२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीन दशकदेखीको बाँझो जमिन भाडामा लिएर धर्मराजले फलाए चार हजार किलो आलु

आइतवार , आषाढ २९, २०८२

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर चार हजार किलो आलु फलाएका छन् । दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गरेका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गरेको हो ।

बाह्र वर्षअघिदेखि जिल्लामै अग्र्यानिक तरकारी तथा फलफूलखेती गर्दै आएका धर्मराजले उत्पादन गरेको आलु प्रतिकिलो ४५ मा बिक्री भइरहेको छ । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गरेका उनले तीन युवालाई रोजगारीसमेत दिएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयमा ‘झिसेपु अग्र्यानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लागेका धर्मराजले उत्पादन गरेको आलुमध्ये एक हजार किलो बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी गरेका छन् । उत्पादित आलुमध्ये करिब दुई हजार ८०० किलो शनिबार दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलमा लगेर बिक्री गरेको धर्मराजले जानकारी दिए ।

व्यक्तिगत लगानीमा व्यावसायिक आलुखेती तथा उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लागेका धर्मराजले पाँच राँगा÷भैँसीपालन गरेका छन् । अग्र्यानिक आलु उत्पादन गर्ने अभियानमा लागेका उनले त्यही राँगाभैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलुखेतीमा हाल्दै आएका छन् ।

करिब ३०–४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती सुरु गरेका धर्मराजले गत माघमा ६०० किलो भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर रोपेका थिए । कुनाखर्कमा उत्पादित अग्र्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यावसायिक आलुखेती सुरु गरेको उनले बताए ।

करिब ११ लाख लगानीमा सुरु गरेको आलुखेतीलाई आगामी वर्षदेखि थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताए । “पहिलोपटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु”, उनले भने, “आलुसँगै पशुपालन तथा तरकारीखेती गर्ने योजना छ । यसका लागि थप जनशक्ति खोजी गरिरहेको छु ।”

अग्र्यानिक कृषि उपज उत्पादन अभियानमा लागेका धर्मराजले सुरुमा वडा नं ३ बाम्राङस्थित झिसेपुमा व्यावसायिक रूपमा अग्र्यानिक फलफूल तथा तरकारीखेती गरेका थिए। करिब १५ वर्षदेखि कृषि पेसामा आबद्ध उनले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आएका छन् ।

कृषि पेसालाई आधुनिक तथा यान्त्रीकीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लागेका धर्मराजले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आएका छन् । झिसेपुको फार्म सञ्चालनका लागि उनलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । पछिल्लो समय जिल्लाका अधिकांश किसानले थोरै समयमा नै पर्याप्त आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानीकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट