्यांकअनुसार नेपालमा औद्योगिक तथा व्यवसायिक प्रयोजनका वस्तुहरूको बीमा प्रिमियम भारतको तुलनामा ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म बढी रहेको देखिएको छ । यस्तै, बीमा जोखिम वर्गीकरणमा वैज्ञानिक पद्धति नअपनाउँदा एउटै वस्तुको वर्ग नेपाल र भारतमा फरक देखिएको छ । भारतमा बीमा शुल्क गणनाको प्रक्रिया स्पष्ट र डिजिटल प्रविधिद्वारा सजिलै बुझ्न मिल्ने भए पनि नेपालमा यस्तो प्रणाली नहुँदा बीमित पक्षलाई अन्योल हुने गरेको संघले जनाएको छ ।
संघका अनुसार पहिले १० प्रतिशत बीमा कमिशन अहिले घटाएर ५ प्रतिशत बनाइएकाले पनि बीमा शुल्कमा अप्रत्यक्ष रूपमा वृद्धि भएको छ । नेपाल जस्तो भू-आवद्ध देश, जहाँ कच्चा पदार्थ तथा निर्माण सामग्रीमा अन्य देशमा निर्भरता रहन्छ, त्यस्तो अवस्थामा बीमा शुल्क पनि अत्यधिक राख्दा व्यवसायको लागत अझै बढ्ने र यसको प्रत्यक्ष असर उत्पादन मूल्यमा पर्ने भन्दै संघले गम्भीर ध्यानाकर्षण गराएको हो ।
संघले बीमा शुल्कको यस असमानताले नेपाली उद्योगी–व्यवसायी, उपभोक्ता तथा समग्र अर्थतन्त्रमा अनपेक्षित भार पारिरहेको दाबी गरेको छ । त्यसैले बीमा प्रणालीलाई पारदर्शी, वैज्ञानिक र तुलनात्मक रूपमा प्रतिस्पर्धी बनाउन तत्काल सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै ज्ञापन पत्रमार्फत केही सुझावहरू प्रस्तुत गरेको छ ।
संघले नेपालमा बीमा प्रिमियम दर भारत तथा अन्य मुलुकको तुलनामा समान वा न्यून हुनुपर्ने, जोखिमको वर्गीकरण वैज्ञानिक पद्धतिमा आधारित हुनुपर्ने, शुल्क गणना पारदर्शी र अनलाइन प्रणालीमार्फत जाँच गर्न मिल्ने बनाइनुपर्ने, अघिल्लो १० प्रतिशत कमिशनको व्यवस्था यथावत राखिनुपर्ने माग गरेको छ । साथै, प्रत्येक नागरिकको पहुँचमा हुने दुईपांग्रे सवारी साधनमा भारतको भन्दा दोब्बर बीमा शुल्क लाग्ने व्यवस्था तुरुन्त हटाइनुपर्ने पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस