२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खडेरीले सुक्न थाल्यो बेतना सिमसार, सिमसार सुकेपछि १२ सय बिघा खेतीमा सिँचाइ अभाव

आइतवार , आषाढ २९, २०८२

मोरङ । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ ।

लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन । सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुुने गरेको भए पनि यस वर्ष सिँचाइ हुन नसकेको बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूू बताउछन् । सिमसारको पानी ड्याम गरेर राख्ने हो भने किसानले धान रोप्न नपाउने भएकाले ड्याम खुुला गरेर धान रोप्न पानी लगिएको अध्यक्ष लिम्बू बताउछन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन् । दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन् ।

पोखरीमा रहेको पानीको सतह घटेपछि सोही पोखरीबाट ६ पैनी हुँदै बाह्र सय बिघा बढी खेतीमा गरिएको सिँचाइसमेत नहुँदा धानलगायत बालीनाली सुक्न थालेका छन् । किसानले लगाएको धानलगायत बालीनालीमा पानी नहुँदा बालीनाली सुक्न थालेको बेलबारी–४ का किसान हरिप्रसाद मिश्रले बताए। पोखरीमै रहेका जरुवा पानीका मूल र अन्यत्रबाट बगेर आउने पानीसमेत सुकेका छन् । लामो समयसम्म पानी नपरेपछि पानीको मुहान सुक्न थालेको जानकारहरू बताउछन् ।

पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मूलहरू सुकेका र पोखरीमा पानीको सतह घटेपछि थप चिन्ता थपिएको बेतना सिमासार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईँ बताउछन् । उनले पोखरीमा पानीको सतह घट्दै जानु र माछाहरू मर्न थालेपछि समस्या समाधानका लागि पहल भइरहेको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृतसमेत रहेका सिमसार अध्येता गोविन्दप्रसाद पोखरेलका अनुसार सिमसार क्षेत्रमा पानीको मात्रा सुुक्दै जानुमा अधिक मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथभावी रूपमा पानीको प्रयोग, खेती प्रणालीमा अधिक मात्रामा पानीको प्रयोगजस्ता मानवीय कारणहरू हुनसक्ने बताए ।

मोरङका सबै सिमसारहरूको अध्ययनसमेत गरेका संरक्षण अधिकृत पोखरेलका अनुसार बेतना सिमसार क्षेत्रमा आसपासका जङ्गल तथा ससाना खोल्साबाट आउने पानी भण्डारण गरेर बनाइएको हो । पानीलाई भण्डारण गरेर आसपासका क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको छ । कङ्क्रिटका संरचना निर्माणले पानी अडिन गाह्रो हुने उनले बताए । उनका अनुसार भू तथा जलसतहमा हुने नकरात्मक प्रभावका कारण पनि पानी सुक्नसक्ने हुन्छ ।

यस्तै, पछिल्ला वर्ष वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि पोखरी तथा जलासय क्षेत्रमा पानीको मात्रा कम हुने पोखरेलले बताए । यद्यपि यस विषयमा अनुसन्धान गरिनुपर्ने उनले जोड दिए ।

अनुसन्धानकर्ता पोखरेलले आसपास पानीका मुहानहरू सुक्दा पनि बेतना सिमसारको जलासय क्षेत्रको पानी घट्न सक्ने अर्को कारणका रूपमा लिन सकिने उनले बताए । उनले पारस्थितीकीय प्रणालीहरूको पुनःस्थापना, पानी पुनःभरण, जलासय क्षेत्रको सुधार, पानीको दिगो उपयोगमा जोड दिए समस्या समाधान गर्न सकिने सुझाव दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट