२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खरिदको महिनादिनमै फोर्स गाडीले आजित बनाएपछि व्यवसायी आन्दोलित, साउँ-ब्याजसहित क्षतिपूर्तिको माग

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट खरिद गरिएका 'फोर्स गाडी'ले सामान्य यातायात व्यवसायीलाई घर न घाटको अवस्थामा पुर्याउने गरेको पाइएको छ ।

आज (शुक्रबार) फोर्स गाडी खरिदबाट पीडित बनेका यातायात व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै फोर्स गाडीको वारेन्टी समयभन्दा अगावै इन्जिन सिज हुने र गाडीको पावर क्षमता घट्दै जाने चक्का खुस्किएर दुर्घटना हुने समस्या देखिएको दुखेसो पोखेका छन्। पत्रकार सम्मेलनमा फोर्स गाडी खरिद गरेका व्यवसायीहरुले वारेन्टी दाबी गर्दा समेत वर्षौंसम्म झुलाउने र झुक्याउने कार्य गरेको बताएका छन् ।

दिक्तेल रूपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिब देवान राईले ३ वर्षको वारेन्टी भनेर बिक्री गरिएका फोर्स गाडीमा एक महिनामै इन्जिन सिज हुने समस्या भएको बताए । उनका अनुसार देशभरिका यातायात व्यवसायीहरू संकटमा परेका छन् । गुणस्तरहीन गाडीका कारण व्यवसाय डुबेको भन्दै पीडित महासचिव राईले गाडी फिर्ता गर्दै कम्पनीविरुद्ध क्षतिपूर्ति माग गर्दै आए पनि सुनुवाइ नभएको बताए ।

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्ने ‘फोर्स ट्र्याक्स क्रुजर’लगायतका गाडीमा ठूला प्राविधिक समस्या देखिएको हो ।

मर्सिडिज बेन्ज इन्जिन भनेर बिक्री गरिएको गाडीको इन्जिन एक महिनामै बिग्रनु सामान्य नभएको र गाडी पनि आफ्नो नाममा पास भएर नआउँदै गाडी बिग्रिँदा व्यवसायी समस्यामा परेको हो।

हस्त राई, जीवन मगर, हरिबहादुर राई, टंक राई, अनन्त श्रेष्ठ, जीवा श्रेष्ठ, मकर राई, महेश तामाङ, किशोर राई, बद्री गौतम, दीपक दाहाललगायतका व्यवसायीहरूले फोर्स गाडीकै कारण व्यवसायबाट विस्थापित हुनुपरेको गुनासो गरे ।

पटकपटक टायर फुट्ने, सेन्टर रड छुट्ने, इन्जिन कमजोर हुने, पार्टपुर्जा छिटो बिग्रिने र महँगा हुने समस्या फोर्स गाडीको साझा समस्या हो । प्रालिका अध्यक्ष हरिबहादुर राईको स्वामित्वमा रहेको गाडी सिन्धुलीमा टायर खुस्किएर १३ जना यात्रु घाइते भए । जीवा श्रेष्ठ स्वामित्वको गाडी सुनकोशीमा ठोक्किएको जानकारी दिए ।

महासचिब राई भन्छन्, ‘कम्पनीले ३ वर्षको वा ३ लाख किमी वारेन्टी, मर्सिडिज बेन्ज इन्जिन, मजबुत चेसिस, कच्ची सडकमा उत्कृष्ट प्रदर्शनजस्ता आश्वासन दिएको थियो तर ती सबै झुट साबित भए ।’

कम्पनीका तत्कालीन एमडी राजन लम्साल अब पदमा छैनन् । हालका एमडी ध्रुवबहादुर थापाले भने गुनासोको सुनुवाइ नगरेको राईको भनाइ छ ।

पीडित व्यवसायीहरूले कम्पनीको ग्यारेजमा थन्किएका गाडीहरूको बैंकको सावा, ब्याजसहित पूर्ण क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने, अन्य पीडित व्यवसायीहरूको पहिचान गरी उनीहरूले भोगेको आर्थिक तथा मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति प्रदान माग राखेका छन् ।

गाडीमा देखिएका समस्या सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका गाडीको उचित व्यवस्थापन गर्नुपर्ने पनि उनीहरूको माग छ । आफूहरूको माग सम्बोधन नभएसम्म संघर्ष नरोकिने अध्यक्ष हरिबहादुर राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ