काठमाठौं । काठमाडौँको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा ऐतिहासिक इन्द्रजात्रा पर्वको अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरु पुगेका छन् ।
इन्द्रजात्राका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि बसन्तपुर पुगेका थिए ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । हरेक वर्ष काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन् ।
विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका हुन् । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुगेका थिए ।
त्यस्तै, जात्रा अवलोकन गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिए ।
त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।





प्रतिक्रिया दिनुहोस