सिन्धुली । यहि असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले विपी राजमार्ग ध्वस्त बनाएपछि विपी राजमार्ग सुनसान बनेको छ ।
गत वर्ष असोज १२ गते पनि रोशी खोलाको बाढीले विपी राजमार्गको सिन्धुलीस्थित नेपालथोकदेखि काभ्रेको भकुण्डे खण्डसम्म करिब १२ किलोमिटर सडक बगाएको थियो। त्यसपछि सडक विभागले महिनौंको प्रयास र करोडौं खर्च गरेर अस्थायी सडक निर्माण गरी यातायात पुनः सञ्चालनमा ल्याएको थियो। तर, यस वर्ष असोज १७ र १८ गते परेको लगातार वर्षाले पुनः ठूलो क्षति पुर्याएको हो ।

देशको पूर्वी भेगलाई काठमाडौंसँग जोड्ने यो महत्वपूर्ण राजमार्ग बन्द हुँदा यात्रुहरू निकै समस्यामा परेको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको बोक्सीकुना, चौकिडाँडा लगायतका क्षेत्रमा सडक कटान हुँदा राजमार्ग पूर्ण रूपमा ठप्प भएको हो।
नेपालथोकदेखि बर्खोखोला खण्डसम्म करिब १ किलोमिटर र काभ्रेपट्टि करिब ४ किलोमिटर सडक बगाएको जनाइएको छ।
काठमाडौं–पूर्वी नेपाललाई जोड्ने यस राजमार्गमा दैनिक हजारौं सवारीसाधन सञ्चालन हुने गर्थे । दशैँ–तिहार जस्ता चाडपर्वमा त यसमार्ग प्रयोग गर्ने सवारीको संख्या झन् तेब्बर बढ्ने गर्छ।

यस वर्षको बाढीले भत्काएको सडक पुनः अस्थायी रूपमा सञ्चालनमा ल्याउन करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ।
सडक विभागका अनुसार नेपालथोकदेखि वर्षे खोलासम्म करिब ६ सय मिटर सडक बगाएको छ। अहिले खोला पार गरेर अस्थायी सडक निर्माण कार्य सुरु भइसकेको छ।
विपी राजमार्ग अवरुद्ध भएपछि अहिले सवारीसाधन वैकल्पिक मार्गमार्फत — मदन भण्डारी राजमार्ग हुँदै हेटौंडा, रामेछापको मन्थली र चरिकोट–दोलखा भएर काठमाडौं आवतजावत गर्छन् ।




























प्रतिक्रिया दिनुहोस