काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
बीमा क्षेत्रमा नीतिगत सुधारसँगै प्रविधियुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लको जोड छ । उनले भने, “अबको बीमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुवैमा सुधार ल्याउँछ ।”
नेपालको बीमा क्षेत्र दिनप्रतिदिन सुदृढ बन्दै गएको र आगामी दिनमा यो क्षेत्रलाइ पूर्ण प्रविधिमैत्री बनाउन सकिए वित्तीय पारदर्शिता समेत कायम गर्न सकिने अध्यक्ष मल्ले बताए ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका मल्लले कम्पनीका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस घोषणा गर्न सकिएको गर्व गर्दै भने, “यो उपलब्धि कम्पनीको सेवा, पारदर्शिता र प्रतिबद्धताको प्रतिफल हो । हामी बीमितहरुप्रति अझ जिम्मेवार हुँदै आगामी दिनमा द्रुत र समयमै दावी भुक्तानी गर्ने कुरामा प्रतिबद्ध छौँ ।”
“बीमा गरौँ ढुक्क बनौँ” भन्ने नारालाई व्यवहारमा उतार्नका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको अध्यक्ष मल्लले बताए । उनले भने, “बीमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने क्षेत्र हो । हामीले जनतालाई यो विश्वास दिलाउनु समेत जरुरी छ ।” अध्यक्ष मल्लले बीमा क्षेत्रलाई मजबुत बनाउन निजी तथा सरकारी क्षेत्र दुई सिक्काका दुई पाटा जस्तै सँगै अघि बढ्नुपर्ने आवश्यकतामा समेत जोड दिए ।
बीमा सेवालाई गाउँ–गाउँ पु-याउने, आम सर्वसाधारणलाई बुझ्ने भाषामा बीमाको महत्व बुझाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
प्रतिक्रिया दिनुहोस